दाङ,५ जेठ । घोराही उपमहानगरपालिका–१४ मा रहेको कल्पु धर्मशालामा क्वारेन्टाइन राख्न नदिने भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १४ ले कल्पु धर्मशालालाई क्वारेन्टाइन बनाउन थालेपछि त्यसको विरोधमा कुल्प धर्मशाला व्यवस्थापन समिति,कशोधन विरादी समाजलगायतका टोल विकास सस्थाहरुले बस्तीको विचमा रहेको धर्मशलालाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्न नदिने भएका हुन ।
कोरोना त्रासका कारण रोजगारीका लागि भारत गएका नेपालीहरु समस्या परेपछि फर्कन थालेका छन । सिमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश भित्राउने तयारी स्वरुप अहिले जिल्लाका दश वटै स्थानीय तहहरु क्वारेन्टाइन बढाउन थालेका छन । सोही अनुसार आइतवार बसेको घोराही उपमहानगरपालिकाको कार्यपालिकाको बैठकले वडा कार्यालयहरुलाई बाहिरबाट आउने आ–आफ्ना वडाका मानिस राख्नका क्वारेन्टाइनको व्यवस्थापन गर्न निर्देशन जारी गरेको थियो ।
कार्यपालिकाको निर्देशन अनुसार नै केही वडाहरुले क्वारेन्टाइन भवन र बेडको व्यवस्थापन गरिसकेका छन् । यसै सिलसिलामा घोेराही–१४ ले घोराही रहेका कल्पु धर्मशालालाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने निर्णय गरेपछि त्यसको विरोध गर्दै धर्मशाला व्यवस्थापन समिति तथा त्यस क्षेत्र वरिपरिका टोल विकास समितिहरुहरुले धर्मशालालाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्न नदिने निर्णय गरेको सचिव बसन्तकुमार गुप्ताले जानकारी दिएका छन ।
कल्पु धर्मशाला व्यवस्थापन समितिका अध्यक्ष नारायण गुप्ताको अध्यक्षतामा बसेको बैठकले राम जानकी टोल, राप्ती टोल, शिवमन्दिर टोल,कल्पु टोल र स्थानीय टोलवासीको व्यापक विरोध भएका कारण धर्मशालालाई क्वारेन्टाइनका रुपमा उपलब्ध गराउन नसक्ने निर्णय गरेको छ । बैठकमा स्थानीय टोलवासीहरुको समेत उपस्थिति रहेको थियो ।