प्रहरीमा एक महिनामा ८१ उजुरी दर्ता, ८९ जना पक्राउ

दाङ,१० असार । दाङमा एक महिनाको अवधिमा विभिन्न प्रकृतिका आपराधिक गतिविधिसम्बन्धी ८१ वटा मुद्दा दर्ता भएका छन् । प्रहरीमा दर्ता भएका ८१ उजुरीमा ८९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक डा. हेमबहादुर केसीका अनुसार दर्ता भएका मुद्दामध्ये २३ वटा फछ्र्योट भएका छन् भने ५८ वटा अनुसन्धान तथा कानुनी प्रक्रियामा रहेका छन् । घटनामा संलग्न १४ जना अझै फरार रहेका छन् । दर्ता भएका मुद्दामध्ये जघन्य तथा गम्भीर प्रकृतिका अपराध सम्बन्धी १९ वटा, लागुऔषध सम्बन्धी १५ वटा, आर्थिक कारोबार सम्बन्धी १३ वटा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धी एक वटा तथा अन्य प्रकृतिका ३३ वटा मुद्दा रहेका छन् । त्यसैगरी जेठ महिनामा जिल्लाका विभिन्न ठाउँबाट ६८ जना फरार प्रतिवादी पक्राउ परेका छन् । अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रहरीले बढाएको सक्रियताका कारण विभिन्न समयमा अदालतबाट फैसल्ला भएर फरार रहेका ६८ जना प्रतिवादीलाई जिल्लाका विभिन्न ठाउबाट पक्राउ गरेको हो ।

पक्राउ परेका प्रतिवादीबाट एक लाख ४५ हजार ५० रुपैयाँ जरिवाना असुल गरिएको छ भने उनीहरूमाथि अदालतबाट १६ वर्ष तीन महिना १५ दिन कैद सजायका लागि कारागार चलान भएका छन् । पक्राउ परेकामध्ये दुई जना दश वर्षपछि, छ जना पाँच वर्षपछि तथा ६० जना पाँच वर्षभन्दा कम अवधिमा पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लागूऔषध दुव्र्यसन तथा ओसारपसारसम्बन्धी घटनामा २९ जनालाई पक्राउ गरिएको छ । उनीहरूको साथबाट २१ ग्राम ९५० मिलिग्राम ब्राउन सुगर, ३३ ग्राम ४१० मिलिग्राम गाँजा तथा ४०८ वटा मनोदीपक पदार्थका ट्याब्लेट बरामद गरिएको सूचना अधिकारी केसीले जानकारी दिएका छन् ।

त्यस्तै एक महिनाको अवधिमा घरेलु हिंसासम्बन्धी १६ वटा उजुरी दर्ता भएका छन् । तीमध्ये घरायसी झैझगडाका सात, मादक पदार्थ सेवन गरी गालीगलौज गरेका छ, कुटपिटसम्बन्धी चार, घरमा खाना तथा बस्न नदिएको र विवाह दर्ता नगरिदिएको सम्बन्धी तीन–तीन वटा उजुरी रहेका छन् । दर्ता भएका उजुरीमध्ये १४ वटा फछ्र्योट भइसकेका छन् भने बाँकी दुई वटा प्रक्रियामा रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जिल्लामा अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न प्रहरी सक्रिय रूपमा लागि परेको बताएका छन् ।

प्रहरी सक्रियताका कारण जिल्लामा सामान्य प्रकृतिका झैझगडा तथा लागूऔषधसम्बन्धी घटना देखिए पनि ठूलो प्रकृतिका आपराधिक गतिविधि नभएको उनको भनाइ छ । प्रहरीले लागूऔषध दुव्र्यसन नियन्त्रण, अपराध रोकथाम तथा समुदायमा सुरक्षा अनुभूति अभिवृद्धिलाई प्राथमिकतामा राखेर गस्ती, सचेतनाका कार्यक्रमसँगै अपराधमा संलग्नलाई पक्राउ गरेर आवश्यक कावार्ही पक्राउ चलाउने गरेको बताए ।