गोरक्ष समाचारदाता
दाङ, ६ साउन । समाज कल्याण केन्द्र नेपालले आर्थिक रूपमा विपन्न, असहाय तथा जेहेनदार बालबालिकाको शिक्षामा सहयोग पु¥याउने उद्देश्यले सञ्चालन गरेको ‘खुत्रुके बचत अभियान’ अन्तर्गत सम्मान तथा सहयोग कार्यक्रम भएको छ । संस्थाका अध्यक्ष निर्मला गौतमको अध्यक्षता, मानव अधिकार तथा शान्ति समाज दाङका सभापति कोमल डिसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा अभियानलाई सहयोग गर्ने व्यक्तित्व तथा संस्थालाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रमिता चौधरी, पुनम शेर्पाइली, माधव बस्नेत र सन्ध्या रेग्मीले आर्थिक सहयोग गरेका थिए भने प्रमुख अतिथि डिसीले बालबालिकाको लागि झोला तथा स्टेसनरी सामग्री उपलब्ध गराएका थिए । कार्यक्रममा सहयोगीदाताका साथै नेपाल परिवार नियोजन संघ, दाङकी नवनिर्वाचित सभापति माया पोख्रेललाई सम्मान गरिएको थियो । संस्थाले विपन्न तथा जेहेनदार बालबालिकाको शिक्षामा समुदायको सहभागिता बढाउने उद्देश्यले सञ्चालन गरिरहेको खुत्रुके बचत अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताले शिक्षा सामाजिक रूपान्तरणको आधार भएकाले आर्थिक अभावका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नहुनेमा जोड दिएका थिए । अभियानमा जोडिएर विभिन्न माध्यमबाट सहयोग गर्ने सबै सहयोगीप्रति संस्थाले आभार व्यक्त गर्दै आगामी दिनमा पनि साथ, सहयोग, समन्वय र सुझावको अपेक्षा गरेको जनाएको छ ।
कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पु¥याउने सबैप्रति संस्थाले धन्यवाद ज्ञापन गरेको छ । संस्थाका सदस्य तथा खुत्रुके बचत अभियानकी संयोजक शारदा घर्तीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सदस्य पूजा योगीले गरेकी थिइन् ।