नीति तथा कार्यक्रम पारित
दाङ, ६ जेठ । सरकारको नीति तथा कार्यक्रम बहुमतबाट पारित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको बैठकमा सांसदहरुले उठाएको सवालहरुको जवाफ दिएपछि सभामुख अग्निप्रसाद सापकोटाले नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरेका थिए । यसअघि सांसदहरुको सवालको जवाफ दिँदै प्रधानमन्त्री ओलीले नेपालको नयाँ नक्सालाई संविधानको अनुसूचिमा राख्नका लागि छिट्टै संविधान संशोधनको प्रक्रिया अगाडि बढाइने जानकारी दिएका छन् । उनले नेपाल र भारतबीच मित्रवत् सम्बन्ध रहेका र रहने चर्चा गर्दै त्यो सम्बन्ध न्यायपूर्णरुपमा हुने बिश्वास व्यक्त गरे । ‘भारतको आकार, जनसंख्या र उसको स्वरुप र हाम्रोबीचमा भिन्नता छ’, उनले भने– ‘तर यो विभिन्नता बीचमा पनि न्यायपूर्ण सम्बन्ध बनाउनुपर्दछ ।’ सांसदहरुले नयाँ नक्सा बनाएसँगै जमिन फिर्ता लिनका लागि भारतसँग प्रत्यक्ष कुटनीतिक वार्ता गर्न पनि प्रधानमन्त्रीलाई सुझाएका थिए । जवाफमा उनले भने– ‘छिट्टै संवाद पनि हुनेछ ।’ ओलीले भारतको राष्ट्रिय निशानमा लेखिएको ‘सत्य मेव जयते’ भन्ने वाक्य भारतलाई सोध्ने छु भन्दै भने– ‘अब हामीबीचको सम्बन्ध त्यही सत्य मेव जयतेको मान्यतामा हुनुपर्दछ, न कि सिंह मेव जयते ।’
प्रधानमन्त्री ओलीले भूमि फिर्ता ल्याउने कुरा त्यति सजिलो नभए पनि अब त्यसका लागि सिंगो राष्ट्र एकढिक्का भएर अगाडि बढ्नुपर्ने बताए । ‘फिर्ता ल्याउनुपर्छ, हामी ल्याउन सक्छौ’, उनले भने– ‘विगतका त्रुटिहरुमा टेकेर भन्दा पनि नयाँ परिवेशमा दुई देशबीचको सम्बन्ध सुमधुर बनाउनुपर्छ ।’ उनले चीनसँग पनि नेपाली अधिकारीहरुको कुरा भइरहेको जानकारी पनि संसदलाई दिएका छन् । प्रधानमन्त्री ओलीले कोरोनाबिरुद्ध लड्दा–लड्दै दुई जनाको ज्यान गएको त बताए, तर उनीहरुको मृत्युको कारण कोरोना मात्र नभएर अरु पनि हुनसक्ने आशंका गरे । ती मृत्युको कारण कोरोना नै भएको कुरा स्वीकार्न असहज मान्दै उनले भने– ‘विश्व स्वास्थ्य संगठनले मृतकमा कोरोना संक्रमण देखिएमा त्यही कारण मृत्यु भएको ठान्दछ, त्यसैले दुईजनाको मृत्यु कोरोनाले भएको मान्नुपर्छ ।’ कोरोना संक्रमण किट खरिदमा भ्रष्टाचारको कुरा मिडियाबाट आएको सन्दर्भमा उनले फेरि पनि आपत्ति जनाए । ‘त्यसमा बालुवाटार पनि जोडिएछ’, उनले भने– ‘त्यो मेरो काम पनि हैन, व्यापारसँग मेरो सरोकार पनि छैन म त राजनीति गर्ने मान्छे हुँ ।’ उनले ओम्नीको नामै नसुनेको बताउँदै त्यो सबै काम स्वास्थ्य विभागको डिजीमार्फत भएकोमा मिडियाले बालुवाटार जोडेको भन्दै गुनासो पनि गरे ।