बसन्त उपाध्याय
नेपाली राजनीति र प्रजातान्त्रिक आन्दोलनको इतिहास अध्ययन गर्दा ‘कोइराला परिवार’ र ‘कोइराला निवास’ केवल एउटा इँटा र सिमेन्टले बनेको घर मात्र होइन, एउटा विचार, निष्ठा र सङ्घर्षको जीवित पर्याय हो। पूर्वको विराटनगरबाट सुरु भएको यो राजनीतिक यात्राले मध्य र पश्चिम नेपालको राजनीतिमा आफ्नो दह्रिलो जग बसालेको ठाउँ हो— नेपालगन्जको कोइराला निवास।

सरकारी जागिरको सिलसिलामा स्व. सुशील कोइरालाका पिता बोधप्रसाद कोइराला बाँके आइपुगेपछि पञ्चायतकालको कठिन परिस्थितिमा नेपालगन्जमा यो परिवारको बसोबास सुरु भयो। सुशील कोइरालाकी आमा कुमुदिनी कोइराला नातामा जननायक बी.पी. कोइरालाकी आमाकी बहिनी (स्यानी आमा) पर्थिन्। मूलतः कृष्णप्रसाद कोइरालाको परिवार विराटनगरलाई केन्द्र बनाएर राजनीतिमा सक्रिय रहे पनि बोधप्रसादको परिवारले पश्चिम नेपालमा प्रजातन्त्रको दियो बालिरह्यो।
निष्ठाको राजनीति र ४६ वर्षपछिको ऐतिहासिक निरन्तरता
वि.सं. २०३६ मा नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेका स्व. सुशील कोइरालाले जीवनको अन्तिम साससम्म निष्ठाको राजनीति गरे। वि.सं. २०६८ असोजमा सम्पन्न १२ औं महाधिवेशनबाट पार्टी सभापति र २०७० मा देशको प्रधानमन्त्री बनेका सुशील कोइरालासँग बी.पी. कोइरालाका आधिकारिक लेख, रचना र सामाग्रीहरू प्रकाशन गर्ने आधिकारिक अधिकार (कपिराइट) समेत थियो। उहाँ कांग्रेसको मुखपत्र ‘तरुण’ पत्रिकाको सम्पादक भएर विचारको राजनीति फैलाउने मुख्य सारथी हुनुहुन्थ्यो।
सुशील कोइराला केन्द्रीय सदस्य बनेको ४६ वर्षपछि, तिनै निष्ठावान् नेताका भतिजा एवं पूर्व जिल्ला सभापति स्व. डा. अरुण कोइराला र किरण कोइरालाका छोरा सुधान्सु कोइराला कांग्रेसको भर्खरै सम्पन्न महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
नेपालगन्जमा जिल्ला सचिवको भूमिकामा रहेर पार्टी सङ्गठनमा अहोरात्र खटेका सुधान्सुको यो जित सामान्य राजनीतिक सफलता मात्र होइन; यो त कोइराला परिवारको निष्ठा र पश्चिम नेपालको राजनीतिक धरातलले पाएको उच्च सम्मान हो।
भौतिक ईंट-ढुङ्गा मात्र होइन, विचार र विरासतको केन्द्र
यसपटकको महाधिवेशनमा पूर्वका कोइराला परिवारका स्थापित र परिचित अनुहारहरू प्रतिस्पर्धामा नरहँदा, पश्चिम नेपालगन्जको कोइराला निवासका युवा नेता सुधान्सु कोइरालाले केन्द्रीय समितिमा आफूलाई उभ्याए। यसले समग्र कांग्रेस वृत्तमा एउटा बलियो राजनीतिक र भावनात्मक सन्देश प्रवाह गरेको छ।
स्व. सुशील कोइरालासँग नजिक रहेर काम गर्नुभएका नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलका शब्दमा:”अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको कांग्रेसभित्र कोइराला परिवारको युवा पुस्ताको उपस्थितिले बदलिंदो परिवेशमा पनि कोइरालाहरूको भूमिका आवश्यक छ है भन्ने सन्देश दिएको छ। यो केवल कोइराला विरासतको निरन्तरता मात्र होइन, युवा पुस्तामा पनि कोइराला परिवारको वैचारिक आवश्यकता र सम्भावना उत्तिकै छ भन्ने गहकिलो तथ्यको प्रमाण हो।”
निष्कर्ष : नयाँ आशाको केन्द्र नेपालगन्ज
आमा किरण कोइराला र बुबा स्व. डा. अरुण कोइराला दुवैले बाँके जिल्ला सभापतिको रूपमा नेतृत्व सम्हालिसकेको पृष्ठभूमिमा हुर्किएका सुधान्सुको केन्द्रीय राजनीतिमा प्रवेशले नेपालगन्जको कोइराला निवासलाई पुनर्जाग्रित बनाएको छ।
पूर्वको मोरङ र पश्चिमको बाँके—यी दुई भूगोल कांग्रेसको इतिहासमा कोइराला विरासतका दुई बलिया स्तम्भ हुन्। बी.पी.का आधिकारिक पाण्डुलिपि र विचारको कपिराइट बोकेको नेपालगन्जको कोइराला निवास, सुधान्सुको केन्द्रीय नेतृत्वमा पहुँचसँगै अब भौतिक संरचनामा मात्र सीमित रहेन। यो निवास पुनः एकपटक विचार, निष्ठा, युवा ऊर्जा र नेपाली कांग्रेसको भावी राजनीतिक दिशा तय गर्ने एउटा जीवन्त वैचारिक केन्द्रका रूपमा स्थापित भएको छ।