आईटिएफ तेक्वान्दो च्याम्पियनसिपको मिति परिवर्तन, असोज ३ र ४ गते हुने

घोराही, ३१ साउन । दाङमा आयोजना हुने सातौँ खुला आईटिएफ तेक्वान्दो च्याम्पियनसिप–२०८३ को मिति परिवर्तन गरिएको छ । दाङ जिल्ला आईटिएफ तेक्वान्दो संघको आयोजनामा हुने प्रतियोगिता अब असोज ३ र ४ गते घोराहीमा सञ्चालन हुने भएको हो ।

यसअघि भदौ ६ र ७ गते प्रतियोगिता आयोजना गर्ने भनिएको थियो । प्राविधिक समस्या तथा वर्षायामका कारण खेलाडीलाई तयारी र आवतजावतमा समेत समस्या हुने भएपछि प्रतियोगिताको मिति परिवर्तन गरिएको दाङ जिल्ला आईटिएफ तेक्वान्दो संघका अध्यक्ष भीमबहादुर थापाले जानकारी दिए ।

‘अहिले वर्षाको समय भएकाले खेलाडीलाई तयारीसँगै आवतजावतमा समेत समस्या पर्ने देखिएपछि प्रतियोगिताको मिति परिवर्तन गरेका हौँ,’ अध्यक्ष थापाले भने, ‘प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीलाई नयाँ मितिअनुसार तयारीमा जुट्न आग्रह गर्दछौँ ।’

प्रतियोगितामा लुम्बिनी प्रदेशसहित अन्य प्रदेशका खेलाडीको समेत सहभागिता रहने अपेक्षा गरिएको अध्यक्ष थापाले बताए । प्रतियोगितामा विभिन्न उमेर तथा तौल समूहका खेलाडीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिताले तेक्वान्दो खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा नयाँ प्रतिभाको पहिचानमा सहयोग पुग्ने अध्यक्ष थापाले बताए । विजेता खेलाडीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।