प्रतिष्ठानबाट २१ जनालाई निःशुल्क स्वास्थ्य सेवा

गोरक्ष समाचारदाता
दाङ, २७ असार । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीबाट करिब दुई महिनाको अवधिमा २१ जना विपन्न, असाहय र बेवारिसे नागरिकले निःशुल्क सेवा पाएका छन् । सरकारले देशभरका अस्पतालमा १० प्रतिशत बेड र उपचार सेवा निःशुल्क गर्ने भनेसँगै घोराहीमा रहेको प्रतिष्ठानबाट वैशाख १५ गतेदेखि हालसम्म २१ जनाले निःशुल्क सेवा प्राप्त गरेका छन् ।

प्रतिष्ठानले वैशाख १५ गतेदेखि हालम्म ३० वटा विपन्न, असाहय र बेवावारिसे नागरिकका लागि बेड छुट्याएर निःशुल्क उपचार सेवा प्रदान गरेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त निर्देशक डा सुरेश रसाइलीले जानकारी दिएका छन् । तीन सय बेड रहेको राप्ती स्वासथ्य विज्ञान प्रतिष्ठानले बिरामीका लागि ३० वटा बेड छुट्याएको छ । जसबाट २१ जना विपन्न, असाहय र बेवावारिसे नागरिकले निःशुल्क सेवा पाएको निमित्त निर्देशक रसाइलीले जानकारी दिएका छन् ।

वडाको प्रमाणका आधारमा विपन्न, असाहय र बेवावारिसे नागरिकलाई निःशुल्क उपचार सेवा दिने गरेको छ । निःशुल्क सेवाको प्रचारप्रसार नहँुदा नागरिकले अत्यन्तै न्यून मात्रामा सेवा लिएका छन् । दिनहुँ सात सयको हाराहारीमा बिरामी आउने र सेवा लिने घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वैशाख यता २१ जनाले मात्रै निःशुल्क सेवा पाएका छन् । सामाजिक सेवा एकाइबाट पहिले पनि आर्थिक रूपमा विभिन्न नागरिकलाई सेवा प्रदान गर्दै आए पनि सरकारले कूल बेड सङ्ख्याको १० प्रतिशत बेड छुट्याएर निःशुल्क सेवा प्रदान गर्ने भनेपछि बेड छुट्यार सेवा दिन थालेको उनले बताए ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्तै तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालले करिब दुई महिनाको अवधिमा सात जना विपन्न, असाहय र बेवावारिसे नागरिकलाई सेवा प्रदान गरेको छ । ५० बेडको स्वीकृति प्राप्त गरेको राप्ती प्रादेशिक अस्पतालले विपन्न, असाहय र बेवावारिसे नागरिकका लागि पाँच वटा बेड सञ्चालन गरेर वैशाखमा दुई जना, जेठमा चार जना र असारमा एक जना गरी सात जनालाई सामाजिक सेवा एकाइमार्फत् सेवा दिएको जनाएको छ ।