कांग्रेस महाधिवेशन यात्रा यस्तो हुन्छ

खेमराज रिजाल

घोराही, ५ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पहिलो आधार वडा अधिवेशन करिब करिब ९० प्रतिशत सम्पन्न भएको छ । केही वडामा निर्वाचन प्रक्रियासँगै केही वडामा सहमतिको प्रयास जारी छ । यो महाधिवेशन एउटा कांग्रेसको चासो मात्र नभएर लोकतान्त्रिक अभ्यासका विषयमा अन्य पार्टीका धेरैले चासो राखिरहेका हुन्छन् । कसरी हुन्छ कांग्रेसको महाधिवेशन यात्रा ? यो विषयमा गोरक्ष दैनिकले कांग्रेसको विधि, विधान र प्रक्रियाका विषयमा सुझाउने जमर्को गरेको छ ।

महाधिवेशन यात्राको पहिलो स्टप हो, वडा । वडा समिति कसरी चयन हुन्छ र कति जनाको सहभागितामा कसरी हुन्छ भन्ने जानकारी दिन चाहेका छौँ । वडा समितिमा जम्मा पाँच जना पदाधिकारी हुन्छन् । एक जना सभापति एक महिलासहित दुई जना उपसभापति, एक जना सचिव, एक जना सहसचिव । कोषाध्यक्ष भने सभापतिको प्रस्तावमा चयन हुन्छन् । त्यसपछि समितिमा सात जना सदस्य हुन्छन् । यी सदस्यमा महिला दलित, युवा, खुल्ला र मनोनित प्रतिनिधित्वको व्यवस्था गरिएको हुन्छ तर यो यात्रा यति सानो टोलीमै सकिँदैन ।

वडाबाट कांग्रेस महाधिवेशन अर्को महत्वपूर्ण चरणतर्फ जान्छ । त्यो हो, क्षेत्रीय प्रतिनिधिको चयन । अब यस यात्रामा यात्रुहरू थपिँदै जान्छन् । यहाँ क्षेत्रीय प्रतिनिधिको सङ्ख्या वडामा रहेका क्रियाशील सदस्यहरूको सङ्ख्याको अनुसार हुन्छ । यदि क्रियाशील सदस्य सङ्ख्या एक सय ५० छ भने २३ जना क्षेत्रीय प्रतिनिधि चयन हुन्छन् । यसैगरी क्रियाशील सदस्य सङ्ख्या तीन सय छ भने ३२ जना, क्रियाशील सदस्य सङ्ख्या चार सय ५० छ भने ४१ जना, क्रियाशील सदस्य सङ्ख्या छ सय ५० छ भने ५० जना, क्रियाशील सदस्य सङ्ख्या सात सय ५० छ भने ५९ जना क्षेत्रीय प्रतिनिधि चयन हुने व्यवस्था छ । क्रियाशील सदस्यको सङ्ख्या बढ्दै गए क्षेत्रीय प्रतिनिधिको सङ्ख्या पनि बढ्दै जान्छ । यी प्रतिनिधिहरूमा महिला, दलित, युवा, खुल्ला पेसागत तथा विषयगत विज्ञ, अपाङ्गता भएका व्यक्ति, श्रमिक, शहीद परिवार तथा द्वन्द्व प्रभावित लोकतन्त्रका लागि योगदान दिएका व्यक्तिलगायत विभिन्न व्यक्ति, समूहको प्रतिनिधित्वको व्यवस्था गरिएको छ । यो यात्राको सुरुमै देखिन्छ, यो सङ्ख्या बढाउने यात्रा होइन, सबैको प्रतिनिधित्व गराउने यात्रा हो ।

यो यात्रा गाउँपालिकाबाट मात्र हुँदैन । कतिपय गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाबाट पनि हुन्छ । त्यहाँ पनि वडा समिति हुन्छ । ती सबै पालिकामा फेरि पाँच जना पदाधिकारी तर सदस्य सङ्ख्या भने फरक हुन्छ । नगरपालिकाको वडामा आठ जना सदस्य, उपमहानगरपालिको वडामा १० जना सदस्य र महानगरपालिकाको वडामा ११ जना सदस्य रहने व्यवस्था छ । यात्रा फरक भए पनि संरचना क्रमशः माथि बढ्दै जान्छ । अब वडा पार गरेर कांग्रेसको महाधिवेशन पालिकातर्फ । गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका सबैमा कार्यसमितिको आफ्नै तालिका हुन्छ । यसमा पनि पदाधिकारीको सङ्ख्या पाँच जना नै हुन्छ भने सदस्य पालिकाले पठाउने सदस्यका आधारमा हुन्छ ।

अब यात्रा अझै माथि जान्छ, प्रदेश सभा निर्वाचन क्षेत्र । अब प्रदेश सभा निर्वाचन क्षेत्रीय समितिमा । यहाँ पनि पाँच जना पदाधिकारी हुन्छन् । एक सभापति, एक उपसभापति, एक सचिव, दुई सहसचिव जसमा एक महिला । त्यसपछि हुन्छन्, १४ जना सदस्य । यी १४ जना सदस्यको छनोट प्रक्रियामा दुई महिला, एक दलित, एक युवा, तीन खुल्ला, छ समानुपातिक र एक मनोनित गरी जम्मा १४ सदस्य रहन्छन् । अबको यात्रामा वडाबाट बाहिर निस्केर एउटा ठुलो प्रदेश सभाको प्रतिनिधित्व गर्ने ठाउँतर्फ आइपुगेको छ, महाधिवेशन प्रक्रिया । अर्को ठुलो स्टप प्रतिनिधि सभा निर्वाचन क्षेत्र हो । विशेष गरी एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा प्रतिनिधि सभा क्षेत्रीय समिति गठन हुन्छ । यसको संरचनामा एक सभापति, दुई उपसभापति, एक सचिव, दुई सहसचिव जसमा एक महिला । जहाँ जम्मा १८ जना सदस्य हुन्छन् । ती मध्ये छ जना प्रदेश सभा प्रत्येक निर्वाचन क्षेत्रबाट तीन जना प्रतिनिधि आउने व्यवस्था छ ।

अब महाधिवेशनको यात्रा अर्को खुड्किलोमा जान्छ, जिल्ला कार्यसमिति । जिल्ला कार्यसमितिमा एक सभापति, दुई उपसभापति, दुई सहसचिव जसमा एक महिला । कोषाध्यक्ष जिल्ला सभापतिको प्रस्तावमा चयन हुन्छ । सबै क्षेत्रीय प्रतिनिधिले जिल्ला सभापति चुन्ने हक रहन्छ । नगरसमिति र सम्बन्धित क्षेत्रको महाधिवेशन प्रतिनिधिहरू पनि यिनै क्षेत्रीय प्रतिनिधिबाट चुनिन्छन् । जिल्ला कार्यसमितिमा समावेशी प्रतिनिधित्वको व्यवस्था गरिएको छ । अब हामी जिल्लाबाट अझै माथि जान्छौँ, प्रदेश समिति । प्रदेश समितिमा जम्मा आठ जना पदाधिकारी हुन्छन् । एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, तीन सहमहामन्त्री जसमा एक महिला । कोषाध्यक्ष प्रदेश सभापतिको प्रस्तावमा चयन हुन्छ । अब हाम्रो यात्रा प्रदेशसम्म आइपुगेको छ तर अन्तिम गन्तव्य अझै बाँकी छ ।

महाधिवेशन यात्राको सबैभन्दा महत्वपुर्ण चरणमध्ये एक महाधिवेशन प्रतिनिधि हो । नेपालमा एक सय ५६ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र छन् । यी निर्वाचन क्षेत्रबाट महाधिवेशनका लागि प्रतिनिधि आउने व्यवस्था हुन्छ । यहाँ महिला, खुल्ला, श्रमिक, पेसागत तथा विषयगत विज्ञ, युवा, अपाङ्गता भएका व्यक्ति, अल्पसङ्ख्यक, दलित, सहिद परिवार तथा द्वन्द्व प्रभावित, लोकतन्त्रका लागि योगदान गरेका व्यक्ति, समानुपातिकलगायतका विभिन्न समूहको प्रतिनिधित्वको व्यवस्था गरिएको छ । केही पदेन प्रतिनिधिहरूको पनि व्यवस्था गरिएको छ ।

यहाँ एउटा महत्वपूर्ण कुरा बुझ्नु पर्दछ । पद लिनु र प्रतिनिधि हुनु महाधिवेशनमा प्रतिनिधि हुन पाउनु एउटै कुरा होइनन् । उदाहरणका लागि सम्बन्धित प्रावधान अनुसार केही पदेन प्रतिनिधिलाई मतदानको अधिकार हुन्छ तर उनीहरू महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्न पाउदैनन् । त्यसैले यो यात्रामा सबै यात्रुहरूको भूमिका एउटै हुँदैन । कसैको भूमिका प्रतिनिधिको हुन्छ, कसैको भूमिका पदेन प्रतिनिधिको हुन्छ । कसैसँग उम्मेदवारीको अधिकार पनि हुन्छ । अब महाधिवेशनको अर्को महत्वपूर्ण संरचना हो, महासमिति सदस्य । यहाँ एक सय ६५ निर्वाचन क्षेत्रबाट १२ जना महासमिति सदस्यको व्यवस्था गरिएको छ अर्थात् प्रत्येक निर्वाचन क्षेत्रले आफ्नो महासमिति सदस्यको प्रतिनिधित्व पठाउँछ ।

अब यात्रा पुग्छ अन्ततः केन्द्रीय कार्यसमितिमा । यहाँ १३ जना पदाधिकारी हुन्छन् । कार्यसमितिमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री रहन्छन् । यी आठ सहमहामन्त्रीमा विभिन्न क्षेत्रको प्रतिनिधित्व सुनिश्चितता गरिएको हुन्छ । एक महिला, एक आदिवासी जनजाति, एक दलित, एक मधेसी, एक खस आर्य, एक थारू, एक मुस्लिम, एक पिछडिएको क्षेत्र । त्यसपछि आउँछन् एक सय ५६ जना केन्द्रीय सदस्य । केन्द्रीय सदस्यतर्फ पनि महिला दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिम, पिछडिएको क्षेत्र र खुल्लालगायत विभिन्न समूहका प्रतिनिधिको व्यवस्था गरिएको छ । युवाको हकमा ३५ वर्ष मुनिका युवा मध्येबाट प्रत्येक प्रदेशबाट दुई जना अर्थात् सात प्रदेशबाट १४ जनाको प्रतिनिधित्वको व्यवस्था छ । यी माथिका प्रक्रिया पूरा भएपछि मात्र कांग्रेस महाधिवेशनको यात्रा टुङ्गिन्छ ।