गोरक्ष समाचारदाता
तुलसीपुर, ९ साउन । तुलसीपुर उपमहानगरपालिकाले नयाँ बहुउद्देश्यीय सभाहल निर्माण पाएको छ । सङ्घीय सरकारको एक करोड ५१ लाख ५६ हजार ७२ रुपैयाँ ९९ पैसा (भ्याटसहित) लागतमा निर्माण सम्पन्न भएको बहुउद्देश्यीय सभाहलको शुक्रवार औपचारिक रूपमा तुलसीपुर उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको हो । सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय, घोराहीले आर्थिक वर्ष २०८१÷०८२ मा ठेक्का प्रक्रिया अघि बढाएको आयोजना आर्थिक वर्ष २०८२÷०८३ मा सम्पन्न भएको हो ।
तुलसीपुर–६, इन्द्रनगरमा निर्माण भएको सभाहलको जिम्मा पाएको केकेएण्डसी इन्जिनियरिङ कन्सल्टेन्सी प्रालि, दाङले २०८२ जेठ २३ गते सम्झौता गरी काम सुरु गरेको थियो । एक वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि कम्पनीले २०८३ जेठ १८ गते नै निर्माण कार्य सम्पन्न गर्दै तोकिएको समयभन्दा केही दिनअघि आयोजना पूरा गरेको हो ।
सभाहल नहुँदा नगरसभा, सार्वजनिक सुनुवाई, तालिम तथा अन्य कार्यक्रम सञ्चालन गर्न पालिकाले शिक्षा तथा स्वास्थ्य संस्थाका सभाहल प्रयोग गर्नु परेको थियो । हिउँदे अधिवेशन अश्वारास्थित मेट्रो अस्पतालको सभाहलमा तथा वर्षे अधिवेशन हरीपौरास्थित मेट्रो कलेजको सभाहलमा सञ्चालन गरिएको थियो । यसले स्थानीय सरकारलाई अतिरिक्त आर्थिक भारसँगै व्यवस्थापनमा समेत कठिनाइ भएको थियो । नगर प्रमुख टीकाराम खड्काले अब त्यो समस्या अन्त्य भएको बताउँदै नयाँ सभाहल सञ्चालनका लागि छिट्टै कार्यविधि बनाएर नियमित प्रयोगमा ल्याइने जानकारी बताए । सभाहल निर्माण भएको स्थानको स्वामित्व र उपयोगको विषय पनि लामो समयदेखि चर्चामा रहेको थियो ।
नगर प्रमुख खड्काकाअनुसार सभाहल भएको जग्गा शोभा भगवती मन्दिरको नाममा रहेको थियो । उनका अनुसार मन्दिर समितिको नाममा करिब साढे तीन विगाहा जग्गा विभिन्न खण्डमा रहेको छ । भवन निर्माणअघि उक्त स्थानलाई मन्दिरले यातायात व्यवस्था कार्यालयलाई ट्रायल सेन्टरका रूपमा भाडामा दिएको थियो । पछि पालिकाले जग्गा संरक्षण गर्ने र अतिक्रमण रोक्ने विषयमा उच्च सरकारी वकिलको कार्यालयको समन्वयमा सहमति भएपछि तुलसीपुर उपमहानगरपालिकाले उक्त जग्गाको भोगाधिकार उच्च सरकारी वकिलको केन्द्रीय कार्यालयबाट प्राप्त गरेको हो ।
नगर प्रमुख खड्काले तत्कालीन राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माको पहल र स्थानीय तहको समन्वयबाट यो योजना सफल भएको उल्लेख गर्दै दाङमा घोराहीपछि नेपाल सरकारको स्वामित्वमा निर्माण भएको दोस्रो आधुनिक सभाहल तुलसीपुरमा बनेको बताए । सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय, घोराहीका निमित्त कार्यालय प्रमुख गणेश कुमार पौडेलको अध्यक्षता तथा नगर प्रमुख खड्काको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा भवन हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण सम्झौताअनुसार निर्माण कम्पनीले एक वर्षसम्म डिफेक्ट लाइबिलिटी अवधि कायम राख्नुपर्ने छ । यस अवधिमा देखिने निर्माणसम्बन्धी कुनै पनि कमजोरी आफ्नै खर्चमा सुधार गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यसपछि भवनको नियमित मर्मत–सम्भार, संरक्षण तथा सञ्चालनको जिम्मेवारी तुलसीपुर उपमहानगरपालिकाले बहन गर्ने छ । कार्यक्रममा उपमेयर स्यानी चौधरी, नगर प्रवक्ता तथा वडा नं. १८ का अध्यक्ष माधव वली, वडा नं. ३ का अध्यक्ष वीरबहादुर विक, प्रमुख प्रशासकीय अधिकृत टेकनारायण पौडेललगायतले नयाँ सभाहलले स्थानीय सरकारका औपचारिक कार्यक्रम, नगरसभा, तालिम, गोष्ठी, सांस्कृतिक कार्यक्रम तथा सामुदायिक गतिविधि सञ्चालन गर्न सहज हुने बताएका हुन् ।
सभाहल निर्माण सम्पन्न भएसँगै यसको सञ्चालन मोडालिटी, भाडादर, व्यवस्थापन समिति तथा सार्वजनिक उपयोगको मापदण्ड कस्तो हुने भन्ने विषयमा स्थानीय तहमा चासो बढेको छ । नगर प्रमुख खड्काले कार्यविधि तयार गरी पारदर्शी ढंगले सञ्चालन गरिने बताए ।
उनका अनुसार सभाहललाई स्थानीय समुदाय, संघसंस्था तथा निजी क्षेत्रले समान रूपमा न्यूनतम शुल्कमा प्रयोग गर्न पाउने व्यवस्था मिलाइने छ । भवन हस्तान्तरण कार्यक्रमको सहजीकरण योजना शाखा प्रमुख रमा खड्काले गरेकी थिइन् ।