प्रिया स्मृती गजमेर
देउखुरी, २६ भदौ । राजपुर गाउँपालिका–१ कठबेरुवा निवासी सुकदेव चौधरी लामो समयदेखि परिवारसहित लमहीमा बसोबास गर्दै आएका छन् । श्रीमती र छोरासहित लमही नगरपालिका–६ देउपुरमा बस्दै आएका सुकदेवको सपना थियो, छोरालाई राम्रो विद्यालयमा पढाउने र परिवारको भविष्य सुरक्षित बनाउने तर बजारको बसाइँ आर्थिक रूपले सहज थिएन । घरखर्च धान्न समस्या हुन थालेपछि सुकदेवले लमही बजारकै एउटा हार्डवेयर पसलमा मजदुरी गर्न थाले । केही समय मजदुरी गरेपछि त्यो काम छोडे र माटोमा पसिना बगाउने निर्णय गरे ।
पछिल्लो समय उनी व्यावसायिक तरकारी खेतीमार्फत् आफ्नो परिवार धान्दै आएका छन् । देउपुरमा करिब सात बिघा जग्गा भाडामा लिएर उनले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । बिहानदेखि बेलुकासम्म खेतबारीमै श्रीमान् श्रीमतीले मेहनत गर्ने र त्यहीबाट भएको आम्दानीले परिवारको खर्च चलाउने गरेको उनी बताउँछन् । तरकारी खेतीसँगै उन्नत जातका बङ्गुर पनि पालेका छन् तर मुख्य प्राथमिकता भने तरकारी भएको सुकदेव बताउँछन् ।
उत्पादन गरेका तरकारी लमहीसँगै भालुबाङ, घोराही र प्यूठानको बड्डाँडासम्म पुग्ने गरेको छ । हाल बारीमा लौका र भिन्डी बिक्रीका लागि तयारी अवस्थामा छन् भने केही दिनभित्रै काँक्रा र करेला पनि तयार हुने सुकदेवले बताए । छोरालाई लमहीकै एक संस्थागत विद्यालयमा पढाइरहेका सुकदेवले तरकारी खेतीबाट राम्रै कमाइ गरिरहेका छन् । ‘तरकारी खेती गरेर घरखर्च चलाउन सहज भएको छ । दुई÷चार पैसा आवश्यक पर्दा ऋण माग्न जानु परेको छैन’, सकदेवले भने, ‘दुःख बिरामी पर्दा उपचार गर्न पुगेको छ । थोरै बचत पनि गर्दै आएको छु ।’
विगत आठ वर्षदेखि कृषि क्षेत्रमा सङ्घर्ष गर्दै आएका सुकदेवको तरकारी उत्पादक किसानले भोग्दै आएका समस्या समाधानका लागि स्थानीय सरकारले ध्यान नदिएको गुनासो छ । देशको अर्थतन्त्रलाई बलियो बनाउन प्रत्यक्ष योगदान दिने किसान नै राज्यको प्राथमिकतामा पर्न नसकेको उनको गुनासो छ । स्थानीय सरकार किसानका लागि सबैभन्दा नजिकको सरकार भए पनि किसानका वास्तविक समस्या बुझ्न खेतबारीसम्म अझैसम्म स्थानीय सरकार पुग्न नसकेको उनले बताए । ‘हाम्रो नजिकै स्थानीय सरकार छ तर कुनै दिन पनि खेतबारीमा आएर किसानका समस्या बुझ्ने, अनुगमन गर्ने वा किसानसँग समन्वय गरेर योजना बनाउने गरेको अनुभव छैन’, उनले भने । समयमा मल र बिउ नपाउने, उत्पादनपछि उचित बजार नपाउने, बिचौलियाबाट पीडित हुनु पर्ने र मूल्य नपाउँदा उत्पादन खेर फाल्नु पर्ने समस्या किसानले निरन्तर भोग्दै आएको उनको भनाइ छ ।
सुकदेव जस्तै लमहीका अर्का किसान ठागुराम चौधरी पनि राज्यको कृषि नीतिले वास्तविक किसानलाई सम्बोधन गर्न नसकेको बताउँछन् । विदेश जानुभन्दा आफ्नै ठाउँमा कृषि गर्ने उद्देश्यले ठागुरामले गत वर्षदेखि १० कट्ठा जग्गामा टमाटर खेती गर्दै आएका छन् । उत्पादन भएको टमाटरले मूल्य नपाउँदा भने मेहनत र लगानी खेर गरएको ठागुराम बताउँछन् । मूल्य नपाउँदा प्रतिकिलो १० रुपैयाँका दरले टमाटर बेच्नु परेको उनले गुनासो गरे ।
कृषि उत्पादनका लागि मल, बिउ, विषादी, श्रम र अन्य सामग्रीको लागत निरन्तर बढिरहेको बेला उत्पादनले भने उचित मूल्य पाउन नसकेको उनको भनाइ छ । किसानका अनुसार कृषि क्षेत्रमा राज्यको सहयोग कागज र घोषणामा मात्र सीमित हुन नहुने ठागुराम बताउँछन् । वास्तविक किसानको पहिचान गरी समयमै मल, गुणस्तरीय बिउ, सिँचाइ सुविधा र उत्पादनका आधारमा अनुदान उपलब्ध गराउनु पर्ने आवश्यक रहेको उनले बताए । यसैगरी बजारीकरणमा पनि ध्यान दिन आवश्यक रहेको उनी बताउँछन् ।
कृषि उत्पादनलाई बजारसँग जोड्न नसक्दा एकातिर किसानको उत्पादन खेतबारीमै कुहिने अवस्था छ भने अर्कोतर्फ उपभोक्ताले महँगो मूल्यमा कृषि वस्तु किन्न बाध्य हुनु परेको छ । यो अवस्थाको अन्त्यका लागि सरकारले उत्पादनदेखि बिक्रीवितरणसम्म किसानलाई केन्द्रमा राखेर नीति निर्माण गर्नु पर्ने उनको भनाइ छ ।