राप्ती साहित्य परिषद्लाई गोपाल पाण्डे असीम पुरस्कार

दाङ, ३ साउन । मध्यपश्चिम क्षेत्रकै गौरवपूर्ण इतिहास बोकेको राप्ती साहित्य परिषद्लाई नेपाली शिक्षा परिषद्ले यस वर्षको प्रतिष्ठित ‘गोपाल पाण्डे असीम पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।

नेपाली भाषा, साहित्य, संगीत, कला र संस्कृतिको विकास तथा संवर्धनमा विगत लामो समयदेखि निरन्तर क्रियाशील रहेको राप्ती साहित्य परिषद्को योगदानको उच्च कदर गर्दै सो पुरस्कार प्रदान गर्न लागिएको हो । वि.सं. २०३४ सालमा स्थापना भएको परिषद्ले आधा शताब्दीदेखि नेपाली भाषाको श्रीवृद्धिमा उल्लेखनीय योगदान पु¥याउँदै आएको छ । केन्द्रीय कार्यालय दाङमा रहेको यस संस्थाका दाङलगायत रोल्पा, सल्यान, प्युठान, रुकुमपूर्व र रुकुमपश्चिम गरी ६ वटा जिल्लामा शाखा विस्तार गरी साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको छ ।

परिषद यसअघि पनि पोखरामा रहेको हेमजा साहित्य प्रतिष्ठानद्वारा १ लाख रूपैयाँ राशिको ‘हेमजा साहित्य प्रज्ञा पुरस्कार’बाट सम्मानित भएको थियो । नेपाली शिक्षा परिषद्की अध्यक्ष रमा शर्माद्वारा जारी पत्रअनुसार, पुरस्कारको राशि सम्मानपत्रसहित ५० हजार रूपैयाँ रहेको छ । आगामी साउन ३१ गते आइतबार आयोजना हुने नेपाली शिक्षा परिषद्को ७६ औं वार्षिकोत्सव, अमृत महोत्सव वर्षको समापन तथा संस्थापक स्वर्गीय गोपाल पाण्डे असीमको ११४ औं जयन्ती समारोहका अवसरमा उक्त पुरस्कार अर्पण गरिने कार्यक्रम रहेको छ ।

पुरस्कार प्राप्त गर्ने निर्णयप्रति राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष कमलमणि देवकोटाले खुसी व्यक्त गर्दै साहित्यिक क्षेत्रमा अझ बढी क्रियाशील हुने प्रेरणा मिलेको बताएका छन् ।