घोराहीमा हाप्किडो खेलाडी बस्नेतलाई सम्मान

दाङ, ११ कात्तिक । घोराही उपमहानगरपालिका नगर खेलकुद विकास समितिले हाप्किडोको अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडी बन्दना बस्नेतलाई सम्मान गरेको छ ।

अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा देशको प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रदर्शन गरेर नेपालको नाम उँचो बनाएको भन्दै घोराही उपमहानगरपालिका–४ बसन्तापुर निवासी खेलाडी बस्नेतलाई सम्मान गरेको हो । बस्नेतले सेप्टेम्बर २२ देखि २४ गतेसम्म किर्गिस्तानको इस्सिक–कुल क्षेत्रमा भएको ओपन वर्ल्ड हाप्किडो च्याम्पियनसिप–२०२६ मा १८ वर्षमाथिको ५३ केजी तौल समूहमा नेपालको तर्फबाट सहभागी भई रजत पदक जितेकी थिइन् ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक बिजेता खेलाडी बस्नेतलाई घोराही नगर खेलकुद विकास समितिका नगर संयोजक नरेन्द्र पुनले बुधवार सम्मानपत्र प्रदान गरेका हुन । सम्मनित खेलाडी बस्नेतले नगर खेलकुद समितिको सम्मानले आफुलाई हौसल्ला प्रदान गरेको भन्दै आगामी दिनमा थप मेहनत र लगनशिताका स्वर्ण पदक जित्ने गरि तयारीमा लाग्ने बताएकी छिन् ।