लुम्बिनी प्रदेश च्याम्पियन दाङको यु–१९ क्रिकेट टिमलाई सम्मान

दाङ, १४ असार । वाई–वाई यु–१९ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता–२०८३ मा प्रदेश च्याम्पियन बन्न सफल दाङ जिल्लाको यु–१९ क्रिकेट टोलीलाई दाङ क्रिकेट संघले सम्मान गरेको छ ।

क्रिकेट संघले आइतवार घोराहीमा कार्यक्रमको आयोजना गरेर पहिलो पटक लुम्बिनी प्रदेश च्याम्पियन बन्न सफल यु–१९ का खेलाडी,कोच र व्यवस्थापकलाई सम्मान गरेको हो । शनिबार रुपन्देहीको भैरहवामा भएको फाइनल खेलमा रुपन्देही जिल्ला यु–१९ टिमलाई ३६ रनले पराजित गर्दै दाङले उपाधि जितेको थियो । ऐतिहासिक सफलता हासिल गरेको टोलीका कप्तान किरण घर्ती, प्रशिक्षक सञ्जु क्षेत्री, व्यवस्थापक सन्दीप घर्तीलगायत खेलाडीलाई टीका, माला र प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको हो ।

दाङ क्रिकेट संघका अध्यक्ष तथा नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य प्रदीप मजगैयाँको अध्यक्षता एवं संघका सल्लाहकार निरञ्जन राजभण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वक्ताहरूले खेलाडीको अनुशासन, समर्पण, मेहनत र उत्कृष्ट प्रदर्शनकै कारण दाङले पहिलो पटक प्रदेश उपाधि जित्न सफल भएको बताएका थिए । प्रमुख अतिथि  राजभण्डारीले खेलाडीलाई निरन्तर मेहनत गरे प्रदेश हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म खेल्ने अवसर प्राप्त गर्न सकिने उल्लेख गर्दै खेलाडीलाई थप परिश्रम गर्न प्रेरित गरेका थिए ।  राजभण्डारीले लामो समयको मेहनत र प्रतीक्षापछि प्राप्त सफलता आगामी दिनमा पनि कायम राख्दै आफ्नो क्षमता अभिवृद्धिमा लाग्न खेलाडीलाई आग्रह गरे ।

कार्यक्रममा दाङ क्रिकेट संघका अध्यक्ष तथा नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य मजगैयाँले महिला टोलीले यसअघि नै प्रदेशस्तरीय उपाधि जितेपनि पुरुष टोली पटक–पटक फाइनल पुगेपनि उपाधिबाट वञ्चित हुँदै आएकोमा यसपटक इतिहास रच्न सफल भएको बताए । मजगैयाँले उमेर समूहका खेलाडीमाथि गरिएको लगानी र निरन्तर मेहनतको प्रतिफलस्वरूप यो सफलता प्राप्त भएको उल्लेख गर्दै भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने खेलाडी उत्पादन हुने विश्वास व्यक्त गरेका थिए ।

उनले क्रिकेट विकासमा स्थानीयदेखि संघीय सरकार तथा जनप्रतिनिधिको पर्याप्त सहयोग नहुँदा पनि संघ र खेलाडीको मेहनतले अहिलेको उपलब्धि हासिल गरेको भन्दै खेलाडीलाई अनुशासित भएर लाग्न आग्रह गरेका थिए । कार्यक्रममा टिमका प्रशिक्षक सञ्जु क्षेत्री, व्यवस्थापक सन्दीप घर्ती, कप्तान करण घर्तीलगायतले च्याम्पियन बन्दाको अनुभव सुनाएका थिए । दाङ क्रिकेट संघका सदस्य विशेष अधिकारीको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सञ्चालन बालकृष्ण खत्रीले गरेका थिए ।