विद्यालय व्यवस्थापन समितिको निर्वाचन प्रक्रिया रोक्न माग

दाङ,२३ असार । घोराही उपमहानगरपालिका–१५ का वडा सदस्य लोकनाथ बुढाथोकीले भरतपुरमा रहेको पदमोदय पब्लिक नमुना माध्यमिक विद्यालयको व्यवस्थापन समिति आवश्यक प्रक्रिया पूरा नगरी निर्वाचन कार्यलाई अघि बढाइएको भन्दै रोक्न माग गरेका छन् ।

वडा सदस्य बुढाथोकीले मंगलवार नगर प्रमुख नरुलाल चौधरीलाई ज्ञापनपत्र बुझाउँदै निर्वाचन प्रक्रिया पूरा नगरी अघि बढाइएको, अभिभावकहरूलाई जानकारी नगराइएको र उम्मेदवार बन्न चर्को शुल्क तोकिएको भन्दै तत्काल निर्वाचन रोक्न माग गरेका हुन । वडा सदस्य बुढाथोकीले नगर प्रमुख चौधरीलाई बुझाएको ज्ञापनपत्रमा वैशाख ११ को भेलामा गणपुरक संख्या नपुगेको, पछिल्लो भेलामा पनि उपस्थिति न्यून रहेको र तेस्रोपटक भेला नै नभएका भनाइ छ ।

साथै विद्यालय व्यवस्थापन समितिको सदस्य उम्मेदवार बन्न ५ हजार शुल्क तोकिएकाले धेरै अभिभावक उम्मेवार हुनबाट वञ्चित भएको उल्लेख गरिएको छ । ‘विद्यालय व्यवस्थापन समितिको सदस्य उम्मेवार बन्न सुरुमा दश हजार रुपैया शुल्क तोकियो, त्यसको बिरोध भएपछि घटाएर पाँच हजारमा ल्याइएको छ, त्यो पनि व्यवहारिक भएन’,वडा सदस्य बुढाथोकीले भनेका छन्,‘सामान्य नागरिकका छोराछोरीले पढ्ने सामुदायिक विद्यालयको व्यवस्थापन समिति सदस्य बन्न किन पाँच हजार उम्मेदवारी शुल्क राख्न प¥यो ?’

शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार समिति गठनको अधिकार स्थानीय तहमा रहेको तर घोराही उपमहानगरपालिकाले हालसम्म विस्तृत कार्यविधि नबनाएको बुढाथोकीको दाबी छ । संघीय शिक्षा ऐन, स्थानीय शिक्षा ऐन र परम्परतगत मान्यतालाई लत्याएर हचुवाको भरमा गरिएको विद्यालय गठन गर्ने प्रक्रियाले आम अभिभावकको व्यवस्थापन समिति गठन गर्ने अधिकारलाई कुण्ठित गर्ने भएकाले तत्काल निर्वाचन प्रक्रिया रोकी स्थानीय शिक्षा ऐन र नियमावलीको व्यवस्था बमोजिम स्पष्ट कार्यविधि पारित गरी व्यवस्थापन समिति गठन गर्न र हाललाई निर्वाचन प्रक्रिया रोक्न माग गरिएको छ ।

नगर प्रमुख नरुलाल चौधरीले निर्वाचन प्रक्रियाका बारेमा सत्य तथ्य बुझेर आवश्यक प्रक्रिया अघि बढाउने बताएका थिए । विद्यालय जस्तो क्षेत्रमा पाँच हजार उम्मेवारी शुल्क तोक्नु जायज नभएको भन्दै नगर प्रमुख चौधरीले निर्वाचन प्रक्रियाका बारेमा विद्यालयसँग सोधपुच गरेका थिए ।