कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्छ : सहमहामन्त्री चौधरी

गोरक्ष समाचारदाता
दाङ, १ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री योगेन्द्र चौधरीले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनु पर्ने बताएका छन् । नेपाली कांग्रेस दाङले आइतवार घोराहीमा आयोजना गरेको वर्तमान राजनीतिक विषयक छलफल, भेटघाट तथा धन्यवाद कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री चौधरीले पार्टीभित्र देखिएका असमझदारी र मतभेदलाई संवाद र सहमतिमार्फत् समाधान गरेर संगठन बलियो बनाउनु पर्नेमा जोड दिएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथिका रूपमा बोल्दै सहमहामन्त्री चौधरीले पार्टीको विधान अनुसार भएका गतिविधि र महाधिवेशनको प्रक्रिया सबैले स्वीकार गर्नु पर्ने बताए । व्यक्तिगत स्वार्थ र पदका लागि पार्टीलाई कमजोर बनाउने गतिविधि गर्न नहुने उनको भनाइ थियो । पार्टीका बाँकी संरचनामा समेत अधिकतम सहमतिको वातावरण बनाउन आफूहरूले हरसम्भव प्रयास गरिरहेको भन्दै उनले त्यसमा नेतृत्व तहका सबै नेता र कार्यकर्ताको भूमिका महत्वपूर्ण हुने बताए । ‘हामी कोसँग लड्दै छौँ भन्ने कुरा बुझ्न आवश्यक छ । संविधान, लोकतन्त्र र समावेशिताको रक्षाका लागि कांग्रेस एक ठाउँमा उभिनुपर्छ’, उनले भने, ‘हामी एकताबद्ध नभएसम्म कांग्रेसलाई प्रमुख राजनीतिक शक्तिका रूपमा निर्माण गर्न सक्दैनौँ ।’

सहमहामन्त्री चौधरीले विगत ३५ वर्षमा कांग्रेसले मुलुकको विकास र परिवर्तनमा महत्वपूर्ण योगदान गरेको दाबी गरे । विद्युत् उत्पादन, सडक पूर्वाधार, बैंक तथा वित्तीय संस्थाको विस्तार, स्वास्थ्य, शिक्षा, नागरिकको औसत आयु र मातृ तथा बाल मृत्युदरमा भएको सुधारलाई उनले उदाहरणका रूपमा प्रस्तुत गरेका थिए । तर भौतिक विकासले मात्र नागरिकलाई सन्तुष्ट बनाउन नसक्ने उनको भनाइ थियो । सुशासन, रोजगारी सिर्जना र जीवनस्तर सुधारमा कांग्रेसले थप काम गर्नु पर्ने भन्दै उनले भने, ‘हामी कहाँ चुक्यौँ भन्ने कुरा पनि आत्मसमीक्षा गर्नुपर्छ । सडक, बिजुली र स्वास्थ्य सुविधा विस्तार भए पनि नागरिकलाई स्वदेशमै अवसर र सुशासनमा चुकेका छौँ ।’

नयाँ पुस्ताको भावना र अपेक्षा बुझेर पार्टी रूपान्तरण गर्नु पर्ने आवश्यकता औँल्याउँदै उनले पुरानो इतिहास र योगदानको चर्चा गरेर मात्र अब नागरिकको विश्वास जित्न नसकिने बताए । युवालाई पार्टीको वर्तमान सहयात्रीका रूपमा अघि बढाउनु पर्ने उनको सुझाव थियो । वर्तमान सरकारका कामकारबाहीप्रति प्रश्न उठाउँदै चौधरीले सरकारले संविधान र कानुनको परिधिभित्र रहेर शासन सञ्चालन गर्नुपर्ने बताए । विधिको शासन, प्रेस स्वतन्त्रता र नागरिक अधिकारको सम्मान हुनु पर्ने उनको भनाइ थियो । सरकारका निर्णय र गतिविधिबारे संसद्मा छलफल हुनु पर्ने भन्दै संसद्लाई छल्दै शासन चलाउने प्रवृत्ति लोकतान्त्रिक मूल्य र मान्यता अनुकूल नहुने उनले धारणा राखेका थिए ।

सरकारका राम्रा कामलाई प्रतिपक्षले सहयोग गर्ने तर संविधान, कानुन र नागरिकको हितविपरीतका काममा खबरदारी गर्ने बताएका थिए । भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष छानबिन गरी दोषी ठहरिएकालाई कानुनअनुसार कारबाही गर्नु पर्ने माग पनि उनले गरे । भदौ २३ गते बालबालिकामाथि भएको गोली प्रहार र २४ गतेका हिंसात्मक घटनाको सत्यतथ्य सार्वजनिक हुनु पर्ने उनको भनाइ थियो । नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगीको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय सदस्य अनिता देवकोटाले वर्तमान सरकारले विभिन्न आक्षेप लगाएर कांग्रेसलाई कमजोर बनाउन खोजेको आरोप लगाइन् । कांग्रेस यसबाट सचेत भएर लाग्नुपर्ने उनको भनाइ थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रचण्डविक्रम न्यौपानेले सरकारले संविधानभन्दा माथि रहेर चल्न खोजेको आरोप लगाउँदै त्यो कांग्रेसले सहने कुरा नभएको बताए । कांग्रेसमाथि औँला उठाउने शक्ति विगतदेखि नै पराजित हुँदै आएको भन्दै उनले सरकारलाई पनि सचेत गराएका थिए । नेपाली कांग्रेसका अर्का केन्द्रीय सदस्य कमलकिशोर घिमिरेले सञ्चार क्षेत्रलाई त्रसित बनाएर राज्यसत्ता हाबी हुन खोजेको भन्दै लोकतन्त्रका लागि यो सह्य नहुने चेतावनी दिए ।

कार्यक्रममा नेपाली कांग्रेसका लुम्बिनी प्रदेशका सहमहामन्त्री खगराज पाण्डेय, महासमिति सदस्य सुरेश हमाल, महाधिवेशन प्रतिनिधि भीमप्रकाश खड्का, जगत खड्का, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य तथा महाधिवेशन प्रतिनिधि जानका केसी, महाधिवेशन प्रतिनिधि बिमला योगी, सूष्मा गिरी, क्षेत्र नं. १ का सभापति दिनेश गिरी तथा क्षेत्र नं. ३ का सभापति खिमबहादुर वली, दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीलगायतका नेताले सम्बोधन गर्दै कांग्रेसलाई एकजुट बनाउँदै अघि बढ्नु पर्ने बताएका थिए । नेपाली कांग्रेस दाङका उपसभापति गिरिराज सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव अर्जुन योगीले गरेका थिए ।