दाङ,२८ असार । कवि एवं गीतकार विकास बिष्टको नवीन कृति ‘मनमल्लिका’ कविता संग्रहको बिमोचन गरिएको छ । पहल थिएटरले आयोजनामा शनिबार घोराहीमा भएको कार्यक्रममा कविता संग्रह ‘मनमल्लिका’ को भाषा आयोगका पूर्व अध्यक्ष एवं साहित्यकार डा. अमर गिरीलगायतका साहित्यकारले गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि रहेका डा. गिरीले मनमल्लिका कविता संग्रहमा नेपाली जीवन र नेपाली समाजको चित्रण रहेको चर्चा नयाँ र सार्थक कृतिका लागि कवि एवं गीतकार बिष्टलाई बधाई ज्ञापन गरेका थिए । पहल थिएटरका सल्लाहकार अम्बिका बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा पतञ्जली योग लुम्बिनी प्रदेश समितिका अध्यक्ष डा. प्रेम शाह, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन, लेखक एवम् इतिहासकार डा. सुदीप गौतम, राप्ती साहित्य परिषद् दाङका अध्यक्ष यम रेग्मी, लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपानेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
पहल थिएटरका अध्यक्ष कएल बुढाथोकीले स्वागत तथा विषय प्रवेश गराएको कार्यक्रमको सहजीकरण ई. रिचा बुढाथोकीले सहजीकरण गरेकी थिइन । हाल अमेरिका रहेका कवि एवम् गीतकार विष्टको यस कृतिमा ३४ वटा कविता संग्रहित छन् । रामगीता वाङ्गमय नेपाल–अमेरिकाले मनमल्लिकाको प्रकाशन गरेको हो ।