दाङ,२५ साउन । घोराही बनाउ अभियान र नेपाली जुत्ता घरबिच सम्झौता भएको छ । सम्झौता अनुसार विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोगसँगै विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भएको हो ।
२०८३ साउन २५ गते सोमवार घोराहीमा एक कार्यक्रममा गरि घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक त्रिलोचन खनालले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिपत्रअनुसार आर्थिक तथा सामाजिक रूपमा विपन्न अवस्थामा रहेका विद्यार्थीलाई आवश्यक सहयोग उपलब्ध गराउने, किसान तथा मजदुरका लागि सहयोग, अभिमुखीकरण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने छ ।
आर्थिक तथा सामाजिक रूपमा कमजोर अवस्थामा रहेका बालबालिका तथा ज्येष्ठ नागरिकलाई सहयोग तथा सम्मान गर्ने कार्यक्रम रहेको छ । विपन्न विद्यार्थीलाई अध्ययनमा प्रोत्साहन गर्ने, आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउने तथा उनीहरूको क्षमता विकासमा सहयोग गर्ने कार्यक्रमलाई प्राथमिकता दिने सहमतिमा उल्लेख छ । किसान तथा मजदुर वर्गको सम्मान, अधिकार, क्षमता विकास र आत्मनिर्भरतालाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गरिनेछ । प्राकृतिक विपद्, सामाजिक संकट वा विशेष परिस्थितिमा आवश्यकताअनुसार मानवीय सहयोग तथा राहतका कार्यमा समेत दुवै पक्षले सहकार्य गर्ने जनाइएको छ ।
घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासनले सामाजिक विकासका लागि सरकारी तथा गैरसरकारी संस्थासँगै निजी क्षेत्रको पनि महत्वपूर्ण भूमिका रहने बताए । विपन्न विद्यार्थी, किसान, मजदुर र ज्येष्ठ नागरिकका समस्या केवल व्यक्तिगत समस्या नभई समाजकै साझा जिम्मेवारी भएको भन्दै उनले सहकार्यबाट वास्तविक आवश्यकतामा रहेका नागरिकसम्म सहयोग पु¥याउने उद्देश्य रहेको बताए। उनले सहमति कागजमा सीमित नराखी व्यवहारमै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
नेपाली जुत्ता घर, घोराहीका सञ्चालक त्रिलोचन खनालले व्यवसायसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने मान्यताअनुसार अभियानसँग सहकार्य गरिएको बताए । उनले नेपाली उत्पादनका जुत्ताको बजार प्रवद्र्धन गर्ने गरि सहकार्य गरिएको बताए । नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीले सहमतिपत्रलाई सकारात्मक र सामाजिक उत्तरदायित्वसँग जोडिएको महत्वपूर्ण पहल भएको भन्दै विपन्न तथा आर्थिक समस्यामा रहेका नागरिकका लागि सञ्चालन गरिने यस्ता कार्यक्रमले समाजमा मानवीय सेवाको भावना बलियो बनाउने बताएका थिए । सहमति २०८३ साल साउन २५ गतेदेखि २०८३ साल चैत्र मसान्तसम्म कायम रहने भएको छ ।