भरत विश्वकर्मा
कहिलेकाहीँ जीवनमा आउने केही जिम्मेवारीहरु केवल काममा मात्र सीमित रहदैनन्, ती अनुभवका विद्यालय पनि बन्छन् । केही समयअघि मैले राष्ट्रिय आर्थिक गणनामा गणनाकर्मीका रुपमा काम गर्ने अवसर पाए । लामो समयको मेहनत, निरन्तरको दौडधुप, अनेकन चुनौती र अनगिन्ती अनुभवपछि अन्ततः यो जिम्मेवारी पूरा भएको छ । काम सकिएपछि मनमा एउटा गहिरो सन्तुष्टि छाएको छ । यो सन्तुष्टि केवल एउटा जिम्मेवारी सम्पन्न गरेको मात्र होइन, नयाँ ज्ञान, अनुभव, सीप र आत्मविश्वास हासिल गरेको अनुभूतिबाट आएको हो ।
पत्रकारितामा आबद्ध भएकाले म प्रायः समाजका विविध पक्षहरु समाचारका माध्यमबाट हेर्ने र बुझ्ने प्रयास गर्छु । तर आर्थिक गणनाले मलाई समाजलाई अझ नजिकबाट हेर्ने, सुन्ने र बुझ्ने अवसर दियो । समाचारका लागि केही व्यक्तिसँग भेटघाट गर्नु र हरेक घरदैलोमा पुगेर उनीहरुको आर्थिक, सामाजिक तथा व्यावसायिक अवस्थाबारे विस्तृत जानकारी लिनु बिच ठुलो अन्तर हुँदो रहेछ । यस यात्राले मलाई नेपालको वास्तविक आर्थिक र सामाजिक अवस्थासँग प्रत्यक्ष साक्षात्कार गरायो । यो मेरो लागी ठुलो सौभाग्य हो । गणनाको अवधिमा म करिब ४ सय २३ व्यावसायीक प्रतिष्ठानहरुमा पुगेको रहेछु । रोल्पा जस्तो दुर्गम गाउँमा व्यावसाय सञ्चालन गरेर बसेका व्यावसायीहरुको अनेकन दुख पिडाहरुसँग साक्ष्यत्कार हुने ठुलो अवसर मिल्यो मेरो लागि ।
गणनाको क्रममा मैले धेरै घरपरिवारमा पुग्ने अवसर पाएँ । कतै बिहानैदेखि खेतबारीमा काम गरिरहेका किसान भेटिए, कतै विदेशिएका छोराछोरीको पर्खाइमा बसेका वृद्ध आमाबुबा । कतै सानो व्यवसाय गरेर परिवार धानिरहेका उद्यमी भेटिए भने कतै रोजगारीको अभावमा संघर्ष गरिरहेका युवाहरु । कसैको जीवनमा आशा थियो, कसैको जीवनमा निराशा । तर सबैको कथा फरक थियो, र ती कथाहरुले नेपालको समाज र अर्थतन्त्रको वास्तविक चित्र देखाइरहेका थिए । व्यावसायीहरुको बास्तविक अवस्था राम्रोसँग चित्रण गर्न पाएँ ।
पत्रकारका रुपमा समाचार लेख्दा हामी तथ्य र प्रमाणको खोजी गर्छौँ तर आर्थिक गणनाले तथ्याङ्कको वास्तविक महत्व अझ गहिरोसँग बुझाइदियो । एउटा सही तथ्याङ्कले नीति निर्माणको आधार तयार गर्छ भने एउटा त्रुटिपूर्ण विवरणले गलत निष्कर्ष निकाल्न सक्छ । त्यसैले प्रत्येक उत्तरदाताको भनाइलाई ध्यानपूर्वक सुन्ने, सही रुपमा अभिलेख गर्ने र कुनै अनुमान नगरी तथ्यमा आधारित विवरण संकलन गर्ने जिम्मेवारी निकै महत्वपूर्ण रहेछ ।
यो कामले धैर्यको परीक्षा पनि लियो । कतिपय घरमा पहिलो पटक जाँदा मानिस भेटिएनन् । फेरि दोस्रो, तेस्रो पटक पुग्नुप¥यो । कतिपयले सुरुमै जानकारी दिन हिच्किचाए । कसैले सरकारी प्रक्रिया भनेर डर माने, कसैले व्यक्तिगत विवरण किन चाहियो भनेर प्रश्न गरे । त्यस्ता अवस्थामा संयमता, विनम्रता र स्पष्ट संवाद नै सबैभन्दा ठुलो माध्यम बन्न पुग्यो । विश्वास जितेपछि धेरैले खुलेर सहयोग गरे । यसले मलाई जुनसुकै क्षेत्रमा पनि विश्वास निर्माण सबैभन्दा ठुलो पुँजी हो भन्ने पाठ पुनः स्मरण गरायो ।
आर्थिक गणनाको अर्को महत्वपूर्ण पक्ष भनेको समाजलाई नजिकबाट पढ्ने अवसर हो । हामी धेरैजसो आर्थिक विकासका कुरा गर्छौँ, रोजगारीका कुरा गछौँ, उद्यमशीलताका कुरा गछौँ । तर ती विषयहरुको वास्तविक अवस्था गाउँ गाउँ र बस्ती बस्तीमा पुगेर मात्र बुझ्न सकिँदो रहेछ । धेरै परिवार अझै परम्परागत कृषि प्रणालीमै निर्भर छन् । कतिपयले वैदेशिक रोजगारीबाट आएको आम्दानीले घर धानेका छन् । कतिपयले साना व्यवसाय सुरु गरेर आत्मनिर्भर बन्ने प्रयास गरिरहेका छन् । यी सबै कुराहरु केवल गणनाको विषयमा मात्र पक्कै होइनन्, भविष्यको नीति निर्माणका आधार पनि हुन् ।
त्यसैले मैले आर्थिक गणनको अवधिमा सक्दो मेहनत गरे । केवल तथ्याङ्को लागि मात्र काम नगरी कतिपय व्यावसायीहरुसँग त केही समय मिलाएर संवाद पनि चल्यो । व्यावसायीका अनेकन गुनासाहरु, सुझाबहर छन्, त्यसलाई पनि बुझ्न पाएँ । मेरो अर्को परिचय पत्रकारको हो म विगत ३ वर्षदेखि पत्रकारिता पेशामा छु । म रोल्पाको रेडियो मालश्री र कारोबार दैनिकसँग आबद्ध भएर आर्थिक तथा विकासका विषयमा समाचार सम्प्रेषण गर्दै आएको छु ।
आर्थिक गणनामा सहभागी भएपछि मैले महसुस गरेको छु, अब समाचार लेख्ने मेरो दृष्टिकोण पहिलेभन्दा फरक हुनेछ । किनभने अब मैले तथ्याङ्कको मूल्य केवल कागजमा होइन, प्रत्यक्ष जीवनमा देखेको छु । एउटा प्रतिशतको पछाडि हजारौँ परिवारको कथा लुकेको हुन्छ । एउटा तथ्याङ्कले एउटा गाउँको अवस्था बोलिरहेको हुन्छ । एउटा विवरणले भविष्यको योजना निर्धारण गरिरहेको हुन्छ । त्यसैले अब समाचार तयार गर्दा म तथ्याङ्कलाई अझ जिम्मेवारीका साथ प्रयोग गर्नेछु भन्ने विश्वास छ ।
आर्थिक गणनाको यो यात्रामा चुनौतीहरु पनि कम थिएनन् । कहिले लामो दूरी पैदल हिँड्नुप¥यो, कहिले वर्षात्को मौसमसँग जुध्नुप¥यो । कतिपय ठाउँमा मोबाइल नेटवर्कको समस्या थियो । प्रविधिसँग सम्बन्धित केही कठिनाइहरु पनि आए । तर प्रत्येक चुनौतीले नयाँ समाधान सिकायो । कठिन परिस्थितिमा पनि जिम्मेवारीबाट पछि नहट्ने बानी विकास गरायो । कहिलेकाहीँ थकानले शरीर गले पनि नागरिकको सहयोग र आत्मीय व्यवहारले पुनः ऊर्जा थपिदियो ।
गणनाको क्रममा मैले एउटा महत्वपूर्ण कुरा महसुस गरेँ हामीले सङ्कलन गर्ने प्रत्येक विवरण कुनै औपचारिक कागजातका लागि मात्र होइन, देशको भविष्यका लागि पनि हो । राज्यले कहाँ लगानी गर्ने, कुन क्षेत्रमा रोजगारी सिर्जना गर्ने, उद्योग कहाँ विस्तार गर्ने, कृषि उत्पादन कसरी बढाउने, कुन क्षेत्र पिछडिएको छ भन्ने निर्णय यस्ता तथ्याङ्ककै आधारमा गर्छ । त्यसैले गणकको जिम्मेवारी केवल फाराम भर्ने होइन, देशको विकास यात्राका लागि विश्वसनीय आधार तयार गर्ने पनि हो ।
यस अवधिमा मैले भेटहुने मानिसहरुबाट धेरै कुरा सिकेँ । औपचारिक शिक्षा र व्यवहारिक ज्ञानबीचको अन्तर पनि अनुभव गरेँ । कतिपय अशिक्षित व्यक्तिहरुको जीवनप्रतिको बुझाइ, श्रमप्रतिको सम्मान र संघर्ष गर्ने क्षमता प्रेरणादायी लाग्यो । अर्कोतर्फ, शिक्षित भए पनि अवसरको अभावमा संघर्ष गरिरहेका युवाहरुको पीडा पनि नजिकबाट देख्न पाएँ । आर्थिक गणना सम्पन्न भएपछि धेरैले ‘काम सकियो’ भन्ने भाव व्यक्त गर्लान् । तर मेरो लागि यो अन्त्य होइन, नयाँ सुरुआत हो । यस यात्राले मलाई समाजलाई अझ नजिकबाट बुझ्ने दृष्टि दिएको छ । तथ्याङ्कलाई सम्मान गर्ने संस्कार दिएको छ । नागरिकसँग संवाद गर्ने कला सिकाएको छ । कठिन परिस्थितिमा पनि जिम्मेवारी पूरा गर्ने आत्मविश्वास दिएको छ । यी सबै कुरा मेरो जिवन यात्रामा अमूल्य सम्पत्ति बन्नेछन् ।
म यो अवसरका लागि सम्बन्धित निकाय, प्रशिक्षक, सुपरिवेक्षक, सहकर्मी तथा सबै उत्तरदाताप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु । विशेष गरी आफ्ना व्यक्तिगत काम छाडेर समय दिएर सही सूचना उपलब्ध गराउने नागरिकहरु नै यस अभियानका वास्तविक साझेदार हुन् । उहाँहरुको सहयोगबिना कुनै पनि राष्ट्रिय गणना सफल हुन सक्दैन ।
अन्त्यमा, एउटा कुरा ढुक्कसँग भन्न सक्छु, आर्थिक गणनाले मलाई केवल एउटा कामको अनुभव मात्र दिएको छैन, जीवन बुझ्ने दृष्टि दिएको छ । पत्रकारितामा तथ्य र सत्यको खोजी गर्ने मेरो यात्रालाई यसले अझ बलियो बनाएको छ । मेहनत गरेर पूरा गरिएको हरेक जिम्मेवारीले मानिसलाई परिपक्व बनाउँछ । आर्थिक गणना पनि मेरो जीवनको त्यस्तै एउटा अध्याय बन्यो, जसले मलाई सिकायो, देश बुझ्न नक्सा हेर्नु मात्र पर्याप्त हुँदैन, घर घर पुग्नुपर्छ; समाज बुझ्न तथ्याङ्क मात्र पर्याप्त हुँदैन, मानिसका कथा पनि सुन्नुपर्छ । र, सायद यही अनुभवले आगामी दिनमा मेरो कर्मलाई अझ जिम्मेवार, तथ्यपरक र जनउत्तरदायी बनाउने छ; धन्यवाद ।