दाङ, २ असोज । परिवार योजना सेवाको अपरिपूर्त आवश्यकता घटाउन गर्भनिरोधक साधनको नियमित उपलब्धता, प्रभावकारी परामर्श तथा किशोरकिशोरीमैत्री सेवा विस्तार गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
सुत्केरीपश्चात् तथा गर्भपतनपश्चात् परिवार योजना सेवा प्रभावकारी बनाउँदै दुर्गम तथा सीमान्तकृत समुदायसम्म सेवाको पहुँच विस्तार गर्नुपर्नेमा सहभागीको जोड थियो । १३औँ राष्ट्रिय परिवार योजना दिवस तथा नेपाल परिवार नियोजन संघको ६७औँ स्थापना दिवसका अवसरमा घोराही उपमहानगरपालिका, स्वास्थ्य कार्यालय दाङ र नेपाल परिवार नियोजन संघ दाङ शाखाको संयुक्त आयोजनामा भएको अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो बताएका हुन ।
‘विपद् होस् वा सामान्य अवस्था, परिवार योजना सबैको आवश्यकता’ भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा परिवार योजना सेवा गर्भनिरोधक साधन प्रयोगमा मात्र सीमित नभई सुरक्षित मातृत्व, मातृ तथा नवजात स्वास्थ्य, किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्य, महिलाको स्वास्थ्य, लैङ्गिक समानता तथा परिवारको सामाजिक–आर्थिक कल्याणसँग जोडिएको विषय भएको बताएका थिए ।
कार्यक्रममा नेपाल परिवार नियोजन संघ, दाङ शाखाका प्रबन्धक बसन्त खनालले नेपाल तथा दाङमा परिवार योजना सेवाको वर्तमान अवस्था, सेवाको अपरिपूर्त आवश्यकता र सेवाको प्रभावकारी विस्तारमा सरोकारवालाको भूमिकाबारे प्रस्तुतीकरण राखेका थिए ।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार नेपालमा हाल विवाहित १५ देखि ४९ वर्ष उमेर समूहका महिलामध्ये ५७.२ प्रतिशतले कुनै न कुनै गर्भनिरोधक विधि प्रयोग गर्ने गरेका छन् । त्यसमध्ये ४२.७ प्रतिशतले आधुनिक गर्भनिरोधक विधि प्रयोग गर्ने गरेका छन्। परिवार योजनाको अपरिपूर्त आवश्यकता २०.८ प्रतिशत रहेको छ भने कुल माग ७८ प्रतिशत रहेकामा आधुनिक विधिबाट पूरा भएको माग ५४.७ प्रतिशत रहेको तथ्याङ्क कार्यक्रममा प्रस्तुत गरिएको थियो । १५ देखि १९ वर्ष उमेर समूहका विवाहित महिलामा परिवार योजनाको अपरिपूर्त आवश्यकता ३०.९ प्रतिशत र आधुनिक विधि प्रयोग १४.२ प्रतिशत रहेको जानकारी दिइएको थियो।
दाङमा आर्थिक वर्ष २०७८÷७९ देखि २०८०÷८१ सम्म आधुनिक परिवार योजना विधिको प्रयोग दर क्रमशः २०, २२ र २३ प्रतिशत रहेको तथ्याङ्क प्रस्तुत गरिएको थियो । जिल्लाका ४१ स्वास्थ्य संस्थाबाट परिवार योजना सेवा उपलब्ध गराइएको र आर्थिक वर्ष २०८०÷८१ मा आधुनिक परिवार योजना विधिको प्रयोग दर २४ प्रतिशत पुगेको जानकारी दिइयो । कार्यक्रममा सुरक्षित गर्भपतन तथा गर्भपतनपश्चात् परिवार योजना सेवाको अवस्थाबारे समेत जानकारी गराइएको थियो। आर्थिक वर्ष २०८२÷८३ को उपलब्ध तथ्याङ्कअनुसार गर्भपतन सेवा लिएका सेवाग्राहीमध्ये उल्लेख्य संख्याले गर्भपतनपश्चात् छोटो तथा लामो अवधिका परिवार योजना साधन अपनाएको जानकारी दिइएको थियो।
नेपाल परिवार नियोजन संघ, दाङ शाखाका सभापति माया पोख्रेलको सभापतित्व तथा घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यतामा एव स्वास्थ्य कार्यालय दाङका प्रमुख टी.बी. गुरुङको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा परिवार योजना तथा यौन एवं प्रजनन स्वास्थ्य सेवाको महत्वबारे धारणा राखेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिसीले परिवार नियोजनका बारेमा सचेतना बनाउनुपर्ने बताएकी थिइन । उनले सुखी र व्यवस्थीत परिवारका लागि नागरिकलाई सचेत बनाउनुपर्नेमा जोड दिदै आगामी दिनमा समेत सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा संघका निवर्तमान सभापति भरत देवकोटा, प्रजनन स्वास्थ्य विज्ञ तथा सदस्य किशोर आचार्य, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेललगायतका कार्यक्रमका सहभागीले परिवार योजना सेवा प्रभावकारी बनाउन स्थानीय तह, स्वास्थ्य संस्था, सेवा प्रदायक तथा साझेदार संस्थाबीच निरन्तर समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए । घोराही उपमहानगरपालिकाका स्वास्थ्य संयोजक राधा पौडेलको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण धनबहादुर केसीले गरेका थिए ।