दाङ, २९ कात्तिक । घोराही उपमहानगरपालिका–१० लमडरुवास्थित श्री जनजागृति माध्यमिक विद्यालयमा महायज्ञ सञ्चालन हुने भएको छ ।विद्यालय व्यवस्थापन समितिको कात्तिक २९ गते आइतबार बसेको बैठकले विद्यालयको भौतिक पूर्वाधार विकासलगायतका लागि मंसिर ५ गतेदेखि १२ गतेसम्म ‘श्रीमद् भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञ–२०८३ सञ्चालन गर्ने निर्णय गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण विष्टको अध्यक्षतामा बसेको बैठकले महायज्ञ सञ्चालनका लागि तयारीलाई अघि बढाउन विभिन्न समितिहरु समेत गठन गरेको छ । विद्यालयका निवर्तमान अध्यक्ष बलबहादुर पुनको संयोजकत्वमा १२ सदस्यीय मूल आयोजक समिति बनेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण विष्टको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति, विद्यालयका शिक्षक शरद विष्टको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति, दिपेन्द्र वलीले संयोजकत्वमा प्रचारप्रसार उपसमिति, सिमरन पुन संयोजकत्वमा स्वागत सत्कार उपसमिति र विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष एवं सल्लाहकार मोतिराम विष्टको संयोजकत्वमा चन्दादाता पहिचान उपसमिति गठन गरिएको छ ।
श्रीमद् भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञको कथा बाचकमा पण्डित कोमल उपाध्याय रहेका छन् । वि.सं. २०४५ मा स्थापना भएको विद्यालयमा नेपाली र अंग्रेजी माध्यमबाट कक्षा १ देखि १२ सम्म पढाइ हुने गरेको छ । विद्यालयको आर्थिक अवस्था कमजोर भएकाले पूर्वाधार विकासलगायतका काम गर्ने उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको विद्यालयले जनाएको छ ।