भुवन पोख्रेल
जेन–जी आन्दोलन पछि नेपालको राजनीतिक परिदृश्य फेरियो । यसैबिच नेपाली कांग्रेसमा पनि नेतृत्व परिवर्तनको मुद्दा उठ्यो र विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको नेतृत्वमा गगन थापा पुगे । यसले विवाद कम हुनुको साटो अन्तर कलह झाँगिदै छ । फागुन २१ को चुनावमा भोगेको पराजयको पीडाका बिच आन्तरिक विवादले पाटीको भविष्य अन्योल छ । पार्टीको नीति र नेतृत्व बिचको टकरावले वा विवादले गौरवशाली इतिहास बोकेको र व्यवस्था परिवर्तनका प्रत्येक आन्दोलनमा अग्रपंक्तिमा उभिएका आम नेपाली कांग्रेसको कार्यकर्ता निराश बन्न पुगेका छन् ।
कांग्रेस नेतृत्वका सरकारले गरेका सकारात्मक काम, विकास निर्माण, लोकतान्त्रिक संस्थाहरुको सुदृढीकरण तथा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारका विषयलाई तथ्य र प्रमाणसहित प्रचार गर्न आवश्यक छ । इतिहासलाई केवल गौरवगानका रुपमा होइन, वर्तमान र भविष्सँग जोडेर हेर्नुपर्छ । गौरवशाली इतिहास बोकेको, देशकै ठूलो पार्टीलाई जनताले विश्वास नगरेर वैकल्पिक शक्ति खोजेको अपेक्षा गरेर रास्वपालाई भारी बहुमतका साथमा जिताए नेपाली कांग्रेस ३८ सिटमा खुम्चिन पुगेको सत्यलाई स्वीकारेर कांग्रेस जनतासँग जोडिनु पर्छ । जनजिविका सामान्य कुरामा कांग्रेसले आँखा चिम्लेर शासकीय चरित्र उदांगो पार्दाको परिणाम राज्य सत्ताको मझधारमा रहेको पाटी किनारामा फ्याकिन पुगेको तितो यथार्थलाई नेतृत्वले भुल्नु हुँदैन ।
यतिबेला नेपाली कांग्रेस इतिहासकै सङ्कटग्रस्त अवस्थामा छ । देशलाई, प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको उज्यालोले छाउने पाटीलाई चौतर्फि आक्रमण भइरहेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सत्ता साझेदार गर्दा कांग्रेसका आफ्नो पार्टीको साक गिराएको हो । सभापति देउवाको दुलेमले चरित्र र शक्ति र सत्तामा पुग्नलाई आफ्नो नीति सिद्धान्त केही पनि नमिल्ने शक्तिसँग गठबन्धन गर्ने प्रवृत्तिका कारण कांग्रेस नागरिकको नजरबाट गिरकेो हो ।
अहिले शेरबहादुर देउवा जेन–जी आन्दोलनमा शारिरीक, मानसिक आक्रमण पछि विदेश बसाइबाट नेपाल फर्किएका छन् । देउवाको ६ महिना पछिको नेपालमा आगमन पछि कांग्रेस प्रष्ट दुई चिरामा बाडिने सङ्केत देखिएको छ । अहिले नेपाली कांग्रेसका पुरानो पुस्ता र नयाँ पुस्ताबिच चरम विवाद चुलिएको सत्तामा पुग्ने र पद, शक्तिमा रमाउन बानी परेकाहरुले हत्तपत्त सत्ता हस्तान्तरण गर्न चाहँदैनन् भन्ने कांग्रेस भित्रको बहसले प्रष्टाएको छ ।
देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरित भइसकेपछि कांग्रेसका मूल आधारहरु खस्किँदै छन्, भत्कदै गइरहेका छन् । सङ्गठन सुदृढीकरणको अभावमा यसको भोट कमाउने संयन्त्रमा खिया लागेको छ । यस्तो किन भयो ? कांग्रेस बाहेयकका सबै ठूला, साना पार्टीहरु विभिन्न तहमा कांग्रेस विरुद्ध सङ्गठित हुन थालेका छन् । कांग्रेसले बाह्य आक्रमण पार्टीभित्र किन भइरहेको छ भन्ने विषयमा मूल्याङ्कन गर्नुको साटो आन्तरिक रुपमै विवाद र झगडामा कांग्रेस अल्झिरहँदा चुनावमा निराशाजनक परिणाम भोग्नु परेको हो ।
कांग्रेस पार्टी वर्तमान अवस्थाको सामना गर्नु पर्नाका कारणहरुको अध्ययन गर्ने र साङ्गठनिक सुधार गर्ने तत्परता अझैसम्म देखाउन सकेको छैन । लोकतान्त्रिक पार्टीमा सबै कार्यकर्ता स्वतन्त्र हुन्छन् भन्ने मान्यता स्थापित गर्ने प्रयास भइरहेको छ कांग्रेसमा । यो कांग्रेस नेतृत्वमा देखिएको आत्मघाती प्रवृत्ति हो । नेपाली कांग्रेस सत्तामा पुग्यो भने देशको आर्थिक पक्षमा रुपान्तरण हुन्छ भन्ने भाष्य नेपाली कांग्रेस निर्माण गर्न सकेको भए यसरी जनविश्वास गुम्ने थिएन । अब गुमेको जनविश्वास फेरि जगाउनका लागि नेपाली कांग्रेस जनतासँगै जोडिएर जनपक्ष काममा तल्लिन हुनु जरुरी छ ।
कांग्रेसका लागि सत्ता नेपाली समाजका लागि राजनीतिक, आर्थिक र सामाजिक जागरणका लागि हतियार मात्र हो भन्ने उसको उद्देश्य समय क्रममा रुखलित हुँदै गएको पक्कै हो । कुनै पनि पार्टीका लागि सत्ता चलाउनुभन्दा देशमा नयाँ आर्थिक र सामाजिक जागरण ल्याउनु महत्वपूर्ण विषय हो ।
अहिले कांग्रेसको लोकतान्त्रिक समाजवाद राजनीतिक परिदृश्यबाट ओझेल पर्दै गरेको अनुभूति भएको छ । सैद्धान्तिक स्पष्टताका लागि पार्टीका नेताहरु सजग हुन सकेका छैनन् । साङ्गठनिक हिसाबले कांग्रेसको अवस्था त्यति अनुकुल देखिँदैन । सङ्घीय लोकतान्त्रिक गणतन्त्रका रुपमा नयाँ नेपालका उदयपछि कांग्रेससँग वामपन्थी र दक्षिणपन्थी लगायतका कुनै पनि विचार धाराका राजनीतिक दलको वैचारिक सहमति रहेन । कांग्रेसको मायाले एमाले र माओवादी सत्ता गठबन्धन गर्न पक्कै आएका थिएन । बरु कांग्रेसको साख गिराएर कमजोर पार्नलाई चौतर्फि घेराबन्दीमा कांग्रेसलाई पार्न प्रयास चाही गरिएको थियो भन्ने अझै पनि नेपाली कांग्रेसका शीर्ष नेतृत्वले बुझ्न सकेका छैनन् ।
सभापतिका रुपमा कार्यरत रहेको बेला जेन–जी आन्दोलनमा अराजक भिडको साङ्घातिक आक्रमणमा घाइते भएका देउवा नेपाल फर्किएर एक पटक सक्रिय भएका छन् । देउवाले भौतिक र मानसिक यातना भोगेका छन् । पटक–पटक मुलुकको प्रधानमन्त्रीको बागडोर सम्हालेका देउवालाई पद, सत्ताको लिप्साको आरोप खेप्नु परेको छ । लोभ, मोह, सत्ता लिप्साबाट टाढा रहेर संस्थापन र इतर पक्षलाई विभाजनको घेराबाटहटाएर एक ढिक्का बनाउने दायित्व देउवाको काँधमा छ । लामो समय देउवासँग प्रशस्त सुझबुझ छ । यतिबेला नेपाली कांग्रेस सङ्कटको घडीमा छ ।
देशलाई परिवर्तनको मोडमा ल्याएको यस पार्टी चौतर्फि धेराबन्दीमा छ । सबै पार्टी कांग्रेस विरुद्ध खनिएका छन् । नयाँ पुस्ता र पुराना पुस्ताको सेतु बनेर एक ढिक्का बनाई, मेलमिलाप गराउने खुबी देउवामा छ । पार्टी सुदृढीकरणका लागि उनका विगतका अनुभव र वर्तमानका अनुभूतिको सकारात्मक प्रयोग हुनुपर्छ । पार्टीका बरिष्टतम राजनेताका रुपमा इतर र संस्थापन दुवैलाई मिलाएर अघि बढाउन सके अन्तत देउवाको साख जोगाएर आदर्श बन्ने अवसर छ । फुटको राजनीतिमा जुटको आवाज देउवाले निकाल्न पछि पर्नु भनेको इतिहासले माफि दिने काम होइन । देशको सबैभन्दा ठूलो र जेठो राजनीतिक पार्टी नेपाली कांग्रेस पछिल्लो समय गुटबन्दीका कारण फुटको सङ्घारमा रहेको छ ।
राजनीति पेसाका लागि मात्र नभएर जनताको भलाईका लागि गरिने विशुद्ध सामाजिक सेवा हो भन्ने भाव नेपाली कांग्रेसका नेता तथा कार्यकर्तामा हुने हो भने फेरि पनि कांग्रेसले गुमेको विश्वास आर्जन गर्दछ । कांग्रेसको इतिहास हेर्ने हो भने फुट्दै जुट्दै गरेका देखिन्छ । अहिले नेपाली कांग्रेस बाटो बिरायो कि विथोलियो आम कार्यकर्ता अन्योलमा छन् । यतिबेला नेपाली कांग्रेस आन्तरिक शक्ति सङ्घर्षमा छ । विधि र व्यक्तिबिचको टक्कर उराठ लाग्दो छ । लोकतन्त्रका लागि लामो सङ्घर्ष गरेको पार्टी अप्ठेरोमा छ ।
नयाँ पार्टी गठन समेत गर्न संस्थापन इतर पक्षले भेला आयोजना ग¥यो । सर्वोच्च अदालतको पुनरावलोकन आदेशपछि भेला सम्मेलनमा परिणत भयो । विदेशमा उपचार पछि पूर्व सभापति शेरबहादुर देउवाको स्वदेश आगमनको उपस्थिति अझ पेचिलो बनेको छ । पार्टी भित्रको विवाद मिलाउने नमिलानउे देउवा मै निहित छ । गुटगत राजनीतिभन्दा माथि उठी निर्णय लिने अठोट गरेमा समस्याको समाधान अवस्य निस्कने छ ।
नेपाली कांग्रेसको विद्यमान समस्या नेतृत्व पुस्तान्तरण स्वीकार नगर्नु हो । परिवर्तनलाई आत्मसात नगर्नु हो । भेलामा गगन विश्वका विरुद्ध दिएका अभिव्यक्तिले पनि यसको पुष्टि गर्छ । विधानभन्दा माथि नेतालाई राखेकाबाट उब्जेको परिणति हो यो । विधान सम्मत डाकिएको विशेष महाधिवेशनमा चर्चित नेताह्रुले बहिष्कार गर्नु महाभुल थियो तत्कालीन कठिन राजनीतिक अवस्था आंकलन गरेर महाधिवेशन बोलउन पार्टी कार्यालयमा निवेदन दर्ता भएको थियो । तथापी कांग्रेसप्रति खस्किएको विश्वासको सङ्कट हल खोज्न र नयाँ नेतृत्व चयन गर्न गरिएको मागलाई तत्कालीन नेतृत्वले आत्मसात गरेनन् । पार्टी र मुलुकभन्दा माथि गुटको भविष्यलाई प्राथमिकता दिँदा भेला र अदालती पुनरावलोकन सम्म इतरपक्ष पुगे । कोर्ष करेक्सन अझै पनि नगरिए नेपाली कांग्रेस भविष्य अनिश्चित देखिन्छ ।
अझ अचम्म के देखिएको छ भने त्यही विशेष महाधिवशेनबाट निर्वाचित सभापति गगन थापाको हस्ताक्षरको ‘पार्टी टिकट’ बोकेर हाइप्रोफाइल नेता प्रक्रियालाई मानेर फाल्गुन २१ को निर्वाचनमा होमिए । तर, यतिबेला देखिएको तीनको विरोधले गम्भीर राजनीतिक तथा नैतिकताको प्रश्न उठाएको छ । अवसरवाद मनोवृत्तिको प्रतिविम्ब देखिन्छ । सङ्गठन हुलले नभई विधि र सिद्धान्तबाट चल्नुपर्छ भन्ने बुझाइमा कमजोरी पाइन्छ । राजनीतिक दुरदर्शीताको अभाव झल्कन्छ । तिनले समयको माग तथा परिवर्तनका लहर पहिचान एवम् स्वीकार गर्न नसक्नु एक लोकतान्त्रिक पार्टीका लागि विडम्बना हो ।
नेपाली कांग्रेसलाई लोकतन्त्रको पर्याय मानिन्छ । यो कमजोर अथवा विभाजित भएका अवस्थामा लोकतन्त्र धरापमा अपहरणमा परेका इतिहास छन् । निरकुंश शक्तिसँग सम्झौता नगरी अघि बढ्ने कांग्रेसको लोकतान्त्रिक चरित्र हो । राष्ट्रियता, लोकतन्त्र र समाजवाद यसको आदर्श हो । सामाजिक न्याय र मानव अधिकार यसको अभिन्न अंग हो । विधानले सदस्यलाई पार्टीभित्र सङ्घर्ष गर्ने छुट दिएको छ तर विभाजन होइन ।
अहिले कांग्रेसभित्र मूल प्रश्न उठिरहेको छ । कांग्रेस एक हुन्छ कि फुट्छ ? मात्र होइन, अझ कांग्रेसको भविष्य कस्तो हुन्छ ? कांग्रेस व्यक्तिको इच्छाले होइन, विधान र संस्थागत प्रक्रियाले चल्नुपर्छ । कांग्रेस भित्रको शक्ति सङ्घर्षलाई राष्ट्रिय राजनीतिक परिवेशबाट अलग गरेर हेर्न मिल्दैन । नेपालमा नयाँ राजनीतिक शक्तिको उदय, परम्परागत दलप्रतिको जनअसन्तुष्टी, युवाको राजनीतकि बैचेनी र राज्यप्रति घट्दो विश्वासले पुराना दलहरुलाई अस्तित्वगत चुनौती दिइरहेको छ । यस्तो अवस्थामा कांग्रेसभित्र देखिएको विभाजनले केवल मत विभाजन गर्दैन, यसले नयाँ राजनीतिक शक्तिलाई राजनीतिक रिक्तता भर्ने अवसर पनि दिन सक्छ ।
त्यसैले कांग्रेसको आन्तरिक एकता आज कांग्रेसको आन्तरिक एकता मात्र होइन, यो उसको राष्ट्रिय प्रतिस्पर्धात्मक अस्तित्वको प्रश्न पनि हो । पार्टी एकता भन्दै पुराना संरचना जस्ताको त्यस्तै जोगाउनु पनि पार्टी एकताको समाधान होइन । कांग्रेसलाई बचाउन एकता मात्र होइन, कांग्रेसलाई रुपान्तरण गर्ने एकताको खाँचो देखिएको छ ।
नेपाली कांग्रेसलाई राजनीतिक भविष्य दिनकालाई गुटलाई पार्टीभन्दा ठूलो बनाउने, व्यक्तिलाई संस्थाभन्दा शक्तिशाली बनाउने प्रवृतिको अन्त्य गरिनुपर्छ । व्यक्तिगत महत्वांक्षालाई सस्थागत अनुशासनभित्र राख्ने, पुस्तान्तरणलाई व्यवस्थित गर्ने, आन्तरिक लोकतन्त्रलाई व्यवस्थित गर्ने र राष्ट्रिय राजनीतिक अजेण्डामार्फत् जनविश्वास पुनर्निर्माण गर्ने विकल्प रोज्नु पर्छ ।
नेतृत्वको सबैभन्दा सुन्दर अन्त्य पदमा टाँसिन होइन, आफूभन्दा सक्षम पुस्तालाई विश्वास गरेर पुस्तान्तरण गरेपछि मात्र सम्भव हुन्छ । पुरानो पुस्तालाई सम्मान दिएर अभिभावकीय भूमिकामा राख्नु उपपुक्त हुन्छ । कांग्रेस भित्रको निकास पुरानालाई निषेध होइन, अनुभवको र ऐतिहासिक योगदानको संस्थागत संरक्षण र नेतृत्वको लोकतान्त्रिक पुस्तान्तरणको खाँचो छ । नयाँ नेतृत्वले पनि पुरानो शैलीको गुटगत राजनीतिक चेहराको पुनरावृृति ग¥यो भने उनीहरुले खोजेको राजनीतिक परिवर्तनको औचित्य समाप्त हुन्छ ।
अब नेपाली कांग्रेसले गौरवशाली इतिहासका गाथा सुनाएर चुनावमा आफ्नो पोल्टामा परिणाम ल्याउन सक्दैन बरु वर्तमानमा आशाको दियो र सुनौली भविष्य बोकेर जनताका पक्षमा अहोरात्र खट्न पर्छ । कांग्रेसले आफ्नो गुमेको विश्वास आर्जन गर्न आफ्नो राजनीतिक संस्कार लोकतान्त्रिक बनाउनुपर्छ । नेपालको वर्तमान राजनीतिक वातावरणमा कांग्रेसका नेताहरुले आफ्नै आन्तरिक विवादलाई राष्ट्रिय निराशाको अर्को कारण बन्न दिनु हुँदैन ।
जब–जब मुलुकमा अस्थिरता र सङ्कट देखा पर्छ, त्यसको राजनीतिक निकासको सेतु नेपाली कांग्रेस बन्दै आएको छ । यदि नेपाली कांग्रेसभित्र मत भेद र विखण्ड भयो भने देशलाई गम्भीर अवस्थाबाट बचाउने अर्को प्रतिस्पर्धी दलको सधै मुलुकलाई अभाव खट्किने रहन्छ । राष्ट्रको भविष्यलाई दाउमा राखेर कांग्रेस आन्तरिक उल्झनमा फस्न स्वभनीय देखिँदैन । वरिष्ठताको सम्मान गर्दै, पुस्ता अन्तरणको अधिकारलाई सुनिश्चत गर्दै कांग्रेस व्यक्तिको इच्छा र स्वार्थले होइन विधान र संस्थागत प्रक्रियाले चल्नेछ ।
कांग्रेस राजनीतिक रुपमा शक्तिशाली पार्टी हो भनी पुष्टी गर्नकै लागि भए पनि वर्तमान पार्टी भित्रको आन्तरिक विवादलाई लोकतान्त्रिक तवरले निकास दिनुपर्छ । कांग्रेस भित्रको शक्ति सङ्घर्षले राष्ट्रिय राजनीतिक परिदृश्यमै ठूला झड्का दिएको छ । परम्परागत दलप्रतिको असन्तुष्टीले नयाँ राजनीतिक शक्तिको उदय भएको हो । पुराना दलहरुको अस्तित्वगत चुनौती भइरहेको अवस्थामा कांग्रेस भित्रको विभाजनले केवल मत मात्र विभाजन नगरी नयाँ राजनीतिक शक्तिलाई रिक्तता भर्ने अवसर पनि दिनसक्छ । अहिले प्रमुख प्रति पक्ष दलमा कांग्रेस छ, यही शक्ति पनि चिरा–चिरा हुँदा बहुदलीय लोकतान्त्रिक व्यवस्थाको आधार नै कमजोर भइदिन्छ ।