‘पीडा मनमै छ, न्याय खोई कता छ ?’

सन्दर्भ : द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस

आरके शीतल

दाङ,५ असार । ‘दाङ १०’ २०५७ साल असारमा घरमा सुतिरहेको रातिको समयमा तत्कालीन शाही सेनाबाट पक्राउ परे । ‘माओवादी’ को आरोपमा पक्राउ परे पनि उनी पार्टीमा आबद्ध थिएनन् । सेनाले उनलाई जाजरकोट ब्यारेकमा पु¥यायो । त्यहाँ तीन दिनसम्म यातना दियो ।

नाङ्गै बनाएर निर्मम तरिकाले कुटपिट ग¥यो । अपशब्द बोल्ने र संवेदनशील अङ्गहरूमा असह्य यातना दिएर छोडिदियो । यो अन्याय र अपमानले उनको मनमा प्रतिशोधको आगो बल्यो । घर फर्किएपछि सेनासँग बदला लिने सङ्कल्पका साथ उनी तत्कालीन नेकपा (माओवादी) मा आबद्ध भएर जनयुद्धमा होमिए ।

पार्टीमा लागेको झन्डै दुई वर्षपछि, २०६० सालमा पुनः पक्राउ परे । चार दिन हिरासतमा राखेपछि उनलाई कारागार चलान गरियो । जहाँ उनले ९० दिनसम्म नरकीय जीवन बिताउनु प¥यो । त्यस अवधिमा उनीमाथि अमानवीय व्यवहार गरियो । भयानक यातना दिइयो ।

उत्तानो पारेर पाइपले शरीरका सम्पूर्ण अङ्गमा निर्मम रूपमा कुटपिट गर्ने, आँखा र गर्धनमा बिजुलीको करेन्ट लगाउने, विद्युतको नाङ्गो तारमा पिसाब गर्न लगाउने, करेन्ट लगाइदिने जस्ता अमानवीय व्यवहार भए । लिङ्गको टुप्पो पनि काटिइयो । यसका साथै हातका औँलाहरू सेनाले काटिदियो ।

उनी जस्तै ‘दाङ–१५’ श्रीमान् माओवादी पार्टीमा लागेकै कारण जीवनमा असह्यै जीवन बिताउनुपरिरहेको छ । १० वर्षे सशस्त्र द्वन्द्वको समयमा उनको जीवनमा डर र त्रासका काला दिन सुरु भए । श्रीमान् माओवादी पार्टीमा लागेका कारण दिन रात सेना र प्रहरी आएर उनलाई सताउने गर्दथे । २०६२ सालमा तिहारको टीकाको दिन उनको जीवनकै सबैभन्दा भयानक दिन बन्यो । श्रीमान् खोज्दै आएका प्रहरीहरूको सिकार बनिन्, उनी ।

श्रीमान्लाई नभेटेपछि प्रहरीले उनीहरूलाई धम्क्याए, कुटपिट गर्नुका साथै हातपात समेत गरे । क्रुरताको सिमा त्यतिमा मात्र थामिएन, बर्दीधारि प्रहरीले उनीमाथि सामूहिक बलात्कार गरे र अमानवीय यातना दिए । त्यसपछि पनि प्रहरीहरू बारम्बार आउने र तेरो श्रीमान् खोई भन्दै यातना दिने क्रम रोकिएन । उनी श्रीमान् माओवादीमै लागेका कारण प्रहरीबाट पटक पटक बलात्कृत हुनु प¥यो ।

‘दाङ–२०’ परिवारको आर्थिक अवस्था कमजोर भएका कारण पढाइ छाड्नु पर्ने भयो । सानै उमेरमा विवाह गरेकी उनले परिवारको माया पाउन नसकेपछि निराश हुँदै माओवादी पार्टीमा लागिन् । २०५७ सालमा सेनाको टोलीले उनलाई गिरप्mतार ग¥यो । घोराही ब्यारेकमा ल्याई तीन महिनासम्म नजरबन्दमा राखियो ।

नजरबन्दमा राख्दा सामूहिक बलात्कार गर्ने, कुटपिट गर्ने, खाना खान नदिने, शरीरमा करेन्ट लगाउने, सिस्नोले पिट्ने जस्ता व्यवहार भोग्नु प¥यो । उनलाई ब्यारेकमा दिने पीडा यतिमा मात्रमा सीमित भएन । पटक पटक बलात्कृत हुनु प¥यो । महिनावारी भएको समयमा पनि बलात्कार गर्ने गरेको उनी बताउँछिन् ।

यी पात्र र घटनाहरू प्रतिनिधि पात्र मात्र हुन् । सशस्त्र द्वन्द्वको समयमा गम्भीर मानव अधिकार उल्लङ्घनका घटनाहरू भएका छन् । जसका कारण सयौँले अँध्यारो जीवन जीउन बाध्य छन् । सहिद परिवार, बेपत्ता पारिएका व्यक्तिहरूको परिवार, घाइतेहरूको पीडा देख्न सकिन्छ । उनीहरू आफ्नो पीडा भन्न नसकेर सशस्त्र द्वन्द्वको समयमा यौनजन्य हिंसा भोगेका पीडितले आफ्ना पीडा मनमै लुकाएर बस्न बाध्य छन् ।

परिवारमा आप्mनो घटनाबारे थाहा भएका घरबार बिग्रने हो कि भन्ने त्रास छ । परिवारले तिरस्कार गर्ने हो कि, समाजबाट बहिस्कृत हुनु पर्ने हो कि भन्ने त्रासबिच मनको पीडा मनमै लुकाएर बस्न बाध्य छन् । जसका कारण मनको पीडा बढ्दै जाँदा मानसिक समस्या बढ्दै गएको छ । त्यस समयमा यौनजन्य हिंसासँगै पाएको शारीरिक पीडाका कारण शरीर गल्दै गएको छ । प्रजनन् स्वास्थ्यमा गम्भीर असर परिरहेको छ ।

सरकारले यौनजन्य हिंसामा परेकाका लागि कुनै काम गर्न नसकेको पीडितको गुनासो छ । पीडितको तथ्याङ्क सङ्कलन गर्न नसकेको अवस्थामा सरकारले आँफूहरूका लागि काम गर्छ भन्नेमा विश्वास नरहेको बताउँछन् ।

‘हामी यौन हिंसा पीडितका लागि सरकारले केही गर्ला जस्तो त लाग्दैन’, एक पीडितले भनिन्, ‘संस्थाहरूले बरू हामीलाई खोजेर केही सहयोग गरेको छ तर सरकार यो विषयमा गम्भीर देखिँदैन । पीडा मनमै छ, न्याय खोई कता छ ?’

अर्का एक पीडित नयाँ सरकारले केही गर्छ कि भन्ने आशा मनमा भएको बताउँछन् । आफूहरूलाई जनयुद्धमा लाग्न प्रेरित गर्ने पार्टी लामो समयसम्म सरकारमा हुँदा पनि आँफूहरू जस्तै हिंसापीडितका लागि कुनै काम गर्न नसकेकोमा उनको गुनासो छ । नयाँ सरकार नयाँ जोश र जाँगरका साथ अगाडि बढिरहेकाले सशस्त्र द्वन्द्वको सम्पूर्ण पक्षलाई हेरेर आफूहरूलाई परिपूरण गर्नेमा उनी विश्वस्त भने छन् ।

‘हाम्रै पार्टी सरकारमा वर्षौसम्म रहँदा हामी पीडितहरूका लागि परिपूरणको काम गर्नु पथ्र्यो तर गरेन, गर्न पनि चाहेन जस्तो लाग्छ । संस्थाहरूले त हाम्रो कुरा सुनिरहेका छन् । हामीलाई सहयोग पनि गरेका छा् तर हाम्रो अभिभावक त सरकार हो । सरकारले हाम्रो कुरा नै सुनेन, हामी यो पीडा जो पायो त्यसलाई भन्न सक्दैनौँ । मनको पीडा मन मै लुकाएर बस्नुशिवाय केही छैन’, उनले भनिन्, ‘नयाँ सरकारले केही गर्छ कि भन्ने आशा भने मनमा छ ।’

यस्ता घटनाहरू हजारौँ पीडितका प्रतिनिधि कथा मात्र हुन् । द्वन्द्वका क्रममा भएका यौनजन्य हिंसाका अधिकांश घटनाहरू सार्वजनिक नै भएका छैनन् । धेरै पीडित अझै पनि मौन छन् । समाजको तिरस्कार, परिवार विखण्डन हुने डर, सामाजिक बहिष्कारको त्रास र पुनः पीडित बन्नु पर्ने त्रासले उनीहरू बोल्न सकेका छैनन् ।

परिणाम स्वरूप उनीहरू वर्षौँदेखि मानसिक तनाव, आत्मग्लानि र शारीरिक समस्यासँग सङ्घर्ष गरिरहेका छन् । यौनजन्य हिंसाले पीडितको शरीरमा मात्र होइन, मन, आत्मसम्मान र सामाजिक जीवनमा पनि गहिरो असर पार्छ । धेरै महिलाले प्रजनन् स्वास्थ्यसम्बन्धी समस्या भोगिरहेका छन् भने धेरै पुरुष पनि यौन यातनाका कारण शारीरिक तथा मानसिक रूपमा कमजोर भएका छन् । यस्तो अवस्थामा पनि उनीहरूको पीडा राज्यले अझै पूर्ण रूपमा स्वीकार गर्न भने सकेको छैन ।

द्वन्द्व समाप्त भएको दुई दशक नजिक पुग्दा पनि यौन हिंसापीडितहरूको यथार्थ तथ्याङ्क राज्यसँग छैन । सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोगमार्फत् प्रक्रियालाई केही मात्रामा अगाडि बढाउन खोजेको देखिन्छ तर कसरी अगाडि बढ्ने भन्नेमै सरकार अलमलमा छ ।