दाङमा अनलाइन गायन, नृत्य तथा अभिनय प्रतियोगिता हुने

दाङ, ५ जेठ । उत्सर्ग फिल्मस् नेपालले गुरुकुल एकेडमी दाङको विशेष सहयोगमा अनलाइन गायन, नृत्य तथा अभिनय प्रतियोगिता गर्ने भएको छ । लकडाउनका कारण गुम्सिएर बसेका नवप्रतिभाहरुलाई प्रष्फुटित हुने अवसर सिर्जना गरी नेपाली मौलिक कलासंस्कृति, पर्यटन एवं राष्ट्रियताको प्रवद्र्धनका साथै कोरोना महामारीसंग जुध्न सचेतना फैलाउने उद्देश्यले प्रतियोगिता शुरु गरिएको कार्यक्रम संयोजक केएल पीडितले जानकारी दिएका छन ।

‘थुनिएको समयमा पनि सिर्जना अवरुद्ध हुँदैन । विपतमा सिर्जनाकर्मीहरु हौसला र उत्प्रेरणाका दीप हुन् । उनीहरुलाई प्रज्वल्लित गरी समाजलाई संत्रास र निराशाबाट बचाउनु पर्छ भन्ने सोचेर प्रतियोगिता शुरु गरिएको हो ।’ संयोजक पीडितले भने । ‘घरमै बसौं, परिवारमै रमाऔं ! बाँचौं, बचाऔं, कोरोना भगाऔं !!’ भन्ने मूल नारासहित प्रतियोगिता गर्न थालिएको हो । प्रतियोगितामा सबै उमेर समूहका व्यक्तिले भाग लिन पाउनेछन् ।

प्रतियोगीले आफ्नो प्रस्तुतीको २ देखि ५ मिनेटको भिडियो बनाई जेठ १५ सम्म उत्सर्ग फिल्मस् नेपालको पेजको इनबक्समा पठाउनु पर्नेछ । प्रतियोगिताका लागि पठाइएको भिडियो नेपाली मौलिक कलासंस्कृति, पर्यटन, राष्ट्रियताको प्रवद्र्धन गर्ने तथा चेतनामूलक हुनुपर्ने शर्त राखिएको छ । मोबाइलबाट खिचिएको भिडियो पनि प्रतियोगितामा सामेल गराइने आयोजकले जनाएको छ । प्रतियोगितामा एक व्यक्तिले एक वा सबै विधामा प्रतिष्पर्धा गर्न पाउनेछ ।

प्रतियोगितामा गायन, नृत्य र अभिनय विधाबाट १÷१जना विजेता घोषणा गरिने र विजेताहरुलाई गीत रेकर्डिङ, म्यूजिक भिडियो तथा लघु चलचत्रिमा अभिनय गर्ने अवसर प्रदान गरिनेछ । सामाजिक संजालमा लाइक शेयरका आधारमा १ जनालाई पब्लिक च्वाइस अवार्ड प्रदान गरिने छ ।