घोराही, दाङ । हिन्दु धर्मावलम्बीका लागि महत्त्वपूर्ण तीर्थस्थल मानिने मुक्तिनाथ धाम मन्दिरको दर्शन गर्न चाहने तथा त्यहाँ पुग्न नसक्नेहरूलाई लक्षित गरेर सो मन्दिरले थालनी गरेको रथयात्रा आइतबार दाङ आइपुगेको छ । कात्तिक ७ गते मुक्तिनाथबाट हिँडेको सो रथयात्रा देशका विभिन्न भाग हुँदै आइतबार दाङ आइपुगेको हो ।
घोराही–१८, दाङस्थित अम्बिकेश्वरी मन्दिरमा पुर्याइएको सो रथलाई मन्दिर परिसरभित्र केही बेर राखेर पूजाआजाको अवसर उपलब्ध गराइएको थियो ।
अम्बिकेश्वरी मन्दिर नजिकको महदेवा गाउँका सबै घरहरूको अगाडि कलश राखेर रथको स्वागत गरिएको थियो । अम्बिकेश्वरी मन्दिरपछि सो रथ दाङको अर्को धार्मिक स्थलका रूपमा रहेको पाण्डवेश्वर महादेवको मन्दिर धारापानीमा पुर्याइएको थियो ।
आइतबार बिहान सो रथलाई तुलसीपुरमा दर्शनका लागि केही बेर राखिएको थियो । रथयात्रालाई भोलि त्रिवेणीस्थित गजेन्द्रमोक्ष धाममा पुर्याइने जानकारी अम्बिकेश्वरी मन्दिर संरक्षण तथा प्रवर्द्धन समितिका सहसचिव प्रदीप बेलबासेले दिए ।
गजेन्द्रमोक्ष धाममा एक महिनासम्म भगवान् नारायणलाई राखेर महायज्ञ सञ्चालन गरिने छ । जाडो याममा भगवान् नारायणलाई चिसोबाट जोगाउन भन्दै नवलपरासीको त्रिवेणीस्थित गजेन्द्रमोक्ष धाममा ल्याउने चलन रहेको समेत बताइएको छ ।