दाङ,३१ असार। बंगलाचुली गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां) को कार्यालय उद्घाटन गरिएको छ ।
बंगलाचुली गाउँपालिका–४ कमिरेचौरमा हिन्दु परम्परा अनुसार वैदिक विधिवत् पूजा गरेर कार्यालयको उद्घाटन गरिएको हो । रास्वपा बंगलाचुली गाउँपालिका सभापति विक्रम डाँगीको सभापतित्व तथा केन्द्रीय सदस्य शर्मिला खनालको प्रमुख एवं प्रदेश सदस्य बिष्णु गौतमको बिशिष्ट आतिथ्यतामा कार्यालय उद्घाटन गरिएको थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले संगठन सुदृढीकरण, सुशासन, पारदर्शिता र जनतासँग प्रत्यक्ष जोडिने राजनीतिक अभ्यासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा प्रमुख अतिथि खनालले रास्वपा जनअपेक्षाअनुसार स्वच्छ राजनीति, सुशासन र उत्तरदायी नेतृत्वको पक्षमा निरन्तर अघि बढिरहेको बताइन्। गाउँ–गाउँसम्म संगठन विस्तार गर्दै नागरिकका समस्या समाधानमा सक्रिय हुन कार्यकर्तालाई आग्रह गर्दै उनले नयाँ कार्यालयले पार्टी गतिविधिलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेकी थिइन ।
कार्यक्रमका सभापति विक्रम डाँगीले बंगलाचुलीमा रास्वपाको संगठनलाई अझ सशक्त र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा रास्वपा दाङका सभापति किरण खनाल, क्षेत्रीय सभापति रविन्द्र केसीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
त्यसअवसरमा विभिन्न व्यक्तिहरूलाई पार्टी प्रवेश गराइएको थियो भने कार्यालय स्थापना तथा उद्घाटनमा सहयोग पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो । पालिका उपसभापति नव क्षेत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन गाउँपालिका सचिव हेमन्त खनालले गरेका थिए।