दाङ, २० कात्तिक । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति राजु खनालले पार्टीको १५ औं महाधिवेशनअन्तर्गत प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।
नेपाली कांग्रेस क्षेत्र नं. ३ दाङले शुक्रवार तुलसीपुरमा आयोजना गरेको भेटघाट कार्यक्रममा खनालले प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् । प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री समेत रहेका खनालले उम्मेदवारी घोषणासँगै नेता तथा कार्यकर्तासँग भेटघाट र छलफलमा हिडेको बताएका छन् ।
वर्तमान समयमा सबैसँग समन्वय र सहकार्य गरेर पार्टीलाई अघि बढाउन सक्ने नेतृत्व आफू भएको दाबी गर्दै सहयोगका लागि सवैसँग आग्रह गरेका हुन । नेपाल विद्यार्थी संघको राजनीतिबाट कांग्रेसमा होमिएका खनाल नेपाल विद्यार्थी संघको दुई कार्यकाल जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य रहेर काम गरेका थिए ।
त्यसैगरी संविधानसभा सदस्य, प्रदेशसभा सदस्य र प्रदेश मन्त्री हुँदै हाल प्रदेश उपसभापतिको जिम्मेवारीमा रहेका छन् ।