गोरक्ष समाचारदाता
दाङ, १९ असार । दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले पत्रकार र पत्रकारिताले समाजमा सही सूचना प्रवाह गर्दै सत्य, तथ्य र निष्पक्षतामा आधारित भएर काम गर्नुपर्ने बताएका छन् ।
नेपाल पत्रकार महासंघ दाङको आयोजना तथा दंगीशरण गाउँपालिकाको सहयोगमा शुक्रवार आयोजना गरिएको पत्रकार आचारसंहिता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गिरीले जिम्मेवार पत्रकारिताले नागरिकलाई सही सूचना प्रवाहसँगै जनप्रतिनिधिलाई जिम्मेवार बनाउन सहयोग पुग्ने बताए । जिम्मेवार पत्रकारिताले लोकतन्त्रलाई सुदृढ बनाउन सहयोग पुग्ने बताएका थिए ।
पत्रकारिताले कमीकमजोरी औल्याइदिए सुधार गर्न सहयोग गर्ने भन्दै अध्यक्ष गिरीले पेशागत आचारसंहिताको पूर्ण पालना गर्दै तथ्यमा आधारित, सन्तुलित र विश्वसनीय समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिएका थिए । ‘पत्रकारिताका नाममा राम्रो कामलाई पनि नराम्रो बनाउने प्रवृति देखिएको छ, यो राम्रो होइन’,कार्यक्रमका प्रम्ख अतिथि गिरीले भने,‘गल्ती गरेको पाइए सत्य,तथ्य खोजेर बाहिर ल्याइदिनुस तर एकपक्षीय रुपमा चरित्र हत्या गर्ने गरि लेख्दिनुभएन ।’ पत्रकारिता समाज परिवर्तन, सुशासन प्रवद्र्धन र जनचेतना अभिवृद्धिको महत्वपूर्ण माध्यम भएकाले यसको विश्वसनीयता जोगाउनु सबैको साझा दायित्व रहेको उनको भनाइ थियो ।
नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकारितामा आचारसंहिताको महत्व, जिम्मेवार सञ्चार अभ्यास तथा पेशागत नैतिकताका विषयमा प्रेस काउन्सील नेपालका पूर्व सदस्य शरद अधिकारी, पत्रकार नारायण खड्कासँगै दंगीशरण गाउँपालिकाका लेखाअधिकृत धुर्व न्पौपानेले जानकारी गराएका थिए । पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष नारायणी रजौरेको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण कोषाध्यक्ष अमरक्षितिज भण्डारीले गरेका थिए । कार्यक्रममा जिल्लामा क्रियाशिल विभन्नि पत्रकारहरुको सहभागीता रहेको थियो ।