भुपेन्द्र सुवेदी
हामी नेपाली राजनीति बारे धेरै अन्जान छौँ र अन्योलतासँगै दौडिरहेका छौँ । तर वास्तवमा हामीले बिपी कोइरालाले भनेजस्तो राजनीतिक संस्कार बुझेकै रहेनछौँ । हामीमा राजनीतिक संस्कार, सैद्धान्तिक निष्ठा, पार्टीभित्रको विधि–विधान र अनुशासनप्रतिको सम्मान कमजोर हुँदै गएको देखिन्छ । आजका नयाँ नेताहरुले पार्टीको विधि–विधान पालना गर्नुपर्ने, अग्रज नेताहरुको अनुभवबाट सिक्नुपर्ने तथा सैद्धान्तिक रुपमा पार्टीको अनुशासनभित्र रहेर काम गर्नुपर्ने विषयलाई करिब २० प्रतिशत पनि आत्मसात् गरेको देखिँदैन । यही कारणले आज अधिकांश दलहरुमा अनुशासित नेताको खडेरी परेको छ । परिणामस्वरुप नेपाली कांग्रेस पटक–पटक फुटको दलदलमा फस्दै आएको छ भने कम्युनिस्ट पार्टीहरु कति टुक्रामा विभाजित भएका छन् भन्ने कुरा स्वयं आफूलाई कम्युनिस्ट भन्नेहरुले पनि राम्ररी बुझेका होलान् ।
आज नेपालको राजनीतिक व्यवस्था, हाम्रो बानी–व्यवहार र अनुशासनहीन अवस्थालाई देखेर नै छिमेकी राष्ट्र भारत र चीनले दैनिक रुपमा हामीलाई खिज्याइरहेका छन् । अझ आफूलाई विश्वकै शक्तिशाली राष्ट्र ठान्ने अमेरिकाले पनि हाम्रा नेताहरुको चरित्र देखेर पटक–पटक खबरदारी गरिरहेको छ । तर हाम्रा नेताहरु भने आफ्नै हैसियत, जिम्मेवारी र प्रोटोकलसमेत नबुझी हिँडिरहेका छन् । आज नेताहरुबीच गालीगलौजको ओइरो दैनिकजसो चलिरहेको छ । देशको विकास, राष्ट्रिय समस्या र नेपाली नागरिकको काहालीलाग्दो अवस्थाप्रति उनीहरु गम्भीर देखिँदैनन् । केही आशालाग्दा युवा जमातसमेत पुराना नेताहरुको पछि लाग्ने भूमिकामा सीमित भएका छन् ।
अन्ततः गगन थापाजस्ता नेताले “यदि मैले कसम तोडें भने मलाई चारपाटे मोडेर थानकोट कटाइयोस्“ भन्नुपर्ने अवस्था किन आयो ? उनलाई यस्तो कसम खान कसले बाध्य बनायो ? के बिपी कोइरालाले कांग्रेसका नेताहरुलाई यस्तै शिक्षा दिएका थिए ? बिपी कोइराला भन्नुहुन्छ, “समयमै सहमतिको राजनीतिप्रति विश्वास लिएर नेपालमा नयाँ राजनीतिक विकास भएको छ । यहाँ हालै जे भइरहेको छ, त्यसले पनि त्यस कुराको पुष्टि गर्दछ । जनमत संग्रह एउटा ठूलो प्रजातान्त्रिक अभ्यास थियो । हामी हा¥यौँ, तर कस्तो परिस्थितिमा हा¥यौँ ? सरकार पूर्ण रुपमा हाम्रो प्रतिकूल थियो । हामी प्रचार–प्रसारका लागि जाँदा अत्यन्त अप्ठ्यारो अवस्था थियो । ठाउँ–ठाउँमा फायरिङ भयो । मेरा १६ जना साथीहरुलाई गोली लाग्यो ।
त्यस्तो परिस्थितिमा पनि हामीले प्रचार अभियान सञ्चालन ग¥यौँ । उनीहरु जिते, तर हामीले प्राप्त गरेको २० लाख मत प्रतिबद्धताको मत थियो । त्यो मत त्यस्ता मानिसहरुको थियो, जसलाई किन्न सकिएन, जसलाई डर र त्रासले विचलित बनाउन सकेन । उनीहरुले जानाजानी सरकारको विरोधमा मत दिएका थिए । त्यो जागरुक र प्रतिबद्ध नागरिकहरुको मत थियो । गुणात्मक रुपमा त्यो २० लाख मत अत्यन्त मूल्यवान् थियो ।“
बिपीले २०३६÷०३७ सालतिर व्यक्त गरेको यो विचार आज पनि उत्तिकै सान्दर्भिक देखिन्छ तर आज नेपाली कांग्रेसमा त्यस्तो प्रतिबद्धता कहाँ छ ? आज कांग्रेस पैसा, नातावाद र गुटबन्दीको राजनीतिमा अल्झिएको देखिन्छ । यही कारणले पार्टीभित्र समस्या बढ्दै गएको छ । बिपीले त्यतिबेला भनेका कुरा आज झन् बढी सत्य सावित भइरहेका छन् । आजको नेपाली कांग्रेस सुध्रिएको होइन, बरु झन् गनाएको सिनोजस्तै बन्दै गएको अनुभूति हुन्छ । एकथरी पुराना नेताहरुले युवाहरुलाई नजिक आउन नदिने, आए पनि उनीहरुको विचार सुन्न नचाहने प्रवृत्ति देखिन्छ । परिणामस्वरुप आज “देउवा पक्ष“ र “गगन पक्ष“ भन्दै कांग्रेसभित्रै विभाजनको राजनीति चलिरहेको छ । के बिपीले यही शिक्षा दिएका थिए ? जहाँ बिपीको विचार छाडियो, त्यहीँबाट कांग्रेसको अधोगति सुरु भयो भन्ने प्रश्न उठ्न थालेको छ ।
बिपीको दूरदर्शी सोच यस्तो थियो, “अब संविधान बन्न थालेको छ । संविधानमा यसलाई जित्ने पक्षले दलबिहीन व्यवस्थाको विजय भन्नेछ, र राजाले पनि त्यही भन्नुभएको छ । तर हाम्रो व्यवस्थामा त्यो कुरा त्यति सरल छैन । यस विषयमा विवाद जारी नै छ । संविधान कस्तो बनाउने ? त्यसमा हामीलाई केही स्वतन्त्रता रहन्छ कि रहँदैन ? यदि स्वतन्त्रता रह्यो भने हामी संविधानभित्रै रहेर काम गर्नेछौँ, त्यसलाई अझ फराकिलो बनाउनेछौँ र प्रजातान्त्रिक तत्वहरुलाई विस्तार गर्नेछौँ ।
यदि स्वतन्त्रता नै रहेन भने हामी फेरि संविधानबाहिर रहन बाध्य हुनेछौँ । यो अत्यन्त निर्णायक अवस्था हो ।“ उहाँले थप भन्नुभएको थियो, “मसँग संविधान कस्तो हुनुपर्छ भनेर सल्लाह मागिएको थियो । मैले चार–पाँचवटा सुझाव दिएको थिएँ । मेरो मुख्य सुझाव के थियो भने दल वा दलबिहीनताको विषयमा संविधान मौन रहन सक्छ । तर मौलिक हकअन्तर्गत वाक स्वतन्त्रता, प्रकाशन स्वतन्त्रता र संगठन स्वतन्त्रता सुनिश्चित गरियो भने दुवै पक्षका लागि स्थान रहन्छ । यही बीचको एउटा उपाय अपनाउन सकिन्छ भन्ने मेरो सुझाव थियो । त्यसलाई स्वीकार गर्ने वा नगर्ने भन्ने निर्णय उनीहरुको हो ।“ राजाले जनमत संग्रहको परिणामपछि गरेको पहिलो घोषणाबारे पनि बिपीले टिप्पणी गर्नुभएको थियो “राजाले भन्नुभयो, ‘मेरो बुबाले दिएको व्यवस्थाप्रति जनताले समर्थन जनाएका छन् ।’ तर हाम्रो विचारमा त्यो जनमतको गलत व्याख्या थियो ।“
त्यो बेलाको बिपी को भनाइ थियो । त्यतिबेलाको दूरदर्शितालाई हेर्दा आज पनि हाम्रो देश उस्तै दोधारमा रहेको अनुभूति हुन्छ । देश जनताको मार्गबाट, प्रजातन्त्रको बाटो हुँदै अगाडि बढ्छ कि द्वन्द्व र संघर्षको बाटोतर्फ मोडिन्छ भन्ने प्रश्न आज पनि उत्तिकै महङ्खवपूर्ण छ । बिपी कोइराला भन्नुहुन्छ, “हामीलाई अहिले के लाग्छ भने, यदि हामीले संघर्षको बाटो रोज्यौँ भने देशको अवस्था झन् जटिल बन्छ । दक्षिण एसियामा अफगानिस्तानको घटना घटिसकेको छ ।
त्यसले सम्पूर्ण क्षेत्रलाई अस्थिर बनाएको छ । यस्तो परिस्थितिमा हामी आफैँ आपसमा लड्न थाल्यौँ भने छिमेकी राष्ट्रहरुले हामीलाई शान्तिपूर्वक बस्न दिने छैनन् । त्यसबेला भारतले सकेसम्म नेपालको राजनीतिलाई आफ्नो प्रभावमा राख्न खोज्नेछ, चीनले पनि त्यही चाहनेछ, र अन्य शक्तिराष्ट्रहरुको पनि चासो बढ्नेछ ।“ उहाँले थप भन्नुहुन्छ, “त्यसैले हामीले साझा राष्ट्रिय राजनीतिको विकास गर्नुपर्छ, जहाँ राजसंस्था पनि त्यसको मातहतमा रहन सकोस् र जनताको लोकप्रिय शक्ति पनि त्यही व्यवस्थाभित्र रहन सकोस् । यदि हामीले यस्तो गर्न सकेनौँ भने आफ्नो देशलाई जोगाउन सक्नेछैनौँ ।“
बिपी को यो अग्रगामी सोच आज पनि उत्तिकै सान्दर्भिक देखिन्छ । उहाँले त्यतिबेला व्यक्त गर्नुभएको विचारले आजको नेपालको राजनीतिक अवस्थासँग आश्चर्यजनक रुपमा मेल खान्छ । उहाँको अर्को भनाइ थियो, “यदि हामी एक हुन सक्यौँ, सहमतिमा पुग्न सक्यौँ र प्रजातान्त्रिक व्यवस्था शान्तिपूर्ण उपायबाट स्थापित गर्न सफल भयौँ भने त्यसले नेपालको भविष्य मात्र सुरक्षित गर्दैन, सम्पूर्ण दक्षिण एसियाको राजनीतिमा पनि नेपालको महङ्खवपूर्ण भूमिका स्थापित हुनेछ । हामी त्यो भूमिका निर्वाह गर्न सक्षम हुनेछौँ । दक्षिण एसियाका अन्य देशहरुसँग पनि हाम्रो अर्थपूर्ण भूमिका रहनेछ ।“
त्यसैले बिपी निरन्तर सहमतिको राजनीतिका पक्षधर हुनुहुन्थ्यो । उहाँको विश्वास थियो कि शान्तिपूर्ण उपायबाट अधिकार प्राप्त गर्न सकिन्छ । उहाँ भन्नुहुन्थ्यो, “यदि संघर्षको बाटो रोजियो भने त्यसको परिणाम अत्यन्त भयावह हुन सक्छ । अहिले निर्णायक भूमिका राजाकै हातमा छ । त्यसैले राजाले पनि समयको आवश्यकता बुझेर सहमतिका लागि तयार हुनुपर्छ । त्यसैगरी हामीले पनि सबै अधिकार तत्कालै चाहिन्छ भनेर अडान लिनु उचित हुँदैन ।“
यसै सन्दर्भमा उहाँले एउटा महङ्खवपूर्ण प्रश्न उठाउनुभएको थियो, “मलाई धेरैले सोध्ने गर्थे— के राजा जनतासँग शक्ति बाँड्न तयार होलान् ? मेरो उत्तर हुन्थ्यो— मलाई थाहा छैन तर अर्को प्रश्न पनि उत्तिकै महङ्खवपूर्ण छ, के हामी राजासँग शक्ति बाँड्न तयार छौँ ? केवल राजाले शक्ति बाँड्छन् कि बाँड्दैनन् भन्ने मात्र प्रश्न होइन । जनमत संग्रहपछि हामीले जनशक्तिलाई बलियो बनाएका छौँ । अब हामीले पनि सोच्नुपर्छ— के हामी शक्ति साझेदारीका लागि तयार छौँ ? यदि हामीले सबै अधिकार तत्कालै हामीलाई दिनुपर्छ भन्यौँ भने त्यसका लागि राजा तयार हुने छैनन् । त्यसैगरी यदि राजाले सबै अधिकार आफ्नै हातमा राख्न खोजे भने हामी पनि त्यसलाई स्वीकार गर्ने छैनौँ ।“
स्वर्गीय महामानव बिपी कोइरालाले वि.सं. २०३७–३८ तिर व्यक्त गर्नुभएको यो ऐतिहासिक विचार आज पनि उत्तिकै सान्दर्भिक देखिन्छ । उहाँले इतिहासका लागि छोडेर जानुभएको यो सन्देश आजको नेपालको राजनीतिक अवस्थासँग निकै मिल्दोजुल्दो छ । त्यतिबेला पनि नेपाल उत्तर, दक्षिण तथा पश्चिमी शक्तिहरुको प्रभाव र चासोको केन्द्रमा थियो । आज पनि नेपालको राजनीतिक अवस्था धेरै हदसम्म त्यही परिस्थितिमा रहेको देखिन्छ । अझ आजको नेतृत्वले आफ्नो राष्ट्रिय हैसियत, जिम्मेवारी र कूटनीतिक अडानलाई स्पष्ट रुपमा आत्मसात् गर्न नसकेको उदाहरण बिपीका यी विचारहरुले नै प्रस्तुत गर्छन् ।
बिपी कोइरालाले सहमतिको राजनीतिलाई आफ्नो मूल सिद्धान्तका रुपमा अघि सारेका थिए । तर आजको सहमति कस्तो सहमति हो भन्ने कुरा नै बुझ्न कठिन भएको छ । यदि सहमतिका नाममा आफ्नै पार्टीको सिद्धान्त र मूल्य–मान्यता त्याग्नुपर्ने हो भने गम्भीर प्रश्न उठ्छ, सहमतिको नाममा पार्टीको सिद्धान्त त्याग्नु उचित हो, कि आफ्ना सिद्धान्त र आदर्शको रक्षा गर्नु ?