दाङ, ८ जेठ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले ओपिडी तथा अन्य सेवा सञ्चालन गरेको छ । प्रतिष्ठानले कोरोना संक्रमितको मात्रै उपचार गर्ने निर्णय गरेर ओपिडीलगायतका सबै सेवा बन्द गरेको थियो । तर बुधवार प्रतिष्ठानको त्यो निर्णय अपरिपक्व भएको भन्दै नागरिकस्तरबाटै व्यापक विरोध भएको थियो । चौतर्फी विरोधपछि दबावमा परेको प्रतिष्ठानले बुधवार नै विज्ञप्ति निकालेर ओपिडी तथा अन्य सेवा दिने जनाएको थियो ।
यो निर्णयसँगै बिहीवार ओपिडी र इर्मेजन्सीमा गरेर झण्डै १ सय २० जनाले उपचार सेवा लिएको प्रतिष्ठानले जनाएको छ । ‘ओपिडी र इमर्जेन्सी गरेर १ सय २० जनाले सेवा लिएका छन्’, प्रतिष्ठान श्रोतले भन्यो– ‘ढिलो गरेर खोल्ने निर्णय भएको कारण सेवा लिनेको चाप कम भएको हो ।’ ‘प्रतिष्ठानले सेवा सञ्चालन स्थगित गर्दा दैनिकरुपमा नै ठूलो समूहलाई अप्ठ्यारो पर्छ भन्ने यो तथ्यांकले देखाएको छ’, दाङ उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसालले भने– ‘त्यही भएर हामीले सेवा सुचारु गर्न प्रतिष्ठानलाई आग्रह गरेका हौं ।’
अस्पताल प्रशासनका अनुसार ओपिडी र अन्य सेवा लिनेको संख्या योभन्दा धेरै नै हुने गरेको छ । प्रतिष्ठानले कोरोनाको उपचारमात्र गर्ने भनेर अन्य बिरामीलाई राप्ती प्रादेशिक अस्पताल जान सुझाव दिएको थियो । बुधवार दिनभर सेवा रोकेको प्रष्तिठानबाट प्रादेशिक अस्पतालमा कुनै पनि बिरामी भने पुगेनन् । ‘बुधवार कुनै पनि बिरामी प्रतिष्ठानबाट यहाँ आएका छैनन्’, प्रादेशिक अस्पतालका सूचना अधिकारी डिल्लीबहादुर केसीले भने । प्रतिष्ठानलाई सेवा नरोक्न घोराही उपमहागरपालिका वडा नं. १५, नागरिक समाज दाङ, दाङ उद्योग वाणिज्य संघलगायतले औपचारिकरुपमा सुझाव दिएका थिए । स्वास्थ्य मन्त्रालयले १ सय जना कोरोना संक्रमितको उपचार गर्ने तयारी गर्न निर्देशन दिएको भन्दै मंगलबार प्रतिष्ठानले ओपिडीलगायतका स्वास्थ्य सेवा बन्द गरिएको सूचना जारी गरेको थियो ।