दाङ,८ बैशाख । गुल्मीका ४१ वर्षीय कोरोना संक्रमितको रुपन्देहीस्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको छ। उनको मृत्युँगै नेपालमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या तीन पुगेको छ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण पुष्टि गरेका गुल्मी मदाने गाउँपालिका(६ का ती पुरुषको उपचारकै क्रममा बिहीबार बिहान ७ बजेर १० मिनेट जाँदा मृत्यु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर प्रसाद चौधरीले जानकारी दिएका छन । ‘आज बिहान ७ बजेर १० मिनेटमा उनको मृत्यु भएको हो, शव व्यवस्थापनका लागि तयारी चलिरहेको छ’– डा चौधरीले भने ।
बिहीबार विहान मृत्युवरण गरेका संक्रमित जेठ १ गते क्रिमसन अस्पतालमा भर्ना भएका थिए। सुरूमा आईसीयूमा उपचाररत उनलाई कोरोना पुष्टि भएपछि अस्पतालकै भेन्टिलेटरमा राखिएको थियो। क्रिमसन अस्पतालमा भर्ना हुनुभन्दा एकहप्ता पहिल्यैदेखि उनमा ज्वरो देखिएको चिकित्सकहरुले बताएका छन्। ज्वरो आएपछि गाउँकै पुर्कोट दहस्थित मदाने पोलिक्लिनिकमा जाँच गराएका उनी त्यहाँ सञ्चो नभएपछि मोटरसाइकल चलाएरै अर्घाखाँचीको सन्धिखर्कस्थित छायाँ पोलिक्लिनिकमा पुगेका थिए।
त्यहाँ स्वास्थ्यमा जटिलता देखिएपछि उनलाई मणिग्रामको क्रिमसन अस्पताल रिफर गरिएको थियो। बिहीबार अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको स्वास्थ्य महाशाखा प्रमुख चौधरीले पुष्टी गरेका हुन्। यसअघि कोरोना भाइरसका कारण सिन्धुपाल्चोकको बाह्रबिसेकी सुत्केरी र बाँके नरैनापुरका क्वारेन्टाइनमा बसेका पुरुषको पनि कोरोनाकै कारण मृत्यु भएको थियो।