दाङ जिल्ला अन्तर विद्यालय फुटबल : उपाधिका लागि पुलिस स्कुल र मावि सेन्टर भिड्ने

दाङ,२३ असार । दाङ जिल्ला अन्तर विद्यालय (कक्षा ८ सम्म) कप फुटबल प्रतियोगिता–२०८३ को उपाधिका लागि नेपाल पुलिस बोर्डिङ स्कुल घोराही र मावि सेन्टर तुलसीपुर भिड्ने भएका छन् ।

हापुर युथ क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनल खेल आज दिउँसो ३ बजे घोराही उपमहानगरपालिका–१२ हापुर बिजौरी खेल मैदानमा हुने भएको छ । प्रतियोगिताको बिजेता टिमले नगद ५५ हजारसहित ५ सय ५५ र उपविजेताले २५ हजार ५ सय ५५ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ठ प्रदर्शन गर्ने विद्यार्थीलाई पुरस्कृत गरिने आयोजक हापुर युथ क्लवले जनाएको छ ।

प्रतियोगितामा दाङ जिल्लाका ५० विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगिताका समूह चरणका खेलहरु क्षेत्रगत रूपमा घोराही, तुलसीपुर र नारायणपुर–हापुर गरेर तीन समूहमा बिभाजन गरेर खेलाइएको थियो । त्यहीबाट उत्कृष्ठ भएका विद्यालयले आज फाइनल खेल खेल्दै छन् ।

विद्यालयस्तरबाटै फुटबल खेलको विकास गर्नुका साथै विद्यार्थीमा खेलप्रति रुचि र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक हापुर युथ क्लबका अध्यक्ष विनोद विकले जानकारी दिएका छन् ।