लोकतन्त्र, मेलमिलाप र राष्ट्रिय एकता

बमबहादुर डिसी

लोकतन्त्र आधुनिक सभ्यताको सर्वाधिक स्वीकार्य राजनीतिक प्रणाली हो । तर लोकतन्त्रको वास्तविक अर्थ केवल निर्वाचन, सरकार गठन वा सत्ताको परिवर्तनमा सीमित छैन । लोकतन्त्र एउटा जीवनपद्धति, राजनीतिक संस्कार र नैतिक आचरण पनि हो । यसले नागरिकलाई स्वतन्त्रता, समानता, मानव अधिकार, विधिको शासन, उत्तरदायित्व र सहभागिताको प्रत्याभूति दिन्छ । जहाँ विचारको स्वतन्त्रता, असहमतिप्रतिको सम्मान, कानुनको समान प्रयोग र जनउत्तरदायी शासन हुन्छ ।

त्यहीँ लोकतन्त्रको सार्थक अभ्यास भएको मानिन्छ तर लोकतन्त्र जति अधिकारको विषय हो, त्यति नै जिम्मेवारीको विषय पनि हो । लोकतन्त्रलाई संस्थागत गर्न राजनीतिक सहिष्णुता, संवाद, सहकार्य र आपसी विश्वास आवश्यक हुन्छ । जब राजनीतिक प्रतिस्पर्धा प्रतिशोधमा बदलिन्छ, असहमतिलाई शत्रुताका रुपमा हेरिन्छ र राज्य संयन्त्रलाई दलगत स्वार्थको साधन बनाइन्छ, तब लोकतन्त्रको आधार कमजोर बन्छ । त्यसैले लोकतन्त्रको दीर्घकालीन सफलताका लागि राष्ट्रिय मेलमिलाप र राष्ट्रिय एकता अपरिहार्य आधार हुन् ।

राष्ट्रिय मेलमिलापको अर्थ विगतलाई बिर्सिनु वा अन्यायलाई स्वीकार गर्नु होइन । यसको वास्तविक अर्थ विगतका कटु अनुभवबाट शिक्षा लिएर भविष्यलाई सहकार्य, सहअस्तित्व र विश्वासको आधारमा निर्माण गर्नु हो । लोकतन्त्रमा प्रतिशोधभन्दा संवाद, घृणाभन्दा सहिष्णुता र विभाजनभन्दा सहकार्यको भावना नै राष्ट्रलाई स्थायित्वतर्फ लैजान्छ । नेपालको राजनीतिक इतिहासमा राष्ट्रिय मेलमिलापको सिद्धान्तलाई वैचारिक उचाइ प्रदान गर्ने महान् व्यक्तित्व विश्वेश्वरप्रसाद (बी.पी.) कोइराला हुनुहुन्थ्यो ।

उहाँले राष्ट्रिय हितलाई दलगत हितभन्दा माथि राख्नुपर्ने विचार अघि सार्नुभयो । उहाँको राष्ट्रिय मेलमिलापको अवधारणाले राजनीतिक प्रतिस्पर्धालाई समाप्त गर्ने होइन, बरु राष्ट्रिय स्वार्थका विषयमा सबै राजनीतिक शक्तिहरुबीच सहमति र सहकार्य निर्माण गर्ने मार्ग देखाएको थियो । राष्ट्र बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छ भन्ने उहाँको दृष्टिकोण आज पनि उत्तिकै सान्दर्भिक छ ।

नेपाल बहुभाषिक, बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक राष्ट्र हो । यही विविधता हाम्रो सभ्यता र पहिचानको शक्ति हो । विविधतालाई विभाजनको आधार बनाइयो भने राष्ट्रिय एकता कमजोर हुन्छ, तर समान सम्मान, समान अवसर र समान अधिकारका आधारमा विविधतालाई स्वीकार गरियो भने त्यही विविधता राष्ट्रको सबैभन्दा ठूलो सम्पत्ति बन्छ । राष्ट्रिय एकताको अर्थ सबै नागरिक एउटै विचारका हुनु होइन, बरु फरक–फरक विचार र पहिचानका बीच साझा राष्ट्रिय उद्देश्यमा एकताबद्ध हुनु हो ।

आज नेपाल अनेक राजनीतिक, आर्थिक र सामाजिक चुनौतीहरुको सामना गरिरहेको छ । राजनीतिक ध्रुवीकरण बढ्दो छ । जनतामा शासनप्रतिको विश्वास घट्दै गएको छ । सुशासन, पारदर्शिता, रोजगारी, आर्थिक विकास र सामाजिक न्यायका प्रश्न अझै समाधान हुन सकेका छैनन् । यस्ता चुनौतीहरुको समाधान केवल सरकार परिवर्तनले सम्भव हुँदैन । त्यसका लागि लोकतान्त्रिक संस्कार, राजनीतिक परिपक्वता, राष्ट्रिय सहमति र साझा उत्तरदायित्व आवश्यक हुन्छ । लोकतन्त्रको अर्को महत्त्वपूर्ण आधार विधिको शासन हो ।

कानुन सबैका लागि समान हुनुपर्छ । न्याय स्वतन्त्र, निष्पक्ष र विश्वसनीय हुनुपर्छ । राज्यका सबै निकाय संविधान र कानुनप्रति उत्तरदायी हुनुपर्छ । जब कानुन शक्तिशालीका लागि एउटा र सामान्य नागरिकका लागि अर्को हुन्छ, तब लोकतन्त्रको नैतिक आधार नै कमजोर हुन पुग्छ । त्यसैले लोकतन्त्रको रक्षा केवल संविधानले होइन, संविधानप्रतिको इमानदार प्रतिबद्धताले गर्दछ ।

विश्व इतिहासले पनि लोकतन्त्रलाई दिगो र सफल बनाउन राष्ट्रिय मेलमिलापको अपरिहार्यता प्रमाणित गरेको छ । यसको उत्कृष्ट उदाहरण दक्षिण अफ्रिका हो । दशकौँसम्म रंगभेदी नीतिका कारण गम्भीर रुपमा विभाजित समाजलाई लोकतान्त्रिक युगमा प्रवेश गराउँदा प्रतिशोधको राजनीति अपनाइएन । राष्ट्रपति नेल्सन मण्डेलाले विजयको उन्मादभन्दा राष्ट्रिय मेलमिलापलाई प्राथमिकता दिनुभयो । सत्यको उद्घाटन, न्यायको खोजी र सहअस्तित्वको भावनाका आधारमा अघि बढाइएको मेलमिलाप प्रक्रियाले दक्षिण अफ्रिकालाई गृहद्वन्द्वबाट जोगाउँदै लोकतन्त्रलाई संस्थागत गर्ने महत्वपूर्ण आधार प्रदान ग¥यो । यसले विश्वलाई एउटा सन्देश दियो—घृणाले घृणा बढाउँछ, तर संवाद र मेलमिलापले राष्ट्र निर्माण गर्छ ।

स्पेनको अनुभव पनि त्यत्तिकै प्रेरणादायी छ । लामो तानाशाही शासनपछि स्पेनले लोकतन्त्रको यात्रामा प्रवेश गर्दा राजनीतिक प्रतिशोधलाई होइन, राष्ट्रिय सहमति र सहकार्यलाई प्राथमिकता दियो । विभिन्न राजनीतिक शक्ति, राजसंस्था र नागरिक समाजबीच संवादको संस्कृति विकास गरियो । सन् १९७८ को संविधान व्यापक राष्ट्रिय सहमतिका साथ निर्माण भयो । त्यसपछि स्पेनले लोकतान्त्रिक संस्थाहरुलाई क्रमशः सुदृढ बनाउँदै राजनीतिक स्थिरता र राष्ट्रिय एकतालाई मजबुत बनायो । यसबाट स्पष्ट हुन्छ कि लोकतन्त्रको सफलता केवल संविधान लेखेर वा निर्वाचन गराएर प्राप्त हुँदैन; त्यसलाई टिकाइराख्न राजनीतिक संस्कार, सहिष्णुता र साझा राष्ट्रिय प्रतिबद्धता आवश्यक पर्दछ ।

यी अन्तर्राष्ट्रिय अनुभवहरुले नेपाललाई पनि महङ्खवपूर्ण शिक्षा दिन्छन् । नेपालको राजनीतिक इतिहास संघर्ष, आन्दोलन र परिवर्तनले भरिएको छ । विभिन्न कालखण्डमा भएका आन्दोलनहरुले राजनीतिक परिवर्तन त ल्याए, तर परिवर्तनलाई स्थायित्व दिने कार्य अझै पूरा हुन बाँकी छ । राजनीतिक दलहरुबीच अविश्वास, असहिष्णुता र अनावश्यक ध्रुवीकरणले लोकतन्त्रलाई कमजोर बनाउने जोखिम अझै कायम छ । यस्तो अवस्थामा राष्ट्रिय मेलमिलापको भावना केवल इतिहासको विषय होइन, वर्तमानको आवश्यकता पनि हो । लोकतन्त्रमा सरकार र प्रतिपक्ष प्रतिस्पर्धी हुन सक्छन्, तर राष्ट्रहितका प्रश्नमा उनीहरु सहयात्री हुनुपर्छ । निर्वाचनपछि विजेता र पराजितको मनोविज्ञानबाट माथि उठेर संविधान, राष्ट्रिय हित र जनताको आकांक्षालाई केन्द्रमा राख्ने राजनीतिक संस्कार विकसित हुन आवश्यक छ । असहमति लोकतन्त्रको स्वाभाविक पक्ष हो, तर असहिष्णुता लोकतन्त्रको शत्रु हो ।

राष्ट्रिय एकताको जिम्मेवारी केवल राजनीतिक दलहरुको मात्र होइन । नागरिक समाज, सञ्चारमाध्यम, शिक्षक, बुद्धिजीवी, युवा, महिला, श्रमिक, किसान तथा सम्पूर्ण नागरिकको पनि समान दायित्व हो । समाजमा घृणा, भ्रम र विभाजन होइन, विश्वास, सहकार्य र उत्तरदायित्वको वातावरण निर्माण गर्न सके मात्र लोकतन्त्रको वास्तविक लाभ जनतासम्म पुग्न सक्छ । आजको विश्वमा कुनै पनि राष्ट्र केवल प्राकृतिक स्रोत वा सैन्य शक्तिले मात्र बलियो हुँदैन ।

राजनीतिक स्थिरता, लोकतान्त्रिक संस्कार, सुशासन, राष्ट्रिय एकता र नागरिकको विश्वास नै राष्ट्रको वास्तविक शक्ति हो । नेपालजस्तो भूराजनीतिक दृष्टिले संवेदनशील मुलुकका लागि आन्तरिक एकता अझ बढी आवश्यक छ । राष्ट्रिय स्वार्थभन्दा माथि दलगत वा व्यक्तिगत स्वार्थलाई राख्ने प्रवृत्तिले दीर्घकालीन रुपमा राष्ट्रलाई कमजोर बनाउँछ । अन्ततः लोकतन्त्र, राष्ट्रिय मेलमिलाप र राष्ट्रिय एकता एकअर्काका पूरक मूल्य हुन् ।

लोकतन्त्रले नागरिकलाई अधिकार दिन्छ, मेलमिलापले समाजमा विश्वास निर्माण गर्छ र राष्ट्रिय एकताले राष्ट्रलाई स्थायित्व तथा शक्ति प्रदान गर्छ । यी तीनवटै आधारलाई सुदृढ बनाउन सके मात्र नेपालमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र राष्ट्रिय स्वाभिमानको संरक्षण सम्भव हुनेछ । हामी फरक विचार राख्न सक्छौँ, फरक रराजनीतिक दलमा आबद्ध हुन सक्छौँ, फरक भाषा बोल्न र फरक संस्कृति अपनाउन सक्छौँ । तर हाम्रो साझा पहिचान नेपाल हो, हाम्रो साझा जिम्मेवारी नेपालको भविष्य हो ।

त्यसैले लोकतन्त्रलाई जीवनपद्धति, राष्ट्रिय मेलमिलापलाई राजनीतिक संस्कार र राष्ट्रिय एकतालाई राष्ट्र निर्माणको आधारका रुपमा आत्मसात् गर्नु आजको सबैभन्दा ठूलो राष्ट्रिय आवश्यकता हो । यही मार्गले लोकतन्त्रलाई सुदृढ, राष्ट्रलाई एकताबद्ध र भावी पुस्तालाई सुरक्षित, समृद्ध र सम्मानित भविष्यतर्फ डो¥याउनेछ ।