दाङ, २८ साउन । नेपाल परिवार नियोजन संघ र संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोष (यूएनएफपीए) को संयुक्त आयोजनामा लुम्बिनी प्रदेशस्तरीय बृहत् यौनिकता शिक्षा (सीएसई) प्राविधिक कार्यसमूह बैठक भालुवाङमा भएको छ ।
शिक्षा तथा सामाजिक विकास निर्देशनालयका निमित्त महानिर्देशक हरिलाल अर्यालको अध्यक्षता तथा स्वास्थ्य मन्त्रालयका सचिव दुर्गालक्ष्मी श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको बैठकमा प्रदेशमा सञ्चालन भइरहेका बृहत् यौनिकता शिक्षा कार्यक्रमको प्रगति, उपलब्धि, चुनौती र आगामी कार्यदिशाका विषयमा छलफल भएको हो । बैठकमा विद्यालय स्वास्थ्य कार्यक्रम, युवा सूचना केन्द्रको प्रभावकारी व्यवस्थापन, प्रविधिको प्रयोगसँग सम्बन्धित लैङ्गिक हिंसा न्यूनीकरण, विद्यालयमा सुरक्षित वातावरण तथा किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा विस्तारका लागि आवश्यक अन्तरनिकाय समन्वयका विषयमा छलफल गरिएको थियो । नेपाल परिवार नियोजन संघ दाङ शाखाका शाखा प्रबन्धक बसन्त खनाल र यूएनएफपीए लुम्बिनी प्रदेश संयोजक राम थापाले प्रदेशका विभिन्न जिल्लामा सञ्चालन भइरहेका सीएसई कार्यक्रमको अवस्था, उपलब्धि तथा सिकाइबारे जानकारी गराउनुभएको थियो ।
उहाँहरूले बृहत् यौनिकता शिक्षाले किशोर–किशोरी तथा युवामा यौन तथा प्रजनन स्वास्थ्य, लैङ्गिक समानता, आत्मविश्वास र निर्णय क्षमता विकासमा सकारात्मक योगदान पु¥याइरहेको बताउनुभयो । कार्यक्रममा प्लान इन्टरनेसनलका सञ्जय शर्माले सुरक्षित बालिका परियोजनाअन्तर्गत सञ्चालन गरिएका बृहत् यौनिकता शिक्षासम्बन्धी गतिविधिबारे जानकारी दिनुभयो । शिक्षा तालिम केन्द्र, भैरहवाका प्रमुख हेमलाल खनाल र स्वास्थ्य तालिम केन्द्रका निर्देशक भुवन कुँवरले शिक्षक तथा स्वास्थ्यकर्मीको क्षमता विकास, तालिम र पाठ्यक्रममा बृहत् यौनिकता शिक्षालाई जोड्ने विषयमा प्रस्तुति दिनुभयो।
युवाको तर्फबाट शेष्मती मल्लाह, अम्बर फातिमा र मेनुका गैरेले बृहत् यौनिकता शिक्षाले विद्यालय तथा युवामा ल्याएको सकारात्मक परिवर्तनबारे आफ्ना अनुभव प्रस्तुत गर्नुभयो। सहभागीहरूले बृहत् यौनिकता शिक्षालाई विद्यालयको पाठ्यक्रममा थप प्रभावकारी रूपमा समावेश गर्नुपर्ने, युवामैत्री स्वास्थ्य सेवामा पहुँच विस्तार गर्नुपर्ने तथा स्थानीय तहमा सम्बन्धित निकायबीच समन्वय बढाउनुपर्नेमा जोड दिए । बैठकमा यूएनएफपीएको सहयोगमा भएको बृहत् यौनिकता शिक्षा प्रशिक्षक प्रशिक्षणबाट लुम्बिनी प्रदेशका पाँच जना प्रमाणित प्रशिक्षक तयार भएको जानकारीसमेत दिइएको थियो । आगामी दिनमा ती प्रशिक्षकलाई परिचालन गरी शिक्षक तथा अन्य सरोकारवालाको क्षमता विकास गर्ने विषयमा छलफल भयो ।
विद्यालय तथा स्वास्थ्य संस्थाबीच किशोरमैत्री सूचना तथा परामर्श केन्द्र र किशोरमैत्री स्वास्थ्य सेवाबीचको सम्बन्ध, युवाको स्थानीय तहमा अर्थपूर्ण सहभागिता, सुरक्षित स्थानको सुदृढीकरण तथा बृहत् यौनिकता शिक्षालाई स्थानीय शिक्षा योजना र बजेटमा समावेश गर्ने विषयमा पनि छलफल भएको थियो । बैठकले बृहत् यौनिकता शिक्षा कार्यक्रमलाई स्थानीय तहसँगको सहकार्यमा विस्तार गर्ने, विद्यालय तथा स्वास्थ्य संस्थाबीच समन्वय सुदृढ गर्ने, शिक्षक तथा स्वास्थ्यकर्मीको क्षमता विकास गर्ने र किशोर–किशोरी तथा युवाको अर्थपूर्ण सहभागिता बढाउने साझा कार्यदिशा तय गरेको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेशका शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास क्षेत्रका प्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी, युवा, सञ्चारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रमको समापनमा नेपाल परिवार नियोजन संघ दाङ शाखाकी सभापति माया कुमारी पोख्रेलले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै बृहत् यौनिकता शिक्षाको प्रभावकारी कार्यान्वयनका लागि निरन्तर सहकार्य र समन्वय आवश्यक रहेको बताएका थिए । नेपाल परिवार नियोजन संघ दाङ शाखाका शाखा प्रबन्धक बसन्त खनालले बृहत् यौनिकता शिक्षाले युवामा ज्ञानसँगै जिम्मेवार सोच, आत्मविश्वास र सुरक्षित व्यवहारको विकास गर्न सहयोग गरिरहेको बताउँदै यसलाई प्रदेश तथा स्थानीय तहको प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए ।