गोरक्ष समाचारदाता
दाङ, २ असोज । दंगीशरणमा निर्माण भएको चार वर्षपछि चिस्यान केन्द्र (कोल्डस्टोर) सञ्चालनको तयारी गरिएको छ । दंगीशरण गाउँपालिका–३ हेकुलीमा २०७९ मा करिब ९४ लाख २६ हजार ८९ रुपैयाँको लागतमा चिस्यान केन्द्र निर्माण गरिएको थियो ।
सङ्घीय सरकारको समपूरक अनुदान अन्तर्गत ५० प्रतिशत र दंगीशरण गाउँपालिकाको ५० प्रतिशत लगानीमा २०७९ सालमा चिस्यान केन्द्र लोकमणि बिल्डर्स घोराहीले निर्माण गरेको थियो । निर्माण भएको चिस्यान केन्द्रको भवनमा प्राविधिक त्रुटिका कारण संरचनाको केही भाग जमिनमुनि धसिन पुगेको थियो । जसका कारण निर्माण भएको लामो समयसम्म चिस्यान केन्द्र सञ्चालनमा आउन सकेको थिएन ।
दंगीशरण गाउँपालिकाका सवइन्जिनियर कालुराम चौधरीका अनुसार चिस्यान केन्द्रको क्षतिग्रस्त बाह्य संरचना तथा भण्डारण च्याम्बरको मर्मतसँगै सञ्चालनमा ल्याउन थालिएको हो । गत आर्थिक वर्ष दंगीशरण गाउँपालिकाको सात लाख बजेटबाट चिस्यान केन्द्रको चर्किएको बाहिरी भाग र च्याम्बर मर्मत गरिएको थियो । उनका अनुसार सुरुमा जेनेरेटरको माध्यमबाट सञ्चालन गर्ने योजनासहित निर्माण गरिएको उक्त केन्द्रलाई हाल विद्युत प्रणालीमा आबद्ध गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।
जेनेरेटरबाट सञ्चालन गर्दा लाग्ने खर्च बढी हुने भएपछि विद्युत प्राधिकरणलाई लाइन जडानका लागि निवेदन दिइएको सव इन्जिनियर चौधरीले जानकारी दिएका छन् । विद्युत प्राधिकरणले ट्रान्सफर्मरको प्राविधिक जाँच गरेपछि लाइन जडान गरिने भएको चौधरी बताउँछन । ट्रान्सफर्मर जाँचका लागि नेपालगन्जस्थित विद्युत प्राधिकरणको कार्यालयमा लैजानु पर्ने बाध्यताका कारण लाइन जडानमा ढिलाइ भएको उनी बताउँछन् । ‘तुलसीपुरमै ट्रान्सफर्मरको प्राविधिक जाँच हुने भए लाइन जोड्नलाई समस्या हुने थिएन’, सव इन्जिनियर चौधरीले भने, ‘तुलसीपुरमा जाँचको व्यवस्था नहुँदा बाहिर लैजान समस्या भएको छ ।’
चिस्यान केन्द्र सञ्चालनमा आएपछि दंगीशरणसँगै बबई र शान्तिनगर गाउँपलिकाका किसानलाई उत्पादन गरेका तरकारी, फलफूल राख्न सहज हुने छ । चिस्यान केन्द्र सञ्चालन नहुँदा किसानले उत्पादन गरेको तरकारी तथा फलपूmल राख्नका लागि समस्या हुने गरेको छ । उक्त चिस्यान केन्द्रमा करिब ३० देखि ५० टनसम्म तरकारी तथा फलपूmल राख्न सकिने गरी निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।