खेमराज रिजाल
दुधरास, १६ भदौ । ‘यतिका पाप त नगरौँ न हो, भोलि कुनबेला मर्नुपर्छ थाहा छैन, रुसुवा बाढीको अवस्था देख्नुभएन ?’ स्थानीय किसानबाट दुघ सङ्कलन गर्दै आएका दुधरास डेरीका सञ्चालक फत्तेबहादुर खड्का गुनगुनाइरहेका थिए । बिहानको ५ः०० बजे दुध लिन डेरी पुुग्दा उनले किसानले खन्याएको दुधको जगमा ल्याक्टोमिटर लगाइरहेका देखिन्थे ।
‘के भो र दाइ ?’ संवाददाताको प्रश्नमा उनले ठट्यौली भाषामा भने, ‘दुधमा पनि बाढी मिसिन थाल्यो । सायद किसानले दुधमा अलिकै बढी पानी मिसाउन थालेछन्’ । त्यो नतिजा उनको ल्याक्टोमिटरले देखाइरहेको थियो । खड्काले प्रसङ्ग बदले, ‘बाढीले कृष्णभिर पनि त्रिसुलीमा झरेछ नि, अरू कहाँ कहाँ के के भयो ? दोस्रो हिमताल पनि फुट्यो, हो ? फेरि पनि बाढीले केहीलाई बगायो रे नि ?’ यस्तै धेरै प्रश्नहरू उनले एकै श्वासमा सोध्न भ्याए ।
बाढी प्रभावितहरूको जति त नभनौँ तर रसुवाको पीडा दुधरासमा पनि फोखिइरहेको छ । बिजौरीको ममता डेरीमा पनि यस्तै पीडा र निराशा पोखिइरहेको छ । तुलसीपुरको डिलाइट कर्नरमा मदिरा पिउनेलाई समेत भोटेकोशीको बाढीले पिरोलिरहेको आवाज सुनिन्छ । कसैले बाढीको समाचार भुलाउन चिया पिइरहेका छन्, कसैले बाढीको पीडा भुलाउन रक्सी पिइरहेका छन्, कुनै चोकमा उद्योगी व्यावसायी बाढीपिडितका लागि पठाउने राहतका विषयमा छलफल गरिरहेका देखिन्छन् अर्थात् बाढी, बाढी अनि फेरि पनि बाढी … ।
चिया पिउँदै गर्दा मैले धेरैजसो विचल्लीमा परेका भिडियोहरू सामाजिक सञ्जालमा पछ्याउँछु । स्क्रीन अप गर्दै जान्छु, फेरि उस्तै भिडियो । टिकटकमा जान्छु, बाढीकै भिडियो, कतै राहतमा अनियमितता भएको, कतै उद्धारमा ढिलासुस्ती भएको त कतै बाढीपीडितले आफन्त गुमाएको । सायद अल्गोरिदम त्यही हो । मैले फेसबुक आइडीमा रिल खोल्यो कि बाढी बाहेक अरू केही पनि आउन छाडेको छ । तिजका गीतहरू रिलमा रित्तिए, सायद । तिहारका सोरठी पनि रित्तिए कि ? मदनकृष्ण र हरि वंशको गाईजात्रे प्रहसन होस् वा कमल गाउँलेको जाईजात्रा केही पनि आइरहेका छैनन्, मोबाइलमा ।
फोर्टिनाइन चोकमा एक जना सहचालकले सोधे, ‘पत्रकारज्यु, काठमाडौं गाडी कहिले जान्छन् ?’ ‘थाहा छैन, बाटो खुलेपछि त होला’, मैले जवाफ दिएँ । कहीँ पनि नटुङ्गिने सडक सञ्जाल अहिले कहाँ गएर अन्त्य हुन्छ ? थाहा छैन । सबैतिर कृष्णभिरहरू छन्, सबैतिर तुुइन पहिरो छन्, सबै नदीहरू भोटेकोशी बनिरहेका छन्, सायद । जहाँतहीँ बाढीकै चर्चापरिचर्चा । अहिले सामाजिक सञ्जालमा पढेको समाचार एकैछिनपछि बदलिन्छ । खुल्यो भनेको बाटो एक घण्टामै अवरुद्ध हुन्छ । चापागाउँ हेटौडा सडकमा पनि यस्तै समस्या छ देखिएको छ ।
फर्पिङ—कुलेखानी सडक पनि दुरुस्त छैन रे । नौबिसे—दामन—हेटौडा बाइरोडको बाटोमा आउन त नागढुङ्गादेखि नै क्लक छ । यो साताभरि वाणीको पिरैपिरमा बित्यो, अरू कति पिर भोग्नु पर्ने हो’, सँगै चिया पिइरहेका स्थानीय समाजसेवी रामकुमार डाँगले मसिनो स्वरमा वोले, उफ ! उनले बाढीले परिवार गुमाएर पनि आफू एक्लै बाँचेर सडकमा आमा खोजिरहेकी ती बालिकाको तस्बिर पटक पटक आफ्नो मोवाइलको स्क्रीनमा देखाइरहन्छन् । बाढीले सबै परिवार बगाउँदा ती बालिका सायद जालीमा अड्किएर बँचेकी थिइन् ।
दाङमा पातु खोलाको बस्ती पनि छ. … । दाङ पनि त बाढीको जोखिममा छ नि ! चिया पसलमा फेरि प्रसङ्ग मोडियो । २०७१ सालमा दाङमा आएको बाढीमा धेरै नदी तटीय क्षेत्रहरू डुबानमा परेका थिए । सयौँ बिघा खेतीयोग्य जमिन बगरमा परिणत भएको थियो । देउखुरीमा राप्तीको कटान र दाङमा बबई नदीको डुबानको सम्झना अझै ताजै छ । त्यही बेला सल्यानको कपुरकोट चर्केको थियो । सानो पहिरो पनि गएको थियो । कपुरकोट पातु खोलाको शिर हो । ‘यदि भोटेकोशीमा हिमताल फुटे जस्तै कपुरकोट खसेर पातु खोलामा ताल बनेर फुट्यो भने करिब आधा तुलसीपुर बजार सकिने छ । बसपार्क असुरक्षित हुने छ । पातु खोलामा बसेको नयाँ बस्ती पूरै असुरक्षित हुने छ’, स्थानीय धनबहादुर डाँगीले भने । त्यो बेला धन्न कपुरकोट खसेन ।
कपुरकोट चर्केको खबरले हामी गजेन्द्र बोहरा, तेजबहादुर कार्की, सुुरेशसुमन डाँगीसहित त्यो बेला कपुरकोट पुुगेका थियौँ । साच्चै खस्ला जस्तो थियो, त्यो बेला । कपुरकोट चर्किएपछि नजिकै चौरमा रहेको सामुदायिक विद्यालयसमेत अन्यत्र सुरक्षित स्थानमा स्थानान्तर भएको थियो । धन्न वर्षात थामिएसँगै पहिरोमा सानातिना बिरुवा उम्रिएर पहिरो जाने क्रम रोकिएको छ । यद्यपि पहिरो रोक्ने दीर्घकालीन योजना भने त्यहाँ छैन । बायोइन्जिनियरिङको अवधारणा त्यो बेला भूुगर्भविदहरूले अघि सारेका थिए तर कपुरकोटमा त्यो काम पनि भएन । कुनै बेला कपुरकोट पनि खस्ने सम्भावना छ । यसमा पनि अब सरकारको ध्यान जानु पर्ने तुलसीपुरबासीको सुुझाव छ ।