भारतीय मजदुरको गुनासो : ‘हामी घर जान चाहन्छौं’

लिलाधर वली
दाङ, ६ बैशाख । भारतको रुपैडिहा निवासी मुन्ना खान घोराही उपमहानगरपालिका–१७ मा रहेको मनकामना इटा उद्योगमा मजदुरी काम गर्छन् । त्यही मजदुरी गरी आएको पैसाले घर व्यवहार चलाउदै आएका थिए । तर यो बर्ष विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामरीका कारण उद्योग बन्द भएपछि करिव दुई महिनादेखि काम विहिन बनेका छन् ।

उद्योग बन्द भएर काम विहिन बनेका मुन्ना घर जान चाहिरहेका छन् । तर उनलाई स्थानीय प्रशासनले घर जान दिएको छैन । एक घर जाने भनेर हिडेका थिए तर दाङ र बाँके जिल्लाको सिमा क्षेत्रबाट स्थानीय प्रशासनले जान नपाइने भन्दै फर्कायो । सिमा क्षेत्रबाट फर्किएका मुन्ना घर जानु पाउनुपर्ने भन्दै इटा उद्योगमै आन्दोलनमा छन् ।

मंगलबार विहान आन्दोलनमा उत्रिए मुन्नालगायतका भारतीय मजदुरीको माग रहेको घर फिर्ता जानपाउनुपर्ने । ‘मोदी सरकार, हमे घर ले जाओ’ लेखिएको कार्ड छात्तिमा टासेर इटा उद्योगमै आन्दोलनमा उत्रिएका मुन्नाको सरकारलाई एउटै प्रश्न छ–‘भारतमा रहेका नेपाली ल्याउँदा नहुने जोखिम, हामीलाई घर पठाउँदा कसरी जोखिम हुन्छ ?’ तर उनको प्रश्न न त स्थानीय प्रशासनले सुनेको छ न जनप्रतिनिधिहरु लै सुनेका छन् ।

उद्योग बन्द रहँदा ठूलो संख्यामा रहेका मजुदरलाई खान बस्न समस्या भएको घोराही उपमहानगरपालिका–१२ मा रहेको गोल्ड इटा उद्योगमा कार्यरत अर्का मजदुर तिलकराम चौहानले बताए । लामो समयसम्म इटा उद्योग बन्दा हँुदा साहुले रासन दिनै छोड्न थालेको उनी बताउँछन । ‘उद्योगमा काम नहुँदा, खान बस्न समस्या भएको छ’–उनले भने–‘घर जान पाए खान बस्ने समस्या हुने थिएन ।’ इटा उद्योगमा भोक–भोकै मर्नुभन्दा घर जान पाए आफुहरुलाई सजिलो हुने उनी बताउँछन । ‘बर्खा लाग्ने थाल्यो यहाँ अव काम छैन, पानी पर्न थालेपछि हामीहरुलाई झन समस्या हुन्छ’–उनले भने–‘त्यसैले अहिले घर जान पाए, राम्रो हुने थियो ।’ उनले सरकारले आफूहरुलाई घर जान पनि नदिने र खान पनि नदिएर भोक–भोकै मार्न थालेको समेत बताए । ‘काम चल्दैन, काम नहँुदा साहुले पैसा दिदैन’–उनले भने–‘पैसा नहँुदा भोक–भोकै दिन काट्नुपर्ने बाध्यता छ ।’

अहिले उनीहरु जस्तै दाङका इटा उद्योगमा काम गर्ने करिव ६ देखि ७ हजार भारतीय मजदुरहरु समस्यामा परेको दाङ देउखुरी इटा व्यवसायी समितिका अध्यक्ष रोम वलीले जानकारी दिएका छन् । लकडाउनका कारण इटा उद्योग बन्द भएपछि काम विहिन भएका मजदुरहरुलाई घर पठाउन आफूहरुले चाहेपनि स्थानीय प्रशासनले सहयोग नगर्दा मजदुरहरु समस्या परेको बताए । ‘लामो समयसम्म उद्योग बन्द हुँदा मजदुरहरुलाई खान बसाल्नै समस्या भएको छ’–अध्यक्ष वलीले भने–‘भारतीय मजदुरलाई फिर्ता पठाउनका लागि जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारीसँगै भारतीय राजदुतावासलाई अनुरोध गरेपछि कसैले चासो दिएका छैनन् ।’

जिल्ला प्रशासन कार्यालय, जनप्रतिनिधिहरुले सहयोग नगर्दा कतिपय मजदुरहरु भागेर समेत इण्डिया जान थालेको उनले बताए ।