प्रमुख पदमा महिलालाई उम्मेदवार : सहमहामन्त्री चौधरी

प्रिया स्मृती गजमेर
देउखुरी, २८ असार । नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीले आगामी स्थानीय तह निर्वाचन २०८४ मा महिलाको सहभागितालाई संख्यात्मक उपस्थितिमा सीमित नराखी नेतृत्वदायी भूमिकामा पु¥याउनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसको तर्फबाट स्थानीय तह निर्वाचन २०८४ मा महिलाको नेतृत्व तहमा निर्णायक सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले शनिवार भालुवाङमा आयोजना गरिएको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री चौधरीले अब महिलालाई प्रमुख पदमा उम्मेदवार बनाउने तयारी पार्टीले अघि बढाएको बताएका थिए । कार्यक्रमलाई सम्वोधन गर्दै भने,‘अब कम्तीमा एक सय स्थानीय तहमा महिलालाई प्रमुख जिम्मेवारीसहित निर्वाचनमा उठाउनुपर्छ भन्ने हाम्रो तयारी छ ।’ महिलालाई प्रमुख पदमा अवसर दिँदा मात्रै संविधानले परिकल्पना गरेको समान र समावेशी प्रतिनिधित्व व्यवहारमा कार्यान्वयन हुने उनको भनाइ थियो ।

चौधरीले आगामी स्थानीय तह निर्वाचनलाई महिला नेतृत्व क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसरका रूपमा उपयोग गर्नुपर्ने उल्लेख गर्दै संगठनका सबै तहले महिला नेतृत्वको क्षमता विकास, राजनीतिक प्रशिक्षण र अवसर विस्तारमा विशेष ध्यान दिनुपर्ने बताए । संविधानले सुनिश्चित गरेका अधिकारको पूर्ण कार्यान्वयनका लागि पार्टी र राज्य दुवै पक्ष जिम्मेवार हुनुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा नेपाली कांग्रेसकी पूर्व सहमहामन्त्री तथा पूर्वमन्त्री महालक्ष्मी उपाध्याय (डिना ) ले महिलालाई प्रतिनिधित्वमा मात्र सीमित नराखी नीति निर्माण र निर्णय प्रक्रियाको केन्द्रमा स्थापित गर्नुपर्ने बताइन । संविधानले महिलालाई महत्वपूर्ण अधिकार प्रदान गरे पनि व्यवहारमा अझै चुनौती कायम रहेको उल्लेख गर्दै उनले राजनीतिक सचेतना, क्षमता अभिवृद्धि र संगठनात्मक एकतामार्फत ती चुनौतीको सामना गर्नुपर्ने धारणा व्यक्त गरेकी थिइन । आगामी स्थानीय तह निर्वाचनलाई महिला नेतृत्व स्थापित गर्ने महत्वपूर्ण अवसरका रूपमा उपयोग गर्नुपर्नेमा उनको जोड थियो ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति राजु खनालले संविधानले सुनिश्चित गरेको समावेशी व्यवस्थालाई व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको बताए । महिलालाई नेतृत्वमा स्थापित गर्न प्रशिक्षण, संगठनात्मक सुदृढीकरण र निरन्तर राजनीतिक सक्रियता आवश्यक रहेको भन्दै उनले आगामी निर्वाचनमा सक्षम महिला नेतृत्वलाई अघि बढाउन सबै तहका नेता तथा कार्यकर्ता एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।

छलफलका क्रममा स्थानीय तहको निर्णय प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने उपाय, संविधानले प्रत्याभूत गरेका अधिकारको प्रभावकारी कार्यान्वयन, महिला राजनीतिज्ञले भोग्दै आएका व्यावहारिक चुनौती, कानूनी अधिकार तथा अवसर, सामाजिक, आर्थिक र सांस्कृतिक प्रभाव तथा नेतृत्वदायी भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न अपनाउनुपर्ने रणनीतिका विषयमा प्रश्नोत्तर तथा सामूहिक अन्तरक्रिया गरिएको थियो ।कार्यक्रमका सहभागीलाई डा. प्रीति मण्डलले प्रशिक्षण दिएकी थिइन ।

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, महिला पार्टी प्रतिनिधि तथा प्रदेशभरका महिला जनप्रतिनिधिको सहभागिता रहेको थियो । पूर्व सहमहामन्त्री तथा पूर्वमन्त्री महालक्ष्मी उपाध्याय (डिना) को अध्यक्षता तथा नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीको प्रमुख आतिथ्यता एवं लुम्बिनी प्रदेशका उपसभापति राजु खनालको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रमको सञ्चालन लुम्बिनी प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेस नेतृ निमा गिरीले गरेकी थिइन ।