सही सूचनाको अभावले अर्को विपद् ल्याउँछ : पोख्रेल

गोरक्ष समाचारदाता
दाङ, २० भदौ । नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले विपद्को समयमा सही सूचना नपाएमा अर्को महाविपद् थपिन सक्ने खतरा औल्याएका छन् । सही सूचनाको अभावमा विपद्को व्यवस्थापनमा समस्या उत्पन्न हुने र त्यसले अर्को सङ्कट निम्त्याउनेतर्फ सबै सचेत हुनु पर्नेमा उनको जोड थियो । यो अवस्था आउन नदिन पत्रकारिताको भूमिका महत्वपूर्ण हुने पोख्रेलको तर्क छ । नागरिकलाई सही र भ्रमरहित सूचना दिने दायित्व बोकेको पत्रकारिता क्षेत्रले विपद्को बेलामा थप सशक्त भूमिका निर्वाह गर्नुपर्छ’, उनले भने ।

नेपाल प्रेस युनियन दाङ शाखाको नवौँ अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदहस्तान्तरण तथा विपद्मा पत्रकारिताको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोख्रेलले सङ्कटको समयमा नागरिकलाई सही र तथ्य सूचना दिन र सङ्कटको समयमा सरकारलाई जिम्मेवार बनाउनमा सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताए । अहिलेको विपद्मा पनि नेपाली पत्रकारिता क्षेत्र जिम्मेवार भएर प्रस्तुत भएको भन्दै उनले सन्तोष व्यक्त गरे ।

‘सबै ठिक भइरहेको छ’, भन्ने सामाजिक सञ्जालमा उफ्रने र अल्गोरिदम फैलाउनेको मात्रै सुनेको भए अझै धेरै क्षति हुने थियो’, भन्दै पोख्रेलले भने, ‘सबै ठिक छ’ भन्ने हौवाबाट प्रभावित नभएर नेपाली मिडियाले विपद्को वस्तुस्थिति जस्ताको त्यस्तै बाहिर ल्याउन थालेपछि मात्रै उद्धार र राहतको काम व्यबस्थित हुँदै गएको दावी पनि उनले गरे । ‘सबै ठिक छ वालाको कुरा नसुनेर सुरुदेखि नै सरकारले मिडियाको विश्वास गरेको भए दक्ष हातहरूको जोहो गरेर उद्धार कार्य सुरु हुन्थ्यो’, पोख्रेलले भने, ‘त्यसो गरिएको भए थप धेरैको ज्यानसमेत जोगिन्थ्यो कि ?’ पोख्रेलले यस्तो बेलामा जिम्मेवार, सहज र सचेत भएर समाचार सम्प्रेषण गर्ने कुरामा कत्ति पनि सम्झौता नगर्न पत्रकारलाई आह्वानसमेत गरे । प्रेस युनियनको नवनिर्वाचित कार्यसमितिलाई शुभकाना दिँदै पोख्रेलले स्थानीय सरकारलाई जिम्मेवार बनाउन र त्यहाँ पनि संसदीय अभ्यास गराउन योजना निर्माण गर्न आग्रह गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले सङ्कटको समयमा पत्रकार सचेत बन्नु पर्ने बताए । विपद्सँगै आर्थिक सङ्कटका कारण पत्रकारिता क्षेत्र स्वयम् सङ्कटमा पर्दा पत्रकारिता क्षेत्र नै गम्भीर सङ्कटबाट गुज्रिरहेको बताएका थिए । कार्यक्रममा नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य केपी घिमिरेले जिम्मेवार र पूर्ण पत्रकारिताको खाँचो औल्याउँदै प्रेस युनियनले लमहीमा रहेको आफ्नो जग्गामा भवन निर्माणलाई अघि बढाउनु पर्ने बताएका थिए ।

कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य देवेन्द्र बस्नेत, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, प्रेस युनियन दाङकी निवर्तमान सल्लाहकार वसुन्धरा गौतम, प्रेस युनियन दाङका निवर्तमान अध्यक्ष नारायण खड्कालगायतले मन्तव्य व्यक्त गर्दै सङ्कटको समयमा पनि सत्यतथ्यमा आधारित निष्ठावान् पत्रकारिताको आवश्यकतामा जोड दिँदै आफ्नो पेसागत मर्यादादेखि डगमगराउन नहुनेमा जोड दिएका थिए । कसैलाई पनि अनावश्यक असर नपुग्ने गरी तथ्यपरक सूचना सम्प्रेषण गर्नु पर्ने र मूलधारका सञ्चारमाध्यम झन् सबल हुन आवश्यक रहेको बताए । उनीहरूले नवनिर्वाचित कार्यसमितिलाई वर्तमान समयमा पत्रकारितामा देखिएका सङ्कटलाई हटाउँदै पत्रकारिताको पेसागत हक, हित र क्षमता विकासमा ध्यान दिँदै सामाजिक विषयमा समेत अन्तरक्रियात्मक कार्यक्रम गर्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा निवर्तमान अध्यक्ष नारायण खड्का, सचिव अमरक्षितिज भण्डारी र कोषाध्यक्ष लीलाधर वलीले नवनिर्वाचित अध्यक्ष आरके शीतल, सचिव लीलाधर वली र कोषाध्यक्ष प्रियास्मृति गजमेरलाई जिम्मेवारी हस्तान्तरण गरेका थिए । प्रेस युनियन दाङकी निवर्तमान उपाध्यक्ष पार्वती बस्नेतको स्वागत मन्तव्यवाट सुरु भएको पदहस्तान्तरण कार्यक्रमको सहजीकरण निवर्तमान सचिव अमरक्षितिज भण्डारीले गरेका थिए ।

पद हस्तान्तरणपछि प्रेस युनियन दाङका नवनिर्वाचित अध्यक्ष शीतलको अध्यक्षतामा बसेको पहिलो बैठकले निर्वाचन सम्पन्न गराउन भूमिका निर्वाह गर्ने निर्वाचन समिति, निवर्तमान जिल्ला कार्यसमिति, केन्द्रीय प्रतिनिधि, केन्द्रीय सदस्य, प्रदेश समिति सदस्य, साधारण सदस्यसँगै अग्रज सबैलाई धन्यावाद ज्ञापन गरेको छ । प्रेस युनियन दाङको नियमित बैठक प्रत्येक महिनाको अन्तिम शनिवार बस्ने निर्णय गरेको छ । बैठकको सहजीकरण सचिव लीलाधर वलीले गरेका थिए ।