मसुरिया, १९ असार । दाङको राप्ती गाउँपालिकामा केराको थामबाट रेसा निकाल्ने ८ दिने तालिम शुक्रबारदेखि सुरु भएको छ ।
स्थानीयस्तरमा उपलब्ध केराको थामलाई सदुपयोग गर्दै रेसा उत्पादनमार्फत आयआर्जन र उद्यमशीलता विकास गर्ने उद्देश्यले राप्ती गाउँपालिकाको आयोजनामा तालिम सञ्चालन गरिएको हो । तालिम उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गर्दै आर्थिक समृद्धि हासिल गर्न गाउँपालिकाले उत्पादनमुखी तथा सीपमूलक कार्यक्रमलाई प्राथमिकता दिएको बताउ ।
उनले केराको थाम प्रायः खेर जाने गरे पनि त्यसबाट गुणस्तरीय रेसा उत्पादन गरी विभिन्न हस्तकलाजन्य सामग्री निर्माण गर्न सकिने उल्लेख गर्दै तालिमबाट सिकेका सीपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गरेका थिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले स्थानीय स्रोतमा आधारित उद्यम विकासले ग्रामीण अर्थतन्त्रलाई सबल बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवसायिक रूपमा प्रयोग गरी स्वरोजगार र आयआर्जनका अवसर सिर्जना गर्न सहभागीहरूलाई सुझाव दिएका थिए ।
तालिमकी प्रशिक्षक रुकमणी पराजुलीले केराको थामबाट रेसा निकाल्ने प्रविधि, प्रशोधन प्रक्रिया तथा त्यसको उपयोगबारे प्रशिक्षण प्रदान गरिने बताइन । उनले केराको रेसाबाट हाते झोला, पर्स, टोकरी, चकटी, डोरी, सजावटका सामग्रीलगायत विभिन्न हस्तकलाजन्य वस्तु उत्पादन गर्न सकिने बताइन । गाउँपालिकाका अनुसार तालिम वडा नम्बर ७ को बड्का सिसहनियाँ र ८ को पिपरीमा सञ्चालन हुनेछ । तालिममा २० स्थानीय महिला तथा कृषकहरूको सहभागिता रहेको छ । तालिम पश्चात् उनीहरुलाई उपकरण समेत प्रदान गरिने छ । तालिमले सहभागीहरूमा सीप विकास गरी स्वरोजगार सिर्जना तथा स्थानीय उद्यम प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।