विश्व दृष्टि दिवस
खेमराज रिजाल
तुलसीपुर, २३ असोज । संयुक्त राष्ट्रसंघबाट अनुमोदिन विश्व दृष्टि दिवस मनाउने क्रममा बिहिबार तुलसीपुरको रक्षाचौरस्थित आँखा अस्पतालमा विश्व दृष्टि दिवस मनाइएको छ । खास गरी आँखा स्वास्थ्यसम्बन्धी जनचेतना सञ्चारमाध्यमबाट आमनागरिक माझ पु¥याउने उद्देश्यले विश्व दृष्टि दिवस मनाइएको हो ।
‘लभ योर आइज, सेभ योर साइट’ भन्ने मूल नाराका साथ विश्व दृष्टि दिवस मनाइरहँदा सहभागी सञ्चारकर्मीले नेपालको संविधान २०७२ ले आधारभूत स्वास्थ्यलाई मौलिक हकका रूपमा स्थापित गरे पनि आँखा स्वास्थ्यलाई व्यवहारमा रोग नै स्वीकार गर्न नसकेको अनुभूति भएको अभिव्यक्ति दिए । नेपाल नेत्रज्योति संघ दाङका सभापति तथा राप्ती आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागी सञ्चारकर्मीले आँखाका बिरामीलाई सरकारले बिरामीका रूपमा समेत स्वीकार नगरेको धारणा व्यक्त गरे ।
आँखा रोग प्राणघातक रोग होइन, यद्यपि दृष्टिविनाको जीवन कल्पनासमेत गर्न नसकिने अवस्थामा सरकारले भने आँखा स्वास्थ्यका विषयमा राष्ट्रिय बहस चलाउन नचाहेको सञ्चारकर्मीको अभिव्यक्ति थियो । ‘मुलुकका तीनै तहका सरकारले अन्य रोगका विषयमा राष्ट्रिय बहस चलाउँछन्, नीति बनाउँछन् तर आँखा स्वास्थ्यका सन्दर्भमा तीनै तहका सरकारको अर्थपूर्ण बहस र समीक्षासमेत हुन सकेको छैन’, दृष्टि दिवसका अवसरमा आयोजित कार्यक्रममा पत्रकार तथा अधिकारकर्मी सुशील बस्नेतले भने । ज्योतिविनाको जीवन अकल्पनीय हुने उनको भनाइ थियो । कार्यक्रममा पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले आँखा स्वास्थ्यको अधिकांश अभिभारा गैरसरकारी संस्थाहरूले खेपिरहेको उल्लेख गर्दै यसलाई दिगोपन दिन सरकारले आँखा स्वास्थ्यमा अपनत्व लिनु पर्ने सुझाव दिए ।
एनएबिपीको सहयोगमा रक्षाचौरमा आयोजित विश्व दृष्टि दिवसका विशिष्ट अतिथि तथा नेपाल आँखा अस्पतालका प्रमुख कार्यकारी निर्देशक धर्मराज गोसाईले आँखा स्वास्थ्यका विषयमा सरकारी तहमा प्राथमिकता नदेखिएको बताए । ‘सरकारी संयन्त्रमा आँखा स्वास्थ्यका विषयमा गम्भीर बहस नै हुँदैन, अहिलेसम्म नेपालमा आँखा स्वास्थ्य सेवाको अधिकांश अभिभारा गैरसरकारी संस्थाहरूले थेग्न सकेका छन्’, विशिष्ट अतिथि गोसाईले भने । उनले नेपाल नेत्रज्योति संघले आँखा स्वास्थ्य सेवामा खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै अब यो सेवालाई सरकारले स्वामित्व लिनुको विकल्प नरहेको अभिव्यक्ति दिए । ‘कुनै पनि बेला दातृ निकायले हात झिके भने आँखा उपचार सेवामा सङ्कट आउन सक्दछ, यसमा सरकारको तत्काल ध्यानाकर्षण हुन आवश्यक छ’, प्रमुख कार्यकारी दिर्नेशक गोसाईले भने । राज्यले अझैसम्म आँखा स्वास्थ्यलाई कस्मेटिक्सका रूपमा हेरेको जस्तो आमनागरिकलाई अनुभूति हुन थालेको बताए ।
नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज राप्ती आँखा अस्पताल, छन्द कालेबाबु नारायणी आँखा अस्पताल, लमही आँखा अस्पताललगायत राप्ती र कर्णालीका विभिन्न जिल्लामा नेपाल नेत्रज्योति संघ दाङले आँखा उपचार केन्द्रहरूसमेत सञ्चालनमा ल्याएको छ । पछिल्लो सर्भे अनुसार ४१ प्रतिशत आँखाका बिरामीले आफ्नो समस्याको बेवास्ता गरिरहेका छन् । करिब ३६ प्रतिशत आँखाका बिरामीले आर्थिक अभावका कारण आँखा रोगको उपचार गरिरहेका छैनन् भने २० प्रतिशत नागरिकलाई आँखा स्वास्थ्य उपचारको पहुँच नै स्थापित हुन सकेको छैन ।
कार्यक्रमका प्रमुख अतिथि गिरीले आँखा स्वास्थ्य सेवालाई व्यवहारमै मौलिक हकका रूपमा कार्यान्वयन गर्न सरकारलाई दबाब दिन सञ्चारकर्मीलाई आग्रह गरे । ‘सरकारले आँखा उपचार सेवामा लगानी बढाउनुको अब विकल्प छैन, ज्योतिविनाका जीवन असम्भव जस्तै हुन्छ’, प्रमुख अतिथि गिरीले भने । नेपाल नेत्रज्योति संघले जसोतसो अहिलेसम्म दातृ निकायहरूको सहयोगमा यहाँसम्मको सेवा प्रदान गरिरहेको उल्लेख गर्दै दाताले हात झिकेको अवस्थामा कसरी आमनागरिकलाई सहज आँखा उपचार सेवा दिने भन्ने विषयमा सरकारको ध्यान केन्द्रित हुन आवश्यक रहेको उनले बताए ।
नेत्र रोग विशेषज्ञ डा रञ्जित साहको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अस्पतालका आउटरिच कोअर्डिनेटर शालिकराम गौतमले लुम्बिनी प्रदेशसँगै दाङ जिल्लाका १०वटै पालिकाका एक सय वटै वडामा रहेका नागरिकको सर्भे गरी अन्धोपनाको तथ्याङ्कसमेत प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेको तथ्याङ्कमा मुलुकका सात वटा प्रदेशमा सबैभन्दा बढी अन्धोपना लुम्बिनी प्रदेशमा रहेको उल्लेख गरे । खास गरी बाँके र बर्दियामा यो समस्या बढी भएकाले समग्र लुम्बिनी प्रदेशले यो भार व्यहोर्नु परेको उनले प्रस्तुतीकरण गरे । उनले प्रस्तुत गरेको तथ्याङ्कमा लुम्बिनी प्रदेशमा अझै पनि एक दशमलव ७५ प्रतिशतमा अन्धोपनको समस्या देखिएको छ । अन्धोपनाको प्रमुख कारण नै मोतियाविन्दु रहेको उनले स्पष्ट पारे ।
राप्ती आँखा अस्पताल प्रशासनिक संयोजक ध्रुव गौतमको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार नारायणी रजौरे, पत्रकार अमर क्षितिज भण्डारी, पत्रकार जेएन सागर, ओपेन्द्र बस्नेत, दीपक बोहोरालगायतले आँखा स्वास्थ्यमा राप्ती आँखा अस्पतालले खेलेको भूमिकाको प्रशंसा गर्दै आवश्यकता अनुसार अत्याधुनिक उपकरण र थप विशेषज्ञ चिकित्सकीय सेवा प्रवाहमा सुझाव दिएका थिए । कार्यक्रमको सहजीकरण अस्पतालका सूचना अधिकृत बालाराम खड्काले गरेका थिए । अस्पताललाई एनएआइबिपी नर्वेले स्थापनाकालदेखि नै अर्थपूर्ण रूपमा आर्थिक सहयोग गर्दै आएको छ । केही भौतिक संरचना निर्माणमा बाहेक संघ, प्रदेश र स्थानीय सरकारको नियमित अनुदान आँखा अस्पतालमा हुन सकेको छैन ।