पाँचौँ जिल्लास्तरीय हाप्किडो च्याम्पियनसिपको तयारी पूरा

दाङ,१८ भदौ । घोराहीमा हुने पाँचौँ जिल्लास्तरीय हाप्किडो च्याम्पियनसिप–२०८३ को तयारी पूरा भएको छ ।

दाङ जिल्ला हाप्किडो संघको आयोजनामा भदौ १९ गतेदेखि २१ गतेसम्म घोराहीमा हुने च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको आयोजनकले जनाएको छ । घोराही उपमहानगरपालिका–१५ स्थीत न्यू स्केट पार्कमा हुने पाँचौँ जिल्लास्तरीय हाप्किडो च्याम्पियनसिपको प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव तिरणदाज गौतमले उद्घाटन गर्ने कार्यक्रम तय भएको दाङ जिल्ला हाप्किडो संघका अध्यक्ष बिशाल थापाले जानकारी दिएका छन् ।

अध्यक्ष थापाका अनुसार तीन दिनसम्म सञ्चालन हुने च्याम्पियनसिपमा जिल्लाका विभिन्न डोजाङका चार सय खेलाडीको सहभागीता हुने भएको छ । प्रतियोगिताअन्तर्गत क्योरुगी (स्पारिङ), ह्युङ (फर्म), सेल्फ डिफेन्स प्रदर्शन, विशेष प्रदर्शन, हाईफल र लङफललगायतका विधामा खेलाडीले प्रतिष्पर्धासँगै कला प्रदर्शन गर्ने भएका छन् ।

हाप्किडो खेलको विकास, खेलाडीको प्रतिभा पहिचान तथा आत्मरक्षा सीपको प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको दाङ जिल्ला हाप्किडो संघले जनाएको छ । प्रतियोगिताले जिल्लामा हाप्किडो खेलप्रति आकर्षण बढाउनुका साथै नयाँ खेलाडीलाई प्रतिस्पर्धात्मक अनुभव प्राप्त गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ । आयोजनकका अनुसार च्याम्पिसनसिपको उदघाटन विहान ११ : ३० बजे हुने भएको छ ।