सातौँ खुला आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा गोरक्ष रत्ननाथ डोजाङ विजेता

दाङ, ४ असोज । घोराहीमा सम्पन्न सातौँ खुला आईटीएफ तेक्वान्दो च्याम्पियनसिप–२०८३ मा गोरक्ष रत्ननाथ आईटीएफ तेक्वान्दो डोजाङ च्याम्पियन बनेको छ । डोजाङले १० स्वर्ण, ९ रजत र १३ कांस्य गरी कुल ३२ पदक जित्दै उपाधि आफ्नो नाममा गरेको हो ।

घोराही नगर आईटीएफ तेक्वान्दो डोजाङको आयोजना तथा दाङ जिल्ला आईटीएफ तेक्वान्दो संघको सहयोगमा असोज ३ र ४ गते घोराहीस्थीत दरवार स्केट पार्कमा भएको च्याम्पियनसिपमा ९ स्वर्ण, १० रजत र १३ कांस्यसहित ज्योतिपुञ्ज आईटीएफ तेक्वान्दो डोजाङ उपविजेता बनेको छ । ज्योतिपुञ्जले पनि कुल ३२ पदक जितेको भएपनि स्वर्ण पदकको संख्या एक कम हुँदा दोस्रो स्थानमा रहन पुगेको हो । त्यसैगरी ६ स्वर्ण, ६ रजत र ८ कांस्य गरि २० पदक जितेको सगरमाथा आईटीएफ तेक्वान्दो डोजाङ तेस्रो भएको छ ।

बाँकेको कार्ककादो आईटीएफ तेक्वान्दो डोजाङले ४ स्वर्ण, ४ रजत र ६ कांस्य गरि १४ पदकसहित सान्त्वना हुन सफल भएको दाङ जिल्ला आईटिएफ तेक्वान्दो संघका अध्यक्ष भीमबहादुर थापाले जानकारी दिएका छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडीको सम्मान पनि प्रदान गरिएको थियो । महिलातर्फ कार्ककादो डोजाङकी रुविया खत्री उत्कृष्ट खेलाडी घोषित भएकी छन् भने पुरुषतर्फ सगरमाथा आईटीएफ तेक्वान्दो डोजाङ गोग्लीका खेलाडी अनमोल केसीले उत्कृष्ट खेलाडीको उपाधि पाएका छन् । दुवै खेलाडीलाई ट्रफी प्रदान गरिएको थियो । यसैगरी, मेरिल्यान्ड आईटीएफ तेक्वान्दो डोजाङ अनुशासित टिमका रूपमा सम्मानित भएको थियो ।

घोराही नगर आईटीएफ तेक्वान्दो संघका कार्यवाहक अध्यक्ष आकाश विश्वकर्माको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव तिरणदाज गौतमले विजेता टिमहरूलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियोे पुरस्कार वितरण गरेका थिए । बिजेता तथा उपबिजेता टिमलाई पुरस्कार प्रदान गर्दै प्रमुख अतिथि गौतमले खेलाडीलाई उच्च मनोबलका साथ दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा जुट्न आग्रह गरेका थिए ।

प्रतिस्पर्धामा हारजीत स्वभाविक भएको भन्दै प्रमुख अतिथि प्रदेश खेलकुद परिषदका सदस्य सचिव गौतमले नजिदिै गरेको प्रतियोगितामा प्रदेशलाई पदक जित्ने गरि तयारी गर्न आग्रह गरेका थिए । प्रतियोगितामा २० केजी तौल समूहदेखि ६० केजी प्लस तौल समूहमा प्रतिस्पर्धामा गरेका थिए । प्रतियोगितामा दाङका नौ वटा, बाँकेका पाँच वटा, बर्दिया, प्युठान र रोल्पाका एक÷एक वटा डोजाङको सहभागीता रहेको थियो ।कार्यक्रमको सहजीकरण आईटीएफ तेक्वान्दोका अन्तराष्ट्रिय खेलाडी तथा रेफ्रि लीलाधर वलीले गरेका थिए ।