विद्यालय कर्मचारी परिषद् दाङको बैठक, महाधिवेशनको तयारीलाई तीव्रता

दाङ, २५ साउन । नेपाल विद्यालय कर्मचारी परिषद् दाङको जिल्ला कार्यसमितिको बैठकले संगठन सुदृढीकरणसँगै आगामी सातौँ महाधिवेशनको तयारीलाई तीव्रता दिने निर्णय गरेको छ ।

घोराहीस्थित बालविकास माध्यमिक विद्यालयमा आइतबार बसेको बैठक जिल्ला अध्यक्ष निमबहादुर ओलीको अध्यक्षता तथा परिषद्का केन्द्रीय समितिका सदस्य मिनेश श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो ।
बैठकले परिषद्को नवीकरण शुल्क एक हजार रुपियाँ निर्धारण गरेको छ ।

आगामी असोज ८ र ९ गते घोराहीमा आयोजना हुने परिषद्को सातौँ महाधिवेशनलाई व्यवस्थित, भव्य र सभ्य रूपमा सम्पन्न गर्न जिल्ला तथा पालिका कार्यसमितिसहित विभिन्न विभागलाई जिम्मेवारी बाँडफाँट गर्ने निर्णयसमेत गरेको छ । जिल्ला कार्यसमितिको कार्यसम्पादनलाई प्रभावकारी बनाउन सञ्चार विभाग प्रमुखमा प्रलाद आचार्य र संगठन विभाग प्रमुखमा पूर्णबहादुर विकलाई चयन गरिएको छ ।

बैठकले जिल्लाका विभिन्न पालिकाबाट जिल्ला कार्यसमितिमा सदस्यसमेत मनोनयन गरेको छ । मनोनित सदस्यमा घोराही उपमहानगरपालिकाबाट चन्द्र पुन र बसन्ता केसी, लमही नगरपालिकाबाट पुनम चौधरी, बबई गाउँपालिकाबाट हिरासिंह बोहरा, राप्ती गाउँपालिकाबाट तुल्सीराम पोख्रेल, बंगलाचुली गाउँपालिकाबाट प्रलाद आचार्य, शान्तिनगर गाउँपालिकाबाट उपेन्द्र खड्का र राजपुर गाउँपालिकाबाट दीपक नेपाली रहनुभएको छ ।

त्यसैगरी, परिषद् दाङको स्वामित्वमा रहेको माछापुच्छ्रे बैंक लिमिटेड घोराही शाखामा परिषद्को खाता सञ्चालन गर्ने निर्णय भएको छ । उक्त खाता जिल्ला अध्यक्ष निमबहादुर ओलीको अनिवार्य हस्ताक्षर तथा सचिव र कोषाध्यक्षमध्ये एक जनाको हस्ताक्षरबाट सञ्चालन हुने व्यवस्था गरिएको छ । बैठकले तप्तप्रसाद शर्मा, माधव पराजुली र लक्ष्मण चौधरीलाई परिषद् दाङको सल्लाहकार चयन गरेको छ ।बैठकले वर्तमान कार्यसमितिलाई सहयोग तथा मार्गदर्शन गर्दै आएका पूर्वकार्यसमितिका पदाधिकारी तथा सदस्यप्रति धन्यवाद ज्ञापन गरेको छ । साथै, आगामी दिनमा परिषद्को संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउँदै विद्यालय कर्मचारीका हकहितका विषयलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।