बमबहादुर डिसी
नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा नेपाली कांग्रेस केवल एउटा राजनीतिक दल होइन, लोकतन्त्र, राष्ट्रियता, नागरिक स्वतन्त्रता र प्रजातान्त्रिक समाजवादको अग्रदूत हो । राणा शासनविरुद्धको संघर्षदेखि पञ्चायती व्यवस्थाको अन्त्य, २०४६ सालको जनआन्दोलन, २०६२÷०६३ को ऐतिहासिक जनआन्दोलन, शान्ति प्रक्रिया र संविधान निर्माणसम्म नेपाली कांग्रेसले निर्णायक भूमिका निर्वाह गरेको छ तर यति गौरवपूर्ण इतिहास बोकेको पार्टी आज आन्तरिक विभाजन, सङ्गठनात्मक कमजोरी, नेतृत्वबीचको अविश्वास र समयानुकूल पुनर्संरचनाको अभावका कारण चुनौतीपूर्ण अवस्थामा उभिएको छ । त्यसैले आजको सबैभन्दा ठूलो आवश्यकता नेपाली कांग्रेसको वृहत् एकता र सङ्गठनात्मक पुनर्संरचना हो ।
नेपाली कांग्रेसको इतिहास स्वयम् एकताको इतिहास हो । वि.सं. २००६ सालमा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसले आफ्नो अलग राजनीतिक अस्तित्वभन्दा राष्ट्र र लोकतन्त्रको हितलाई सर्वोपरि ठानी एकीकरण गरी नेपाली कांग्रेसको स्थापना गरेका थिए । यही एकताले राणा शासनविरुद्धको क्रान्तिलाई बल प्रदान गर्यो र २००७ सालको परिवर्तन सम्भव बनायो । इतिहासको यो अध्यायले स्पष्ट सन्देश दिन्छ– महङ्खवाकांक्षाभन्दा राष्ट्रिय उद्देश्य ठूलो हुन्छ, र विभाजनभन्दा एकताले ठूलो उपलब्धि दिन्छ ।
त्यसपछि पनि नेपाली कांग्रेसले अनेक उतारचढाव भोग्यो । विभिन्न समयमा वैचारिक मतभेद, नेतृत्वगत विवाद र विभाजन भए, तर प्रत्येक पटक पार्टी पुनः एकतामा फर्कियो । यही पुनर्मिलनको संस्कृतिले नेपाली कांग्रेसलाई नेपालको सबैभन्दा ठूलो लोकतान्त्रिक शक्तिका रुपमा स्थापित ग¥यो । इतिहासले प्रमाणित गरेको सत्य यही हो– जब नेपाली कांग्रेस एक भयो, लोकतान्त्रिक आन्दोलन बलियो भयो; जब विभाजित भयो, लोकतान्त्रिक शक्ति कमजोर बन्यो ।
यसको सबैभन्दा महङ्खवपूर्ण उदाहरण २०६२÷०६३ सालको जनआन्दोलन हो । तत्कालीन विभाजित नेपाली कांग्रेसका दुई धारबीच भएको पुनर्मिलन, विशेषतः गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाको राजनीतिक सहकार्यले लोकतान्त्रिक शक्तिलाई नयाँ ऊर्जा प्रदान गर्यो । त्यसले निरंकुश राजतन्त्रविरुद्धको आन्दोलनलाई व्यापक बनायो । यही राजनीतिक वातावरणमा माओवादी पनि शान्ति प्रक्रिया र जनआन्दोलनमा सहभागी भए । त्यसपछि विस्तृत शान्ति सम्झौता सम्भव भयो, संविधानसभाको निर्वाचन सम्पन्न भयो र अन्ततः नेपालको संविधान निर्माणको ऐतिहासिक प्रक्रिया सफलतापूर्वक अघि बढ्न सक्यो । यी घटनाक्रमले एउटा गहिरो सन्देश दिन्छन्– नेपाली कांग्रेसको एकता केवल पार्टीको विषय होइन, राष्ट्रिय राजनीतिक स्थिरताको आधार पनि हो ।
आजको राजनीतिक परिवेशमा नेपाली कांग्रेसप्रति जनअपेक्षा अझ बढेको छ । जनताले सुशासन, पारदर्शिता, आर्थिक समृद्धि, रोजगारी, सामाजिक न्याय र उत्तरदायी नेतृत्व खोजिरहेका छन् तर पार्टीभित्र गुटगत प्रतिस्पर्धा, व्यक्तिकेन्द्रित राजनीति र सङ्गठनात्मक निष्क्रियताले जनविश्वासमा असर पारेको छ । यदि पार्टीले समयको मागअनुसार आफूलाई रुपान्तरण गर्न सकेन भने इतिहासको गौरवले मात्र भविष्य सुरक्षित गर्न सक्दैन ।
बी.पी. कोइरालाले भन्नुभएको थियो, ‘लोकतन्त्र केवल शासन प्रणाली होइन, यो जीवन पद्धति हो ।’ त्यसैले लोकतान्त्रिक संस्कार सबैभन्दा पहिले पार्टीभित्र देखिनुपर्छ । विचारको सम्मान, संस्थागत निर्णय, आन्तरिक लोकतन्त्र, सहमतिको संस्कृति र कार्यकर्ताको सम्मानले मात्र नेपाली कांग्रेसलाई पुनः जनविश्वासको केन्द्र बनाउन सक्छ ।
आज पुनर्संरचनाको अर्थ केवल सङ्गठन विस्तार होइन; विचार, नेतृत्व, कार्यशैली र संस्कृतिको पनि पुनर्जागरण हो । वडा तहदेखि केन्द्रीय समितिसम्म संगठनलाई सक्रिय, अनुशासित, उत्तरदायी र परिणाममुखी बनाउनुपर्छ । युवाशक्ति, महिला, किसान, मजदुर, शिक्षक, व्यवसायी, बुद्धिजीवी, प्रवासी नेपाली तथा सबै सामाजिक वर्गको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्छ । योग्यतालाई अवसर, योगदानलाई सम्मान र कार्यसम्पादनलाई मूल्याङ्कन गर्ने संस्कार विकास गर्नु आजको आवश्यकता हो ।
नेपाली कांग्रेसको वैचारिक आधार प्रजातान्त्रिक समाजवाद हो । सामाजिक न्याय, आर्थिक समानता, नागरिक स्वतन्त्रता, राष्ट्रिय स्वाभिमान र लोकतान्त्रिक मूल्यहरुको सन्तुलित अभ्यास आज पनि उत्तिकै सान्दर्भिक छ तर विचार केवल दस्तावेजमा सीमित नभई व्यवहारमा देखिनुपर्छ । जनताको दैनिक जीवनसँग जोडिने नीति, सुशासनप्रति दृढ प्रतिबद्धता र नैतिक नेतृत्वले मात्र पार्टीको विश्वसनीयता पुनः स्थापित गर्न सक्छ ।
वृहत् एकताको अर्थ सबैलाई एउटै विचारमा सीमित गर्नु होइन । फरक मतलाई सम्मान गर्दै साझा उद्देश्यमा एकताबद्ध हुनु नै साँचो लोकतान्त्रिक संस्कृति हो । गुटभन्दा पार्टी ठूलो, पार्टीभन्दा लोकतन्त्र ठूलो र लोकतन्त्रभन्दा राष्ट्र ठूलो हो भन्ने भावना व्यवहारमा स्थापित गर्न सके मात्र नेपाली कांग्रेसले आफ्नो ऐतिहासिक भूमिका पुनः प्रभावकारी रुपमा निर्वाह गर्न सक्छ ।
आज नेपाली कांग्रेसलाई विगतको गौरव सम्झिने मात्र होइन, त्यसबाट शिक्षा लिने आवश्यकता छ । २००६ सालको ऐतिहासिक एकीकरण, विभिन्न विभाजनपछि भएका पुनर्मिलन, २०६२÷०६३ को जनआन्दोलन, शान्ति प्रक्रिया र संविधान निर्माणका अनुभवहरुले एउटै सन्देश दिएका छन्– एकताले उपलब्धि दिन्छ, विभाजनले अवसर गुमाउँछ ।
अन्ततः नेपाली कांग्रेसको भविष्य विभाजनमा होइन, वृहत् एकतामा छ; व्यक्तिकेन्द्रित राजनीतिमा होइन, संस्थागत नेतृत्वमा छ; पदको प्रतिस्पर्धामा होइन, विचारको पुनर्जागरणमा छ; र विगतको इतिहासमा रमाउने होइन, भविष्य निर्माण गर्ने साहसमा छ । यदि नेपाली कांग्रेसले आफ्नो गौरवशाली इतिहासबाट प्रेरणा लिँदै आत्मसमीक्षा, वृहत् एकता र संगठनात्मक पुनर्संरचनाको मार्ग अवलम्बन गर्न सक्यो भने उसले पुनः नेपाली जनताको पहिलो लोकतान्त्रिक आशाको केन्द्र बन्ने विश्वास गर्न सकिन्छ ।