दाङका सात गाउँपालिकाले ल्याए बजेट

गोरक्ष समाचारदाता

दाङ, ११ असार । दाङका १० वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि बजेट ल्याएका छन् । संवैधानिक व्यवस्था अनुसार असार १० गतेभित्र बजेट लाइसक्नु पर्ने व्यवस्था अनुसार जिल्लाका स्थानीय तहले बजेट ल्याएका हुन् । घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाले असार १० गते अघि नै बजेट ल्याइसकेका छन् भने भने बाँकी सात गाउँपालिकाले बुधवार बजेट ल्याएका हुन् ।

दंगीशरणको बजेट ४६ करोड ४५ लाख

दंगीशरण गाउँपालिकाको २१औँ गाउँ सभाको दोस्रो बैठकले आर्थिक वर्ष २०८३÷०८४ का लागि ४६ करोड ४५ लाख ४८ हजार रुपैयाँ बराबरको वार्षिक बजेट सर्वसम्मत रूपले पारित गरेको छ । कूल बजेट ४६ करोड ४५ लाख ४८ हजारमध्ये चालुतर्फ २७ करोड ६८ लाख ६३ हजार अर्थात् ६० प्रतिशत र पुँजीगततर्फ १८ करोड ७६ लाख ८५ हजार रुपैयाँ अर्थात् ४० प्रतिशत बजेट विनियोजन गरिएको छ ।

बुधवार सम्पन्न गाउँ सभामा गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले प्रस्तुत गरेको बजेट सर्वसम्मत रूपमा पारित भएको हो ।

आगामी आर्थिक वर्षका लागि गाउँपालिकाले सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान नौ करोड ६० लाख, सशर्त अनुदान (चालुतर्फ) १४ करोड ९५ लाख, सशर्त अनुदान (पुँजीगततर्फ) ७८ लाख, विशेष अनुदान दुई करोड, समपूरक अनुदान दुइ करोड ५८ लाख तथा राजस्व बाँडफाँटबाट नौ करोड ७६ लाख ४३ हजार गरी कूल ३९ करोड ६७ लाख ४३ हजार रुपैयाँ विनियोजन गरेको छ ।

यसैगरी प्रदेश सरकारबाट समानीकरण अनुदान ६३ लाख पाँच हजार, सवारीसाधन करबाट प्राप्त राजस्व बाँडफाँट ८७ लाख २० हजार रुपैयाँ, समपूरक अनुदान ७५ लाख, सशर्त अनुदान (चालुतर्फ) १० लाख, सशर्त अनुदान (पुँजीगततर्फ) एक करोड २० लाख तथा विशेष अनुदान २२ लाख रुपैयाँ गरी कूल तीन करोड सात लाख पाँच हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

गाउँपालिकाले आन्तरिक आम्दानी तथा अन्य स्रोतबाट तीन करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरेको छ । सङ्घीय सरकार, प्रदेश सरकार र आन्तरिक स्रोतबाट प्राप्त हुने रकम समेटेर आर्थिक वर्ष २०८३÷०८४ का लागि ४६ करोड ४५ लाख ४८ हजार रुपैयाँको वार्षिक बजेट गाउँ सभाबाट सर्वसम्मत रूपमा पारित गरिएको हो । गाउँ सभाको दोस्रो बैठकमा गाउँपालिका अध्यक्ष शम्भु गिरीले निर्णयार्थ पेस गरेको आर्थिक विधेयक, विनियोजन विधेयक तथा राजस्व र व्ययको अनुमानित बजेटसमेत सर्वसम्मत रूपमा पारित भएको छ ।

बंगलाचुलीको बजेट ६२ करोड ८१ लाख

बंगलाचुली गाउँपालिकाले आर्थिक वर्ष २०८३÷०८४ का लागि ६२ करोड ८१ लाख ३३ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसीले दोस्रो गाउँ सभाको नवौँ अधिवेशनमा बजेट प्रस्तुत गरेका हुन् ।

बजेटमा शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, कृषि आधुनिकीकरण, खानेपानी, सुशासन तथा सामाजिक समावेशीकरणलाई प्रमुख प्राथमिकतामा राखिएको छ । गाउँपालिकाले कूल बजेटमध्ये २३ करोड ४० लाख रुपैयाँ पुँजीगत तथा ३९ करोड २६ लाख रुपैयाँ चालु खर्चतर्फ विनियोजन गरेको छ ।

प्रशासनिक खर्चका लागि मात्रै आठ करोड ५५ लाख रुपैयाँ प्रस्ताव गरिएको छ भने कूल बजेटको स्रोत सङ्घीय र प्रदेश सरकारबाट प्राप्त विभिन्न अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आम्दानी तथा मौज्दात रकम रहेका छन् । बजेटले ‘कृषि, पर्यटन, सुशासन र पूर्वाधार ः समृद्ध बंगलाचुलीको आधार’ भन्ने मूल भावनालाई आत्मसात गरेको गाउँपालिकाले जनाएको छ ।

आर्थिक विकास तथा गरिबी न्यूनीकरण, उत्पादनमूलक क्षेत्रमा लगानी, सडक, सिँचाइ, खानेपानी र ऊर्जा पूर्वाधार विस्तार, पर्यटन प्रवर्धन तथा सूचना प्रविधिमैत्री स्थानीय शासनलाई बजेटका मुख्य उद्देश्यका रूपमा अघि सारिएको छ । क्षेत्रगत विनियोजनतर्फ शिक्षा क्षेत्रले सबैभन्दा ठुलो हिस्सा पाएको छ । शिक्षा क्षेत्रको भौतिक तथा संस्थागत विकासका लागि २८ करोड ४७ लाख १७ हजार रुपैयाँ छुट्याइएको छ ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा सञ्चालन व्यवस्थापनका लागि चार करोड ६६ लाख रुपैयाँ विनियोजन गरिएको छ । स्वास्थ्य क्षेत्रका लागि दुई करोड ३० लाख ९० हजार रुपैयाँ बजेट व्यवस्था गरिएको छ । कृषि तथा पशुपालनको आधुनिकीकरण र व्यवसायीकरणलाई जोड दिँदै गाउँपालिकाले ‘एक वडा, एक कृषि तथा पशुपन्छी विकास प्राविधिक’ कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।

कृषि, पशुपन्छी, उद्योग, वाणिज्य तथा पर्यटन क्षेत्रका लागि ६३ लाख रुपैयाँ तथा बहुक्षेत्रीय पोषण कार्यक्रमका लागि ३० लाख रुपैयाँ विनियोजन गरिएको छ । रोजगार प्रवर्धनका लागि राष्ट्रिय रोजगार कार्यक्रम अन्तर्गत २० लाख रुपैयाँ छुट्याइएको छ ।

पूर्वाधार विकासतर्फ गाउँपालिकाको गौरवको आयोजना ‘एक घर, एक धारा’ कार्यक्रमलाई निरन्तरता दिँदै एक करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । सडक, खानेपानी, सिँचाइ, विद्युतीकरण तथा विपद् व्यवस्थापन र मर्मत सम्भारका लागि थप बजेट व्यवस्था गरिएको छ ।

सामाजिक समावेशीकरण कार्यक्रम अन्तर्गत महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति तथा युवाको क्षमता विकासका लागि ४० लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ । सहिद परिवार तथा द्वन्द्वपीडित सहयोग कार्यक्रमका लागि आठ लाख रुपैयाँ र बालमैत्री स्थानीय शासन कार्यक्रमका लागि सात लाख रुपैयाँ छुट्याइएको छ ।

गढवाको बजेट ८२ करोड ६४ हजार

गढवा गाउँपालिकाले आर्थिक वर्ष २०८३÷०८४ का लागि ८२ करोड ६४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको गाउँ सभामा उपाध्यक्षले शारदा चौधरीले बजेट प्रस्तुत गरेकी हुन् । बजेटमा कृषि उत्पादन वृद्धि, स्वास्थ्य सेवा विस्तार, शिक्षा सुधार, पूर्वाधार विकास तथा रोजगार सिर्जनालाई प्राथमिकता दिएको छ ।

कूल बजेटमध्ये आन्तरिक स्रोतबाट १८ करोड १३ लाख २८ हजार, सङ्घीय सरकारबाट ५८ करोड ८२ लाख ६० हजार, प्रदेश सरकारबाट चार करोड ५४ लाख ६६ हजार तथा सडक बोर्डबाट २० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । बजेटमा चालु खर्च ६० दशमलव ६३ प्रतिशत र पुँजीगत खर्च ३९ दशमलव ३७ प्रतिशत रहेको छ ।

प्रशासनिक तथा कार्यालय सञ्चालन खर्चका लागि ११ करोड ११ लाख रुपैयाँ विनियोजन गरिएको छ भने वडा तथा पालिका स्तरीय योजना तथा कार्यक्रमका लागि उल्लेख्य रकम छुट्याइएको छ । आर्थिक विकासतर्फ गढवा–३ सुपेला खोला नजिक निर्माणाधीन शीतभण्डार सम्पन्न गर्न दुई करोड १४ लाख तथा खाद्यभण्डार भवन निर्माणका लागि ८६ लाख ७० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

कृषि तथा पशुपालन क्षेत्रलाई आधुनिकीकरण गर्न उन्नत बिउ, सिँचाइ, कृषि उपकरण, पशु स्वास्थ्य सेवा, कृत्रिम गर्भाधान तथा युवा उद्यमशीलता कार्यक्रम सञ्चालन गरिने भएको छ । स्वास्थ्यतर्फ निर्माणाधीन १५ शय्याको अस्पताल भवन सम्पन्न गर्न एक करोड ४० लाख तथा अस्पताल सञ्चालनका लागि एक करोड रुपैयाँ विनियोजन गरिएको छ ।

निःशुल्क औषधी वितरणका लागि ५६ लाख ७४ हजार रुपैयाँ छुट्याइएको छ । महिला स्वास्थ्य स्वयम्सेविका, आमा सुरक्षा, पोषण, मानसिक स्वास्थ्य तथा विभिन्न रोग नियन्त्रण कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ । शिक्षा क्षेत्रतर्फ दिवा खाजा कार्यक्रमका लागि एक करोड छ लाख, विपन्न छात्रवृत्तिका लागि १९ लाख १८ हजार तथा छात्राहरूका लागि निःशुल्क स्यानिटरी प्याड व्यवस्थापनमा १८ लाख १५ हजार रुपैयाँ विनियोजन गरिएको छ । बौद्धिक अपाङ्गता (अटिजम) भएका बालबालिकाका लागि विशेष विद्यालय सञ्चालन गर्न २० लाख रुपैयाँ छुट्याइएको छ ।

पूर्वाधार विकास अन्तर्गत डाँगागाउँ–महादेवा–घुम्रा–चिमचिमे सडक कालोपत्रे गर्न ५८ लाख, उढेवा–अर्गनडवा–घुसकपुरुवा सडक कालोपत्रेका लागि ६० लाख तथा कालाकाँटे विद्यालयमा छात्रावास भवन निर्माणका लागि एक करोड २० लाख रुपैयाँ विनियोजन गरिएको छ । संघ, प्रदेश तथा अन्य निकायसँगको समपूरक साझेदारी कार्यक्रमका लागि दुई करोड पाँच लाख रुपैयाँ छुट्याइएको छ ।

गाउँपालिकाले उत्पादन र उत्पादकत्व वृद्धि, कृषि तथा पर्यटन विकास, सामाजिक सुरक्षा, गुणस्तरीय पूर्वाधार निर्माण, डिजिटल तथा हरित अर्थतन्त्रको प्रवर्धन, वातावरण संरक्षण, विपद् व्यवस्थापन, सेवा प्रवाह सुधार तथा लैङ्गिक तथा सामाजिक समावेशीकरणलाई बजेटका प्रमुख प्राथमिकता बनाएको गाउँपालिका उपाध्यक्षले बताइन् ।

राप्तीको बजेट ७५ करोड चार लाख

राप्ती गाउँपालिकाले आर्थिक वर्ष २०८३÷०८४ का लागि ७५ करोड चार लाख ९६ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । बुधवार दोस्रो गाउँ सभाको नवौँ अधिवेशनमा उपाध्यक्ष कमलापती चौधरीले बजेट प्रस्तुत गरेकी हुन् । उपाध्यक्ष चौधरीले प्रस्तुत गरेको बजेटमा चालुतर्फ ५५ करोड ३५ लाख १० हजार र पुँजीगततर्फ १९ करोड ६९ लाख ८६ हजार रुपैयाँ रहेको छ ।

यसैगरी शिक्षा, युवा तथा खेलकुदतर्फ आठ करोड नौ लाख २० हजार, स्वास्थतर्फ चार करोड दुई लाख ९६ हजार, कृषितर्फ ५२ लाख ६० हजार, पशुपन्छी तथा मत्स्य विकासतर्फ ५९ लाख ७० हजार, महिला बालबालिका तथा ज्येष्ठ नागरिकतर्फ ५१ लाख ५० हजार, संस्थागत सुशासनतर्फ ५४ लाख, खानेपानी तथा फोहोरमैला व्यवस्थापनतर्फ एक करोड ८३ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यसैगरी पर्यटन तथा सहकारी प्रवर्धनतर्फ नौ लाख ५० हजार, श्रम रोजगार तथा उद्यमशीलतातर्फ २७ लाख ९७ हजार, पूर्वधारतर्फ छ करोड एक लाख तीन हजार, वन वातावरण तथा विपदतर्फ २८ लाख ९५ हजार, सूचना प्रविधितर्फ ३९ लाख, न्यायिक समितितर्फ ३० लाख ५० हजार, राजस्व व्यवस्थापनतर्फ ३८ लाख, भूमितर्फ १५ लाख, सम्पूर्ण वडाका लागि छ करोड ६९ लाख, संघ तथा प्रदेश सर्शत कार्यक्रमका लागि ३० करोड १९ लाख, संघ तथा प्रदेश विशेष कार्यक्रमका लागि ७० लाख, संघ तथा प्रदेश समपुरक कार्यक्रमका लागि एक करोड ४० लाख रुपैयाँ छुट्याइएको छ । बजेटमा शिक्षा, स्वास्थ, पूर्वाधारलाई मुख्य प्राथमिकतामा राखेको छ ।

बबईको बजेट ५६ करोड चार लाख

बबई गाउँपालिकाले आर्थिक वर्ष २०८३÷०८४ का लागि ५६ करोड चार लाख ४३ हजार रुपैयाँको बजेट ल्याएको छ । उपाध्यक्ष बमकुमारी खड्काले बजेट प्रस्तुत गरेकी हुन् । बजेटमध्ये चालुतर्फ ३८ करोड ६७ लाख पाँच हजार छ सय ७० अर्थात ६९ प्रतिशत र पुँजीगततर्फ १७ करोड ३७ लाख ३७ हजार तीन सय ३० रुपैयाँ अर्थात ३१ प्रतिशत रहेको छ ।

शान्तिनगरको बजेट ५२ करोड २५ लाख

शान्तिनगर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ५२ करोड २५ लाख ४७ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । उपाध्यक्ष प्रेमाकुमारी बुढाथोकीले सभामा बजेट प्रस्तुत गरेकी हुन् ।

राजपुरको बजेट ६१ करोड एक लाख

राजपुर गाउँपालिकाले आर्थिक वर्ष २०८३÷०८४ का लागि ६१ करोड एक लाख ९० हजार रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिका उपाध्यक्ष धनपतीदेवी यादवले बजेट प्रस्तुत गरेकी हुन् । विनियोजित बजेटमध्ये चालुतर्फ ३६ करोड ६१ लाख १४ हजार र पुँजीगततर्फ २४ करोड ४० लाख ७६ हजार रुपैयाँ छुट्याइएको छ । राजपुले आगामी आर्थिक वर्षको बजेटमा कृषि, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खानेपानी तथा रोजगार प्रवर्धनलाई प्राथमिकतामा राखेको छ ।