घोराहीमा मानबहादुर पुन मगर स्मृति कप फुटसल हुने, विजेतालाई दुई लाख रुपैयाँ पुरस्कार

दाङ, ३ मंसिर । लुम्बिनी प्रदेशकै सबैभन्दा ठुलो पुरस्कार राशी भएको फुटसल प्रतियोगिता घोराहीमा हुने भएको छ । द योङ्ग बाइज क्लब घोराहीको आयोजनामा लुम्बिनी प्रदेशको राजधानी दाङको घोराहीमा सर्वाधिक राशी पुरस्कार भएको ‘मानबहादुर पुन मगर स्मृति कप फुटसल प्रतियोगिता–२०८३’ हुने भएको हो ।

प्रतियोगिता यही मंसिर १८ गतेदेखि घोराही उपमहानगरपालिका–१५ स्थित द ओल्ड हाउसमा सञ्चालन हुने भएको छ । प्रतियोगिताको विजेता टोलीले नगद दुई लाख रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक द योङ्ग बाइज क्लबका अध्यक्ष सन्दिप घर्तीमगरले जानकारी दिएका छन् । अध्यक्ष घर्तीका अनुसार उपविजेता हुने टिमले नगद एक लाख रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ पाउनेछन् । उत्कृष्ट गोलरक्षक, उदीयमान खेलाडी र सर्वाधिक गोलकर्ताले जनही ७ हजार ५ सय रुपैयाँ प्राप्त गर्ने आयोजक द योङ्ग बाइज क्लबले जनाएको छ । प्रतियोगितामा फेयर प्ले टोलीलाई १२ हजार ५ सय रुपैयाँ र प्रथम तथा द्वितीय सेमिफाइनलिस्ट टोलीलाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने भएको छ ।

स्वर्गीय मानबहादुर पुन मगरको योगदानलाई युवा पुस्तामाझ जीवन्त राख्ने उद्देश्यले फुटसल प्रतियोगिता आयोजना गर्न थालिएको क्लबका अध्यक्ष सन्दिप घर्तीमगरले जानकारी दिएका छन । फुटसल खेलको विकाससँगै नयाँ खेलाडीलाई खेल क्षेत्रमा आकषर्ण गर्नका लागि लुम्बिनी प्रदेशमै सर्वाधिक पुरस्कार राशीको फुटसल प्रतियोगिता गर्न थालिएको बताए ।

प्रतियोगितालाई भव्य र व्यवस्थित बनाउन प्रचारप्रसारदेखि ट्रफी, मेडल र प्रमाणपत्र तयार पार्ने काम भइरहेको प्रविन पुन मगरले जानकारी दिएका छन् । आयोजक क्लबले प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीलाई टोली बनाएर सम्पर्क गर्न आग्रह गरेको छ। टोली दर्ताका लागि शुल्क तोकिएको छ । सहभागिताका लागि ९७६२६०९८७३ र ९८२२९८६३५९ मा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।