तुलबहादुर कवँर मगर
दाङ, १३ साउन । दाङको राप्ती गाउँपालिका–५ कालापानीस्थित राप्ती आधारभूत अस्पतालले ७० वर्षमाथिका जेष्ठ नागरिक तथा असहाय–बेसहारा नागरिकलाई निःशुल्क उपचार सेवा सुरु गरेको छ ।
स्वास्थ्य सेवामा आर्थिक अवस्था बाधक नबनोस् भन्ने उद्देश्यले अस्पतालले चिकित्सकको परामर्श, स्वास्थ्य परीक्षण, आवश्यक औषधि र आधारभूत उपचार निःशुल्क उपलब्ध गराइरहेको जनाएको छ । राप्ती आधारभूत अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुशील केसीले उपचार खर्चका कारण कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस भन्ने उद्देश्यले सेवा सञ्चालन गरिएको बताए । उनका अनुसार आवश्यक परेका बिरामीलाई थप उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्थासँग समन्वय गरि रिफर गर्ने गरिएको छ ।
राप्ती गाउँपालिकाका अध्यक्ष तथा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश विष्टले स्थानीय सरकारले स्वास्थ्य सेवालाई नागरिकको घरआँगनसम्म सहज रूपमा पहुँचयोग्य बनाउने लक्ष्यका साथ कार्यक्रम अघि बढाइरहेको बताएका छन् ।
गाउँपालिकाले पालिकाभित्रका ७० वर्षमाथिका जेष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला, अपाङ्गता भएका ‘क’ र ‘ख’ वर्गका नागरिक, सडक दुर्घटनाका घाइते तथा बेसहारा नागरिकका लागि निःशुल्क एम्बुलेन्स सेवा पनि उपलब्ध गराउँदै आएको छ ।
राप्ती आधारभूत अस्पतालमा राप्ती गाउँपालिकाका बासिन्दासँगै छिमेकी स्थानीय तह र अन्य जिल्लाबाट समेत दैनिक रूपमा बिरामी उपचारका लागि आउने गरेको अस्पताल प्रशासन प्रमुख पृथ्वी पौडेलले जानकारी दिएका छन् । अस्पतालले नियमित ओपीडी, आकस्मिक सेवा, प्रयोगशाला, एक्सरे,फार्मेसीलगायत आधारभूत स्वास्थ्य सेवा सञ्चालन गर्दै आएको छ ।
गाउँपालिकाले स्वास्थ्य क्षेत्रको पूर्वाधार विस्तार, आवश्यक जनशक्ति व्यवस्थापन र सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राखेको जनाएको छ ।