भुपेन्द्र सुवेदी
नेपालको राजनीतिमा सफल असरफ नेपाली नेताको हातमा रहेन छ भन्नेमा दुई मत थिएन । सर्वप्रथम त नेपालको राजनीतिमा त्रिपक्षीय दबाब भइरहेको आवाज हामीले सुन्दै आएको विषय हो । त्यो हाम्रै आफ्नै कमजोरीको परिणाम हामीले स्वीकार्नुको विकल्प रहेन छ । किनभने हामीले हाम्रो आफ्नै देशको उत्पादकत्वले हामी आत्मनिर्भरताको बाटो पहिल्याउन नसक्नुको कारण र नेपालमा अरूसँग सिकेको सिपले हामी आफैँ आत्मनिर्भर हुन नसक्दा, हामीलाई हाम्रो देशको अकुत सम्पदाको सञ्चालनमा सक्रिय हुनै दिँदैन ।
भारतले हाम्रा कलकारखाना, उद्योग जे जति स्थापित थिए, ती सबै विस्थापित गराउने र नेपाललाई आफ्नो पकेटको मनीसरह गरी सञ्चालन गराउने कुटिल चाल चाल्दै आएको छ । भारतले यहाँको सम्पदाबाट उत्पादन, उद्योग, कलकारखानाहरु सफल हुनै नदिने रोडम्याप आजदेखिको होइन रहेछ, विगत नेपालका राणा शासक समेतलाई नै परिचालित गर्दै आएको हामी पुराना राजनीतिज्ञको इतिहास हेर्दा पाउँछौँ ।
जस्तै विपीको विद्रोहको लिखित इतिहासमा २००७ साल फागुन ७ गते राजाबाट राणासहितको अन्त्य र प्रजातन्त्रको घोषणा हुनु पर्ने, त्यसका लागि अङ्ग्रेजी मस्यौदा दिल्लीमै तयार गरिएको थियो भन्ने हामी यी इतिहासहरुमा पाउँछौँ । उक्त मस्यौदा नेपालीमा उल्था गर्नु पर्ने थियो । बिपीले भनेका छन्– ‘डेमोक्रेसीको अनुवाद गर्दा कसैले के भन्यो, कसैले के भन्यो; मैले लोकतन्त्र भन्न खोजेको थिएँ । ‘लोक’ मैले बिर्सिएँ, ‘गणतन्त्र’ भनेँ । सबैले ठिक छ, ठिक छ भने र त्यस घोषणामा ‘डेमोक्रेसी’को अनुवाद ‘गणतन्त्र’ हुन गयो ।’ त्यो गणतन्त्र भनेको ‘रिपब्लिक’ होइन । त्यहाँ एउटा कुरा फेरि भनिएको छ– जब यी भनाइ बाझिए भने अङ्ग्रेजी भनाइ नै कायम रहनेछ भनेर पास भएको छ ।
विपी कोइराला अनुसार, नेपालको इतिहासमा पहिलो पटक सत्ता हस्तान्तरणको समारोह हुँदै थियो । राणा र कांग्रेसका तर्फबाट पाँच–पाँच सदस्यलाई समावेश गरी मन्त्रिपरिषद् गठन हुँदै थियो । त्यसअघिका प्रधानमन्त्रीहरु अकालमा मारिएका वा धपाइएका थिए तर राणाशाहीको पतनपछि पनि सहमति बमोजिम मोहन शम्शेर प्रधानमन्त्री भए । कांग्रेसको नेतृत्व गर्दै गृहमन्त्री विपी दोस्रो वरीयतामा रहने तय भएको हो । तर, रक्षामन्त्री बबर शम्शेर विपीभन्दा तल्लो वरीयतामा बस्न तयार भएनन् । रैतीको छोराभन्दा तल बस्नुलाई उनी आफ्नो मानमर्दन ठान्थे । भइसकेको सम्झौता उल्ट्याई आफूलाई विपीभन्दा माथिल्लो वरीयतामा उकाल्न उनी अन्तिम बल लगाइरहेका थिए । आफूलाई दोस्रो स्थान छाडिदिन आग्रह गर्दै बबर भन्दै थिए– ‘तपाईँको बुबाको उमेरको मान्छे, दुनियाँसामु म तपाईँको तल कसरी बस्न सक्छु ? मेरो यति सम्मान जोगाइदिनुस् ।’
बबर शम्शेरको भनाइको आग्रहलाई इन्कार गर्दै विपी भनिरहेका थिए– ‘त्यसो गर्नु भनेको सम्झौता उल्लङ्घन गर्नु हो । त्यो म कुनै हालतमा गर्दिनँ ।’ राणाशासनको धङधङी छँदै थियो । सेनाको मार्च जारी रहँदा विपीलाई सम्झाउन बबरले अनेकौँ प्रयास गरे । बिपीको हात समातेर उनले भने– ‘हेर्नुस् विश्वेश्वर बाबु, म केवल इज्जतको निम्ति गरिरहेको छु । म बम्बई जान्छु, त्यसपछि तपाईँ नै हुनुहुन्छ । त्यति मलाई गरिदिनुस् ।’ बिपी कोइराला भन्नुहुन्थ्यो– सम्झौताबाट बाँधिएकाले मात्र मन्त्री पद स्वीकार गरेको भन्दै आफ्नो इज्जतका लागि कुरा सुनिदिन विपीसँग उनी आग्रह गरिरहेका थिए । अन्तमा बबरलाई वरीयता दिन विपी तयार भए । त्यतिञ्जेल मोहन शम्शेर आइपुगेका थिएनन् । उनको प्रतीक्षा भइरहेको थियो । मुलुकको इतिहासमा पहिलो पटक भव्य समारोहकाबिच सत्ता हस्तान्तरण हुँदै थियो ।
क्षणभरमै हातहतियारले सुसज्जित बिजुली गारदको कडा सुरक्षाबिच प्रधानमन्त्री नारायणहिटी दरबार आइपुगे । उनलाई देख्नासाथ राजा त्रिभुवन सशङ्कित भए । मोहनले षड्यन्त्र त गरेनन् भन्ने आशङ्का थियो उनलाई । श्री ३ को व्यक्तिगत सुरक्षाका लागि बनाइएको बिजुली गारद अहोरात्र प्रधानमन्त्रीलाई सुरक्षा दिने फौज थियो । शङ्का लागेमा जुनसुकै बेला तलासी लिने अधिकार उसलाई थियो । उसको काममा बाधा गर्नेलाई तत्काल हत्या गर्नेसम्मको अधिकार दिइएको थियो ।
त्यसैले बिजुली गारददेखि नडराउने कोही हुँदैनथ्यो । मोहन शम्शेर मोटरबाट ओर्लिएर समारोहस्थल जाँदासम्म बिजुली गारदले पुरै दरबार घेरिसकेको थियो । त्यो वातावरणका कारण राजा त्रिभुवन छटपटाएर चारैतिर पल्याकपुलुक नजर लगाउँदै थिए । बिजुली गारदलाई ‘बाज पल्टन’ पनि भनिन्थ्यो । र, यो पल्टन भीमसेन थापाले आफ्नो सुरक्षाका लागि माथवरसिंह थापाको नेतृत्वमा गठन गरेका थिए । पछि राणा प्राइममिनिस्टरको पनि यसैले सुरक्षा गथ्र्यो । त्यही पल्टनको आडमा कैयौँ भारदारहरुको हत्या गरी जंगबहादुरले सत्ता हत्याएका थिए ।
राजाको मुहारमा अचानक बदलाव देखेर भारतीय राजदूत सिपिएन सिन्हा समेत गम्भीर भए । ‘राजाको स्वास्थ्य अचानक बिग्रिएको त होइन ?’ जसलाई आशङ्का भयो । तर राजाले जब सिन्हाको कानमा प्रधानमन्त्रीको सुरक्षा दस्ताबारे जिज्ञासा राखे, तब मात्र घबराहटको रहस्य पत्ता लाग्यो । राजदूतले भने– ‘यो प्रधानमन्त्रीको सुरक्षा दस्ता हो । उनले सानसौकतका लागि ल्याएका हुन् । श्री ३ महाराजको हैसियतमा उनको यो अन्तिम सवारी हो, सरकारबाट चिन्ता मान्नुपर्दैन ।’
राजज्योतिषले तय गरेको सायतमा सपथको औपचारिक समारोह प्रारम्भ भयो । पुरानो प्रथा तोडिएर मुलुक नयाँ युगमा प्रवेश गर्दै थियो । राजालाई सलामी दिएपछि प्रधानमन्त्रीलाई दिइयो । श्री ३ का रुपमा मोहनको त्यो अन्तिम सलामी थियो । प्रधानमन्त्रीको सलामीमा राजा उठ्नु पर्ने थिएन, तर सलामी बज्ने वित्तिकै उनी उठे । त्यही समारोहमा राजा त्रिभुवनले आफ्ना जिजुबुबा श्री ५ सुरेन्द्रका तर्फबाट मुलुकको शासनभार श्री ३ जंगबहादुर राणाको परिवारलाई दिएको अधिकार फिर्ता लिएको घोषणा गरे । अनि अबउप्रान्त जनताले निर्वाचित गरेको एक वैधानिक सभाले तर्जुमा गरेको गणतान्त्रिक विधान अनुसार मुलुकको शासन सञ्चालन हुने पनि घोषणा गरे ।
राजाको घोषणापत्रमा लालमोहर लगाउने प्रक्रिया पूरा गरियो । अनि उनले प्रधानमन्त्री मोहन शम्शेरलाई सपथ गराए । प्रधानमन्त्री पदको सपथ लिने उनी मुलुककै पहिलो प्रधानमन्त्री बने । संसदीय व्यवस्था भएका मुलुकमा राष्ट्राध्यक्षले प्रधानमन्त्री र प्रधानमन्त्रीले मन्त्रीहरुलाई सपथ गराउने चलनअनुसार भएको हुन्छ । जसका विरुद्ध क्रान्ति गरेको हो, उसैको हातबाट कांग्रेसका मन्त्रीहरुले सपथ लिन नपरोस् भनेर राजाबाट अलग–अलग शपथ लिने व्यवस्था पहिलेदेखि नै मिलाइएको थियो । त्यसअघि सधैँ कुर्ता–सुरवाल र सेरवानी लगाउने विपी गृहमन्त्रीको सपथ लिँदा पहिलो पटक दौरा–सुरवालमा सजिएका थिए । आफ्नो नाम बोलाएपछि दुवै हात जोडेर टाउको निहुराउँदै उनले राजालाई नमस्कार गरे, अनि सपथ लिए । अब पालो आयो दरबारको तौरतरिका बुझेका सुवर्णको । उनले आधा शरीर नै झुकाएर राजाको दर्शन गरे ।
विपीले राजासामु टाउको झुकाएको समेत मन नपराएका गणेशमानलाई सुवर्णले आधा शरीर झुकाएको देख्दा त झन् कांग्रेसको इज्जतै गयो भन्ने भयो । त्यसैले आफ्नो पालामा उनी शिर र शरीर झुकिहाल्छ कि भनेर बढी नै सचेत थिए । राजासामु टाउको निहुराउँदा कांग्रेस र क्रान्तिको शिर झुक्छ भन्ने बुझाइ गणेशमानको थियो । गणेशमानले ठाडै दुवै हात जोडेर नमस्कार गरे र सपथ लिए । सपथ लिएपछि पनि पदबहाली कहाँ गर्ने ? अफिस कहाँ हुने ? केही थाहा थिएन । नेपालमा पहिलो पटक मन्त्री बनेकाले मन्त्रालय कहाँ रहन्छ, कसैलाई थाहा थिएन । राणाको हुकुमी शासन रहँदासम्म दरबारबाटै शासन चलेको थियो । काठमाडौँ पुरै खाली थियो; राणाका ठुला दरबार र तिनलाई घेरिएका भयानक पर्खाल मात्र देखिन्थे । प्रधानमन्त्री मोहन शम्शेर त सिंहदरबारमा बस्ने भएकाले उनलाई आफ्नो मन्त्रालय व्यवस्थापनको समस्या थिएन । राणा पक्षका सबै मन्त्रीको आआफ्नै घर थियो ।
विपी, भद्रकाली मिश्र र भरतमणि शर्माको काठमाडौँमा घर थिएन । आफ्नै बासको ठेगाना नभएका मन्त्रीहरुले कता मन्त्रालय राख्नु ? कांग्रेसका मन्त्रीमा सुवर्ण र गणेशमान बाहेक कसैको घर थिएन । सुवर्णले आफ्नै भव्य दरबार ललिता निवासमा मन्त्रालय राखे । संयुक्त परिवारमा रहेका गणेशमानको घरमा कोठा अपुग थियो, मन्त्रालय घरमै राख्न सम्भव थिएन । त्यसमाथि पार्टीका साथीहरु पाहुना लागिरहन्थे । त्यो बेला काठमाडौँमा होटेल थिएनन् । मन्त्रीहरुले घरका छिँडीमा मन्त्रालय स्थापना गरे । गणेशमानले भनेका छन्– ‘छिँडीमा आधुनिक नेपालको प्रजातान्त्रिक प्रशासन यन्त्रको जन्म भएको थियो ।’ झट्ट सुन्दा धेरैलाई पत्यार नलाग्ने र अचम्म मान्ने विषय हुन सक्छ । त्यो अवस्थाका कर्मचारीहरुले पनि गल्ली–गल्लीमा मन्त्रालयका घर खोजेर अफिस धाउने गर्नुपरेको थियो । टेबुल–कुर्सीको अभावमा सचिवहरु चकटीमा आसन जमाएर निगालोको कलम मसीदानीमा चोपेर नेपाली कागजमा टिप्पणी उठाउने गर्दथे भन्ने यो इतिहासमा उल्लेख गरिएको छ ।
आजका नेताहरुले आजको समयमा हिजोको त्यो कहाली लाग्दो राजनीतिक आवरणमा कसरी आफ्नो जिम्मेवारी पूरा गरे होलान् ? यो विगतलाई वर्तमानले सबै भुलेको कारण आज देशमा राष्ट्रिय सङ्कट आइलाग्यो भन्दा फरक छैन । किनभने हिजोको पुस्ताले जस्तो आजको पुस्ताले दुख–कष्ट भोग्नुपरेको छैन । त्यो दुख–कष्ट भोग्नु पर्ने भए आजको युवा जमातले राजनीति नै गर्ने थिएनन् होला ? किनभने आज राजनीति गर्न र राजनीतिक पार्टीको एउटा सदस्य लिए पुग्छ, तर कुनै समस्या छैन ।
अझ भन्नुपर्दा धनको बलियो मात्र नभएर ताकतको बलियोको धेरै मान्छे, जसलाई कुनै राजनीतिक पार्टीको सिद्धान्त र नैतिकतासँग मतलब हुँदैन र त्यहीको परिणाम आज यहाँ छ, भोलि कहाँ छ, जो जसले प्रयोग गर्दा पनि हुने भयो । यस्तो संस्कारले बिग्रिएको नेपालको राजनीतिले आज यो दुर्दशा देखिएको छ । आज हिजो सँगसँगै हातेमालो गरेको, विगत भूमिगत अवस्थामा कष्ट काटेका नेताहरुले समेत विगतलाई भुलिदिए र आज नयाँ एकदिने साथी पाए भन्दैमा हिजो जिन्दगीभरि भोकैनाङ्गै बनपाखा चाहारेका साथीको साथ छोड्दाको कारण आजको राजनीति, नेपालको अवस्था संसारले धिक्कारेको अवस्था छ ।
नयाँ नयाँ व्यवस्थाले राष्ट्र र राष्ट्रियता, नेपाली जनताको सामु आमुल परिवर्तन गर्छौँ भन्ने विभिन्न पार्टीका नेता, परिवर्तनकारी भजनले आजित भएको देशका कुनामन्दरामा आज पनि एउटा सिटामोलको खाँचो भएको थाहा नपाउने स्थान पनि छन् । त्यस्ता दुर्गममा कहर काटेका नागरिकको नाममा आएको खाद्यसमेत फर्किएर काठमाडौँको भक्तपुर जाँदै गर्दा सुर्खेतबाट नियन्त्रणमा लिनुपरेको कथा–कहानी, दुर्गम क्षेत्रका प्रदेश सभासद, गाउँपालिका अध्यक्षहरुको लाजमर्दो खेल, सरकारी गाडीमा घास बोकेको तस्बिर प्रचारमा आउनु; यति सुविधाभोगी आफू मात्र हुनु र जनताको अपमान गर्नु कत्तिको राम्रो होला ?
त्यसैले नयाँ विचार, नयाँ व्यवस्थाको परिपाटीसँग दाँज्नका लागि हिजोको पुरानो दुखकष्ट काटेर राणाहरुसँग लडेर प्राप्त प्रजातन्त्र घडी कसले, घडी कसले खोसिरहँदासम्म हाम्रा नेताहरु भारतले के भन्छ र चीनले के भन्छ, त्यही बाटोमा लागेका कारण यो अन्यत्रबाट सिकेको राजनीतिक शिक्षाले नेपाललाई थला पारेको पार्यै छ । अब त कमसेकम आफैँ आफ्नो बलबुतामा बाँच्न सिक, अरुको सिको नगर र मात्र आफ्नै पौरखले आफ्नै देशको साग, सिस्नो, ढिँडो खाएर बाँच्न सिक । हिजोका पुर्खाले दिएको शिक्षाको अनुशरण गरौँ । आजको नेपालको बालेन शाह सरकारले यो पुरानो इतिहास अवलम्बन गर्ने कि नगर्ने ? अब कसको पछि लाग्ने ? स्वयम् आफ्नो देशको राजनीतिक व्यवस्था आफैँ सुधार्दै विगतलाई नियाल्दै आजको अवस्था बुझेर काम गर्नु आवश्यक होला । अब पनि भारतले के भन्छ र जे भन्छ त्यहीको पछि लाग्नु महाभुल हुनेछ ।