घोराही, १५ साउन । दाङमा सातौँ खुला आईटिएफ तेक्वान्दो च्याम्पियनसिप–२०८३ हुने भएको छ । दाङ जिल्ला आईटिएफ तेक्वान्दो संघको आयोजनामा भदौ ६ र ७ गते घोराहीमा प्रतियोगिता हुने भएको हो ।
दाङ जिल्ला आईटिएफ तेक्वान्दो संघका अध्यक्ष भीमबहादुर थापाका अनुसार प्रतियोगितामा लुम्बिनी प्रदेशसँगै अन्य प्रदेशका खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको छ । प्रतियोगितामार्फत तेक्वान्दो खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा नयाँ प्रतिभाको पहिचान गर्न सहयोग पुग्ने विश्वास गरिएको अध्यक्ष थापाले बताएका छन् ।
प्रतियोगितामा विभिन्न उमेर समूह तथा तौल समूहका खेलाडीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । विजेता खेलाडीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । भदौमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी अघि बढाइएको अध्यक्ष थापाले जानकारी दिएका छन् ।