गोरक्ष समाचारदाता
दाङ, ६ साउन । घोराही उपमहानगरपालिका र बङ्गलाचुली गाउँपालिकालाई जोड्ने सुका खोलामा निर्माणाधीन पक्की पुलको करिब ५० प्रतिशत निर्माण कार्य सकिएको छ । वीपीमार्ग अन्तर्गत पर्ने रामपुर–सिमलतारा–हाँसीपुर सडक खण्डमा निर्माण भइरहेको पुलले घोराही उपमहानगरपालिका–१ र बङ्गलाचुली गाउँपालिका–४ लाई जोड्छ ।
पुल निर्माण भएपछि वर्षाद् याममा स्थानीयलाई सहज हुने भए पनि बजेट अभावका कारण पुल निर्माणमा ढिलाइ भइरहेको छ । सडक पूर्वाधार विकास कार्यालय दाङका इन्जिनियर प्रशान्त शाहका अनुसार आर्थिक वर्ष २०८२÷०८३ को असार मसान्तसम्म निर्माणको काम सकिनु पर्ने भए पनि हालसम्म पुलको करिब ५० प्रतिशत काम सकिएको छ ।
२०८२ पुस मसान्तभित्र पुल निर्माणको काम सक्ने गरी चार करोड पाँच लाख आठ हजार सात सय ८२ रुपैयाँमा २०८१ साउन १ गते सनलाइट÷जेडी÷स्मृति विशाल जेभी दाङसँग ठेक्का सम्झौता भएको थियो । २० मिटर लम्बाइ र ११ मिटर चौडाइ रहेको पुल समयमा निर्माण नसकिएपछि आर्थिक वर्ष २०८२÷०८३ को असार मसान्तभित्र सक्ने गरी म्याद थप गरिएको थियो ।
पुल निर्माणका लागि आर्थिक वर्ष २०८१÷८२ मा ७५ लाख रुपैयाँ र आर्थिक वर्ष २०८२÷८३ मा दुई करोड रुपैयाँ विनियोजन गरिएको थियो । ५० प्रतिशत निर्माण सम्पन्न भएको पुलको वित्तीय प्रगति हालसम्म ४० प्रतिशत रहेको कार्यालयले जनाएको छ । सुका खोलामा पुल नहुँदा विशेष गरी वर्षा याममा स्थानीयले आवागमनमा सास्ती खेप्दै आएका छन् ।
बङ्गलाचुली गाउँपालिका–४ का वडाध्यक्ष डाँसबहादुर डाँगीका अनुसार पुल निर्माण भएपछि बङ्गलाचुली गाउँपालिका–३, ४ का दक्षिण क्षेत्रका नागरिकसँगै वडा नं. ७ र ८ का नागरिकलाई घोराही आउजाउमा सहज हुने छ । यससँगै विद्यार्थीलाई विद्यालय पुग्न, बिरामीलाई उपचारका लागि अस्पताल लैजान÷ल्याउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न सहज हुने अपेक्षा गरिएको छ । पुलको अभावमा बङ्गलाचुलीका गहतेरा, मुलाबारी, स्वामीघाट, कात्तिके, हाँसिपुरबासीलाई वर्षाद्को समयमा जोखिमपूर्ण यात्रा गर्नु पर्ने बाध्यता छ ।
रामपुर–सिमलतारा–हाँसीपुर–देवीकोट हुँदै राप्ती गाउँपालिका जोड्ने सडकले घोराहीलाई प्रदेश राजधानीसँग जोड्ने वैकल्पिक मार्गका रूपमा समेत लिने गरिन्छ । सुका खोलासँगै माना खोला, अर्जुन खोलामा पुल निर्माण नहुँदा वर्षा याममा सवारीसाधन सञ्चालन हुन समस्या हुने गरेको छ । सुका खोलासँगै माना खोला र अर्जुन खोलामा पुल निर्माण हुन सके नियमित यातायात सेवा सञ्चालन हुने र त्यसले कृषि उत्पादनसँगै व्यापार व्यवसाय विस्तारमा सहयोग पुग्ने स्थानीयको अपेक्षा छ ।